धेरै पुराना इतिहासका कुरा मिथकजस्तै लाग्दै जानु स्वाभाविक हो। विशेषगरी, ऐतिहासिक दस्तावेजलाई पछिसम्म जोगाएर राख्न सकिएन भने ती किंवदन्तीबाहेक केही पनि हुनेछैनन्। आइरिस फिल्ममेकर मार्टिन म्याकडोनाले सन् २०२२ मा यस्तो एउटा फिल्म बनाए, जुन मिथक र इतिहासको संयुक्त दस्तावेज बन्न पुगिदियो- द वान्शिज् अफ इनिसेरिन। इनिसेरिनका वान्शीहरू! १३औं नेपाल युरोपियन युनियन फिल्म फेस्टिवलको ओपनिङमा देखाइएको यस डार्क कमेडी फिल्मले दर्शकलाई हसाउँदा हसाउँदै आङ जिरिङ्ग र आँत सिरिङ्ग हुनेगरी स्तब्ध बनाउनेछ।
पहिला मिथककै कुरा गरौँ। इनिसेरिन, अर्थात् एउटा काल्पनिक टापु, जसको अस्तित्व वास्तविकतामा कहीँ पनि छैन। बाँकी रह्यो वान्शी, अर्थात् त्यस्तो स्त्री आत्मा जो कहीँ, कतै रोए वा चिच्याएको सुने आफ्नाहरूको मृत्यु हुन्छ भन्ने जनविश्वास स्कटल्यान्ड र आयरल्यान्डमा रहिआएको छ।
अब इतिहासको कुरा गरौँ जसलाई फिल्मले यिनै मिथकहरूको बीच पनि कतै सुरक्षित राखेको छ। काल्पनिक टापु इनिसेरिनमा कोल्म र पाड्रिक नामका दुई साथीहरू छन्। कोल्मका कपाल फुल्न थालिसके, पाड्रिक पनि अब त निकै चाउरिन थालिसक्यो। र यो उमेरमा आइपुगेर कोल्म पाड्रिकसँगको दोस्ती तोड्न चाहन्छ। यसैबीच, क्षितिजपारि मूख्यभूमितिर गोला बारुद बर्सिरहेको छ। पाड्रिकबाट कोल्मले छुट्टिन खोजेजस्तै बेलायतबाट आयरल्यान्ड पनि छुट्टिन खोजिरहेको छ। यता टापुमा कोल्मले आत्मशान्तिको लागि पाड्रिकसँग टाढिने संघर्ष गरिरहेको छ। उता राजधानीतिर आयरल्यान्ड युकेबाट स्वाधीन हुन युद्ध लडिरहेको छ। न त बेलायत न त पाड्रिक छुट्टिने अवधारणासँग सहमत छन्। यी दुवैलाई जुनै पनि मूल्यमा दोस्ती कायम राख्नु छ।
जसरी स्वतन्त्र हुन संघर्षरत कोल्म आफ्नै औँला काटेर पाड्रिकको आँगनमा फ्यालिरहेको छ, त्यसैगरी, स्वाधीन हुनका लागि आयरल्यान्ड पनि बेलायती साम्राज्यको हातमा आफ्ना निर्दोष जनताको बलि चढाइरहेको छ। देख्नेलाई पक्कै लाग्छ, यो के मुर्ख्याइँ गरेको? तर, न त कोल्मलाई न त आयरल्यान्डलाई नै यो मुर्ख्याइँ लाग्छ। स्वतन्त्र हुनका लागि मानौँ उनीहरू मर्न पनि तयार छन्। यो मित्रता तोड्ने लडाइँले उनीहरूलाई एउटा पहिचान दिनेछ। नाम दिनेछ, इनाम दिनेछ। कोल्म र आयरल्यान्ड दुवै आफ्नो बेग्लै इतिहास लेख्न चाहन्छन् चाहे त्यो लेख्न आफ्नै रगत बगाउन किन नपरोस्!
खैर, फिल्ममा इतिहास त छँदैछ। त्यसबाहेक यसमा मानवीय गुणदोषहरूलाई समेत अति मिहीन ढंगले केलाउने प्रयास गरिएको छ। कोल्मले 'आजदेखि तँ मसँग नबोल्' भनिदिएपछि निराश पाड्रिक आफ्नी बहिनी शीवानलाई सोध्छ- 'के म त्यस्तो सुस्त छु? झ्याउलाग्दो छु?' जवाफमा शीवान भनिदिन्छे- 'नाइँ, तँ त अति राम्रो छस्।' ऊ डोमिनिकसँग पनि सोध्छ र त्यस्तै जवाफ पाउँछ- 'तँ त मैले चिनेकाहरूमध्ये सबैभन्दा असल मान्छे होस्।' पाड्रिक अब विश्वस्त हुन्छ, म एकदम असल छु, कोल्ममै केही खराबी छ। यत्तिका वर्षको दोस्ती उसले अचानक यसरी कसरी तोड्न सक्छ?
ऊ कोल्मको अनिच्छा र इन्कारका बाबजुद दोस्तीको लागि घुस्रिरहन्छ। आफूहरूको त्यत्रो लामो दोस्ती बचाउन झुकिरहन्छ। दर्शकलाई उसप्रति वास्तवमै सहानुभूति जाग्न थाल्छ- उफ्! यो कोल्मले यस्तो सोझो पाड्रिकलाई व्यर्थै किन सताइरहेको होला? बोलिदिए त भइगयो नि! तर अचानक, सोझो र असल लागिरहेको पात्र हामीलाई आसक्त, विषाक्त लाग्न थाल्छ। कोल्म कहाँ जाँदैछ पाड्रिक दूरबिनबाट उसप्रति नजर राख्न थाल्छ। आफू बोलिदिएकै कारण साथीले आफ्नो औँला काटिरहेको छ तर, यो टापुभरिकै सबैभन्दा असल मान्छे उसलाई त्यसले कुनै असर गरिरहेकै छैन। ऊ अझै पनि कोल्मलाई उसको सख्त प्रतिरोधका बाबजुद भेटिरहने धृष्टता गर्छ। अब दर्शकलाई पाड्रिकप्रति होइन कोल्मप्रति सहानुभूति जागिदिन्छ। पाड्रिक त हामीले सोचेजस्तो असल मान्छे होइन रहेछ! दर्शकलाई जस्तै, शिवान र डोमिनिकलाई पनि त्यसै लाग्छ।
टापु छोडेर जागिर खान राजधानी लाग्ने शीवानको निर्णय सुनेर पाड्रिक सोध्छ- 'तँ गइस् भने खाना कसले बनाउँछ?' विवाहको उमेर बितिसक्नै लाग्दा पनि शीवान, जो आजसम्म दाजुको भान्छेभन्दा बाहेक केही हुन सकेकी छैन, जो आजसम्म कसैकी प्रेयसीसमेत हुन सकेकी छैन, ऊ छक्क पर्छे पाड्रिकको प्रश्न सुनेर। सोध्छे- 'ए! भनेपछि तेरो पहिलो चासो त कसले खाना पकाइदिन्छ भन्ने पो हो?' जवाफमा पाड्रिक भन्छ- 'त्यो होइन। मेरो पहिलो चासो त यो हो- तँ गइस् भने मेरो चाहिँ के हुन्छ?' के पाड्रिक साँच्चै असल मान्छे हो त? उसले कहिलेसम्म आफ्नी बहिनीलाई आफ्नो भान्छे बनाएर राख्ने सोचेको छ?
त्यसो त चुलोचौकोमै बैँस बिताइरहेकी शीवानले ऊसँग यसअघि पनि कुरा गर्ने प्रयास गरेकी हो- 'दाइ, तँलाई कहिल्यै एक्लो महसुस हुँदैन?' उसलाई लागेथ्यो होला दाजुले उसलाई बुझ्नेछ र सोध्नेछ- 'के तँलाई एक्लो महसुस भयो? बिहे गर्छेस् त?' तर, पाड्रिकले उसको प्रश्नलाई बुझेर हो या नबुझेरै, यसै टारिदिएको थियो। बरु प्रतिप्रश्न गरिदिएको थियो आफैसँग- 'एक्लो रे! होइन यहाँ सबका सबलाई आजभोलि के भइराखेको छ?'
के शीवानलाई पाड्रिक असल लाग्न छोड्छ? या फेरि स्वार्थी लाग्न थाल्छ? जे होस्, आफ्नो आत्मनिर्भरता र स्वतन्त्रताको लागि टापु छोडेर ऊ सहरतिर लाग्छे।
उता कोल्मलाई नयाँ जीवनमा रमाइरहेको देख्न नसकेर पाड्रिकले गरेको बेइमानी थाहा पाएर डोमिनिक पनि एक्लो महसुस गर्न थाल्छ। आफ्नै बाबुबाट यातनाग्रस्त डोमिनिकको एउटै मात्र साथी थियो पाड्रिक। तर, अचानक उसले पनि एउटा असल साथी गुमाएको महसुस गर्छ। न त प्रेम नै सफल हुन्छ उसको। तब डोमिनिकले जे निर्णय गर्छ त्यो कोल्मको निर्णयभन्दा कठोर लागिदिन्छ। तर, कसका कारण उसले त्यति कठोर निर्णय गर्यो होला? के यी सबका कारण पाड्रिक नै हो त? म्याकडोनाले यो प्रश्न दर्शककै हातमा छोडिदिएका छन्।
तर, मुख्य प्रश्नको जवाफ खोज्ने काम त अझै बाँकी नै छ। को होलान् त इनिसेरिनका वान्शीहरू? आइरिस दन्त्यकथाहरूमा वान्शीको वर्णन कतै मिसेज म्याककर्मिकसँग मिल्दोजुल्दो लाग्छ भने कतै शीवानसँग। आयरिस जनविश्वास अनुसार जब कुनै जवान सुन्दर स्त्री या फेरि कुनै बुढी महिला रुँदै, चिच्याउँदै या फेरि उदास उदास ... दु:ख मनाउँदै गरेकी भेटिन्छे उसले आफ्नो नजिकको कुनै आफन्तको मृत्युको सङ्केत दिएकी हुन्छे।
फिल्ममा तोकेरै मृत्युको भविष्यवाणी बुढी मिसेज म्याककर्मिकले नै गरेकी छ। तर, राति आफ्नो बिछ्यौनामा रुँदै गरेको भेटिएकी शीवानले कतै डोमिनिकको मृत्युको सङ्केत त गरेकी थिइन? आइरिस शब्दकोश अनुसार 'शी' को अर्थ 'परी' र 'वान' को अर्थ हुन्छ 'श्वेत'। यस्तै वान्शीको दन्त्यकथा उत्तिकै भेटिने स्कटल्यान्डमा भने 'शी' ले 'आत्मा' र 'वान'ले 'स्त्री बुझाउँछ। त्यसो त 'वान' र 'शी' दुई शब्द मिलेर नै वान्शी पनि बनेको छ र शीवान पनि!
शीवान त्यसो त देख्नमा मिसेज म्याककर्मिक भन्दा बिलकुलै भिन्न देखिन्छे। तर, म्याककर्मिक एउटी मात्र होइन शीवान फिल्मका अन्य सबै पात्रभन्दा पृथक देखिएकी छ। टापुमा रहुन्जेल ऊ प्राय: रातो वस्त्रमा हुन्छे। त्यो रातो रङले उसलाई रगत र मृत्युसँग नै जोड्न खोजिएको देखिन्छ। आखिर, कोल्मका रक्ताम्य औँलाहरू उसैले त संगाल्ने गर्थी! गौर गरेर हेर्ने हो भने शीवान नै फिल्मको सबैभन्दा महत्त्वपूर्ण पात्र हो। किनभने, रङको प्रयोग शीवानमा जति अरू कुनै पात्रमा गरिएको छैन। जब शीवान एक्लोपनको कुरा गर्छे तब उसले त्यस्तै उदासीको महसुस गराउने निलो रङको लुगा लगाएकी हुन्छे। छुट्टिनेबेला उसले लगाएको कोटको पहेँलो रङले उभित्रको नयाँ उमङ्गको सङ्केत गरेको छ।
तर, नयाँ उमङ्ग लिएर सबै समस्याबाट दूर भाग्दै गरेकी शीवान बिदाइको अन्तिम क्षणमा कसैको कालो छायाँ देखेर झसङ्ग हुन्छे। त्यो कालो छायाँ आखिर कसको हो? शीवान एकजनालाई छोडेर आखिर सबै पात्रहरू अँध्यारा वस्त्रमा देखाइएका छन्।
शीवान गइसकेपछि मिसेज म्याककर्मिकको मृत्युको भविष्यवाणी साँचो साबित हुन्छ। उता कोल्म र पाड्रिकबीचको संघर्ष अब सबै सकियोजस्तै लाग्दैगर्दा पाड्रिक भन्छ- 'यो त बल्ल सुरु हुँदैछ!' त्यसो त १० महिना ३ हप्ता र ५ दिनसम्म चलेको १९२३ को आइरिस सिभिल वार सकिए पनि आयरल्यान्ड र बेलायतबीचको युद्ध सकिएको थिएन। न त आयरल्यान्डले बेलायतबाट, न त कोल्मले नै पाड्रिकबाट स्वतन्त्रता पाए!
जलेर खरानी भएको घरको आँगनमा शीवानको कोटजस्तै पहेँलो रङको फुच्चे कुर्सीमा मिसेज म्याककर्मिक बस्छे र नियाल्छे दुई पुराना मित्रहरूबीचको सम्बन्धको भयानक मृत्यु! र त्यस मृत्युले निम्त्याउने अरू असङ्ख्य मृत्युहरू!
Shares
प्रतिक्रिया