नग्न सत्य नै हो सन् २०२० मा राजेश ए कृष्णनले नेपाली फिल्म 'जात्रा' को कथालाई बेग्लै परिवेशमा पस्किएर निर्देशनको दुनियाँमा कदम चालेका थिए। हाम्रा निर्देशक प्रदीप भट्टराईको जात्रामा पैसा बोरामा भेटिँदा उता राजेशको 'लुटकेस'मा पैसा सुटकेसमा भेटिएको थियो। यता पैसा पचाउन तीनजना चाहिएको थियो भने उता मुख्य पात्र एक्लै तम्सिएको थियो। जे होस्, बोराभित्रको जात्रालाई सुटकेसमा प्याक गरेर बेच्दा राजेश कृष्णनले कमेडी थ्रिलर निर्देशकका रूपमा राम्रै ख्याति कमाएका हुन्।
तर, रोचक कुरा के हो भने भट्टराईले जात्रा सिरिजको तेस्रो भाग 'महाजात्रा' ल्याउँदै गर्दा कृष्णनले भने बल्ल 'जात्रैजात्रा' अर्थात् 'सुन पचाउने कथा' ल्याएका छन्। त्यसो त पछ्याउनेहरू सधैँ दुई कदम पछाडि त रहने नै भए। खैर, योपटक भने कृष्णनलाई पनि सुन पचाउन एक्लो पात्रले पुग्दैन र भट्टराई शैलीमै तीनजनाको 'क्रु' तयार पार्छन्।
हिजो शुक्रबारदेखि कृष्णनको यही दोस्रो कमेडी फिल्म 'क्रु' क्यूएफएक्स लगायत देशभरका विभिन्न हलहरूमा लागिसकेको छ। आउनुस्, हामी एकैछिन यही 'क्रु'माथि नजर डुलाऔँ।
कथा
तीन पुस्ताका तीनजना एयर होस्टेस पारिश्रमिक रोकिएर आर्थिक तनावमा छन्। कसैले ऋण तिर्न सकेका छैनन्, कसैले अपार्टमेन्टको भाडा, कोही मनमा रहरको ठूलो-ठूलो लड्डु चपाउँदै गर्दा बडो खुम्चिएर घर खर्च चलाइरहेका छन् त कतिले बच्चाको स्कुल फी तिर्न सकिरहेका छैनन्। यस्तै नाजुक परिस्थितिबीच जागिर खाइरहेको एयरलाइन्स टाट पल्टिएको खबर उनीहरूको कानमा पर्छ।
संयोगवश यति नै बेला तीनजना एयर होस्टेसले अचानक सुन फेला पार्छन् र जसरी हुन्छ पचाउनुपर्छ भन्ने बुद्धि सुझ्छ। त्यो सुन कसको हुन्छ, उनीहरूले पचाउन सक्छन् सक्दैनन् त्यो भने यता नभनौँ। धेरैथोरै सस्पेन्सबिना त कमेडी ड्रामा पनि त खल्लो हुन्छ।
यत्ति भनौँ, कृष्णनको यो सुन पचाउने कथा 'जात्रैजात्रा'को 'एलिट' भर्सन हो र सँगसँगै 'लाइट' भर्सन पनि।
पटकथा
मौलिक कथा भन्ने जाँगर नदेखाए पनि कृष्णनको यो खुबीलाई भने मान्नैपर्छ कि नेपाली फिल्म नहेर्ने नेपाली दर्शक ऊ हो भने उसलाई यो कृष्णनकै दिमागभित्र फुरेको कथा हो कि जस्तो लागिदिन सक्छ। किन? किनभने, पटकथा लेखनमा उनले आफ्नै फ्लेवर दिन सकेका छन्। भलै कथा अन्तैबाट उठाएका होऊन्, परिवेश, पात्र, दृश्य र संवादमा भने उनले आफ्नै स्वाद पस्किएका छन्।
यति हुँदाहुँदै पनि फिल्मको पटकथालाई अब्बल मान्न भने सकिँदैन। पटकथा सलल बगेको त छ तर, ढुंगा र चट्टानहरूसँग ठेस्सिएर नबग्ने कथाको द्वन्द्व निर्माण पक्कै बलियो हुनसक्दैन। 'क्रु' त्यसको एउटा आदर्श उदाहरण हो। सम्झनुस् त, जात्रैजात्रामा 'फमुज' अर्थात् फणी, जयश र मुन्नाले कत्रो संघर्ष गरेर सुन लुकाएका थिए! मुख्य पात्र र परिस्थितिबीचको द्वन्द्व त छँदै थियो त्यसमाथि पनि पात्र-पात्रबीच समेत सस्पेन्सको सिर्जना गरेर द्वन्द्व निर्माण गरिएको थियो। 'क्रु' मा भने न पात्र-पात्रबीच पर्याप्त द्वन्द्व सिर्जना हुन सकेको छ न त समग्र पात्र र परिस्थितिबीचको मूल द्वन्द्व नै बलियोसँग स्थापित हुन सकेको छ।
देशभर एयरलाइन्सको मालिकले सुन तस्करी गरेको सनसनी फैलिँदै गर्दा वरिपरिको माहोलको पर्वाह नै नगरेर चिया पसलको बीच टेबलमा उनीहरू सुन काण्डमाथि नाङ्गो छलफल गर्छन्। खुलेआम सुन पचाउने जुक्ति फुराउँछन्। त्यसो त विश्वसनीय नलाग्ने दृश्य अरू पनि भेटिन्छन्। यस्तो लाग्छ कृष्णनको पटकथा लेखनको यो सूत्र नै हो, जहाँ जहाँ विश्वसनीयता ल्याउन सकिँदैन त्यहाँ त्यहाँ 'संयोग' जिन्दावाद!
भाइले भनेको हुन्छ कि कुनै होटेलमा जागिर पाएपछि प्रेमिकाले उसलाई छोडेर गई। 'उसले जागिर पाएको होटेल कुन हो' भन्नेसम्म खोज्ने-भन्ने जाँगर निर्देशकमा छैन। निर्देशकलाई बस् यत्ति देखाउनु छ कि 'क्रु'लाई सुन राखिएको ठाउँसम्म पुर्याउन भने त्यही नै होटेलले सहयोग गर्नेछ। दर्शकले कसरी भनेर सोधिहाले जवाफ तयारी छँदैछ- अरे यार, संयोग हो! कसरी नसोध्नुस् क्या, देखाएको कुरा चुपचाप पत्याइदिनुस्!
सतहबाट अलिकति भित्र पस्ने हो भने संयोगलाई पनि विश्वसनीय बनाउन सकिन्छ भन्ने निर्देशकलाई थाहा नभएको हो या फेरि उनी अल्छी निर्देशक हुन्? जवाफ फुर्तिला दर्शकले खोज्ने-भेट्ने नै छन्।
पात्र
त्यसो त फिल्मको सबैभन्दा स्पष्ट काम हो पात्र लेखन। तीनजना मुख्य पात्रको वरिपरि घुम्ने कथामा सबैभन्दा रोचक कुरा यो छ कि ती तीनैजना एकअर्काबाट देखिने र महसुस हुनेगरी नै पृथक छन्। जीवनलाई उनीहरूले हेर्ने दृष्टिकोण, उनीहरूबीचको जेनेरेसन ग्याप, रुचि, सपना, शक्ति, कमजोरी, स्वभाव, लवज, हुलिया, आ-आफ्नै छन्। कथा सतही नै किन नहोस् पात्रहरूको चरित्र निर्माणमा गरिएको मेहनतले भने फिल्मलाई छरितो र चाखलाग्दो बनाउन मद्दत गरेकै छ।
खैर, फिल्मको अन्त्यसम्म उनीहरूको यही पृथकता हुलमुलमा यसरी मिसिन्छ कि ती तीनैजना उस्तै देखिन्छन्। पात्रहरूको त्यो पृथकपनलाई अन्त्यसम्म कायम राख्न नचुकेको हुन्थ्यो त सुनमा (चकलेटी?) सुगन्ध भनेझैँ हुने थियो कि?
अभिनय
तीन पुस्ताका तीन कलाकार तब्बु, करिना कपुर खान र कृति सेनन! यी फरक पुस्ताका, फरकफरक स्वादका भूमिकाका लागि परिचित अभिनेत्रीहरू एउटै फ्रेमभित्र देखिनु भारतीय फिल्मका दर्शकका लागि पक्कै पनि नौलो र जिज्ञासापूर्ण कुरा हो। र अभिनयको कुरा गर्नुपर्दा तीनैजनाले आ-आफ्नो भूमिकालाई आफ्नो हिस्साको न्याय गरेकै छन्।
यस्तो लाग्छ, ज्यासमिनको भूमिकामा करिनाले गरेको काम जति जीवन्त निस्किएको छ तब्बु वा कृतिले गरेको भए बनावटी लाग्न सक्थ्यो। त्यस्तै, गीताको भूमिकामा तब्बुलाई करिना वा कृतिले बदली गर्न पक्कै सक्नेछैनन्। दिव्या राणाको भूमिकामा कृतिको कलाकारिता पनि खुलेर देखिन पाएको महसुस हुन्छ।
क्यामियोमा कपिल शर्माको काम सन्तोषजनक नै देखिन्छ। दिलजित दोसाँजको हकमा भने छोटो भूमिकामा देखिएका उनको चरित्रलाई यति छिटो रङ फेराइन्छ कि उनको काम कस्तो थियो भन्ने प्रश्न यसै ओझेलिएर जान्छ। निर्देशकले दिन नसकेको न्याय दर्शकले दिने हो भने जयवीरको भूमिकामा दिलजितको काम आँखामा बिझाउँदैन। त्यसो त, दिमागमा बसिरहँदैन पनि।
पृथ्वीराज मित्तलको भूमिकामा राजेश शर्मा र चेयरमेन वालियाको भूमिकामा शाश्वत चटर्जीको काम सदाबहार नै लाग्छ।
जाँदाजाँदै, फिल्मको एडल्ट जोक्सबारे राम्रै चर्चा भइरहँदा त्यसबारे नबोल्नु त्यति जँच्दैन। लेखकसमेत आफै रहेका निर्देशक कृष्णनले एडल्ट जोक्सको नाममा पितृसत्ताको आँखाबाट महिलालाई हेरेको कुरा आजको चेतनशील, प्रगतिशील समयमा उति पाच्य लाग्दैन।
उनको इसारामा उनका महिला पात्रहरू आफैलाई वस्तुकरण गर्दै भन्छन्, 'प्रियतमलाई भेट्न जाँदा सामान बाहिर निकाल्न भने नभुल्नु नि!' यही कुरालाई यदि पितृसत्ताको चस्मा खोलेर या महिला भएरै भनेको भए? ज्यास्मिन वा गीताले (कमसेकम उनीहरू देह व्यापारको धन्दा गर्दैनन् भने) आफ्नो शरीरलाई 'सामान'को रूपमा किन हेर्छन्?
(निश्चित विचारधाराका) पुरुषको कमजोरीलाई आफ्नो शक्ति बनाउनु! तिनको कमजोर भागमा हिर्काउनु! त्यही कुरालाई हेर्नैपरेको भए महिलाले बरु यो कोणबाट पो हेर्थे कि? जे होस्, तीन-तीनजना मुख्य पात्रमा महिलालाई लिएर महिलाप्रधान फिल्म बनाउँदै गर्दा पनि निर्देशकले पितृसत्तात्मक चस्मा खोल्न भने चाहेनन् या हुनसक्छ बिर्सिए।
Shares
प्रतिक्रिया