बलिउड अभिनेता सलमान खानको घरबाहिर गोली हानिएको घटनाबारे मुम्बई प्रहरीको अनुसन्धान जारी छ।
यही अप्रिल १४ का दिन मुम्बईको बान्द्रास्थित सलमान निवासबाहिर गोली हानिएको थियो। सो घटनामा प्रहरीले अहिलेसम्म ४ जनालाई पक्राउ गरेको छ। तीमध्ये तीन जनालाई सोमबार विशेष अदालतले आगामी मे ८ तारिखसम्म हिरासतमा राख्न अनुमति दिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार आरोपितहरू विक्की गुप्ता (२४), सागर पाल (२१) र अनुज थापन (३२) लाई मे ८ सम्मका लागि हिरासतमा पठाइएको हो। अर्का आरोपित सोनुकुमार चन्द्र बिश्नोई (३७ वर्ष) लाई भने मेडिकल आधारमा न्यायिक हिरासतमा पठाइएको छ।
सलमान निवास बाहिर गोली चलाएको आरोपमा मुम्बई अपराध शाखाले विक्की र सागरलाई अप्रिल १६ मा गुजरातको कच्छबाट पक्राउ गरेको थियो। दुवै बिहारका बासिन्दा हुन्। यस्तै उनीहरूलाई हतियार आपूर्ति गरेको आरोपमा सोनु र थापनलाई भने अप्रिल २५ मा पन्जाबाटबाट पक्राउ गरिएको थियो।
मुम्बई प्रहरीले पक्राउ परेका उनीहरूसहित गुन्डा लरेन्स बिश्नोई र विदेशमा रहेका उनका भाइ अनमोल बिश्नोईविरुद्ध महाराष्ट्र संगठित अपराध नियन्त्रण अधिनियम (मकोका) अन्तर्गत मुद्दा दायर गरेको छ।
लरेन्स र उनका भाइ अनमोल यस मुद्दामा वान्टेड आरोपित हुन्। लरेन्स तिनै व्यक्त हुन्, जसले सलमानलाई पटकपटक मार्ने धम्की दिएका थिए।
सरकारी वकिल जयसिंह देसाईले षड्यन्त्र पत्ता लगाउन प्रहरीले विस्तृत अनुसन्धान गर्नुपर्ने भन्दै अभियुक्तलाई हिरासतमा राख्न माग गरेपछि अदालतले मे ८ सम्मका लागि अनुमति दिएको हो।
Shares
प्रतिक्रिया