बलिउड अभिनेता सलमान खानको घरबाहिर गोली हानेको घटनामा संलग्न आरोपमा एकपछि अर्काे व्यक्ति पक्राउ पर्ने क्रम जारी छ।
यसै क्रममा मंगलबार पनि मुम्बई प्रहरीले थप व्यक्ति पक्राउ गरेको छ।
समाचार एजेन्सी एएनआईका अनुसार प्रहरीले सो घटनामा संलग्न आरोपमा मोहम्मद चौधरीलाई राजस्थानबाट पक्राउ गरेको हो।
उनीसमेत सो घटनामा पक्राउ पर्नेको संख्या पाँच पुगेको छ। यसअघि चार जना पक्राउ परिसकेका छन्।
गोली चलाएको आरोपमा हाल हिरासतमा रहेका सागर पाल र विक्की गुप्तालाई चौधरीले पैसा उपलब्ध गराउन र रेकी गराउन सहयोग गरेको दाबी प्रहरीले गरेको छ। उनलाई प्रहरीले राजस्थानबाट मुम्बई लगेको छ।
एक आरोपितले हिरासतमै गरे आत्महत्या
गत अप्रिल १४ मा मुम्बईको बान्द्रास्थित सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली प्रहार भएको थियो। त्यसपछि गोली चलाउने व्यक्तिहरू मोटरसाइकलमा फरार भएका थिए।
मुम्बई प्रहरीको अपराध शाखाले यस विषयमा अनुसन्धान गरिरहेको छ। प्रहरीले गोली चलाएका आरोपमा सागर पाल र विक्की गुप्तालाई गुजरातको कच्छबाट पक्राउ गरेको थियो।
त्यसपछि पन्जाबबाट अनुज थापान र सोनु कुमार चन्द्र बिश्नोईलाई पक्राउ गरिएको थियो। उनीहरूले हतियार आपूर्ति गरेको आरोप छ।
अनुज थापानले भने यही मे १ का दिन प्रहरी हिरासतको शौचालयमा झुन्डिएर आत्महत्या गरिसकेका छन्।
तर उनका आफन्तले भने अनुजको हत्या भएको दाबी गरिरहेका छन्।
Shares
प्रतिक्रिया