कुनै मन परेको गीत जसरी गुञ्जिन्छ सम्झनामा, त्यसैगरी गुञ्जिने रहेछ जिन्दगीको अप्रिय धुन। सीताको १२ वर्षे कलिलो चेतनाले बुझ्न सकिरहेको थिएन रोगले गर्नसक्ने हानि। केवल दुखाइरहन्थ्यो, एउटा खुट्टा काट्नुपर्छ भन्ने भयले।
त्यही भयले लखेटिएर उनी कहिले एक्लै टोलाउँथिन् कोठामा, कहिले एक्लै आँसु झार्थिन् बारीको कान्लामा। एकदिन बारीमा टोलाइरहेकी सीताले मायालु स्वरमा सुनिन्, ‘खुट्टा काट्यो भने बाँचिन्छ। बाँचेपछि जिन्दगी देखिन्छ। खुट्टा काटेन भने मरिन्छ। मरेपछि सबै सकिन्छ। तिमी खुट्टा काट्न तयार हुनुपर्छ।’
यो बोली थियो उनका सानोबुवाको।
१२ वर्षको उमेरमै क्यान्सर रोग लागेपछि सीताको एउटा खुट्टा काट्नु पर्ने भयो। तर, सीता कुनै हालतमा तयार थिइनन्। त्यही भएर सानोबुवाले सम्झाउने कोसिस गरेका थिए।
त्यसपछि उनको कानमा गुञ्जिरह्यो, ‘बाँच्यो भने जिन्दगी देख्न पाइन्छ।’
सीताको मनमा जिन्दगी देख्ने अभिलासा ठूलो भयो। अनि बुवालाई भनिन्, ‘बुवा म खुट्टा काट्छु।’
उनको जीवनको सबैभन्दा ठूलो सपना थियो– नाचेर आफूलाई स्थापित गर्नु। लगभग ६ वर्षको उमेरमै हृदयमा गडेर बसेको सपना १२ वर्षको उमेरमा चम्किँदै थियो। खुट्टा काट्ने निर्णय गरेको दिन उनलाई लाग्यो, ‘भोलिदेखि मेरो मन मात्रै नाच्ने छ, शरीर नचाउने खुट्टा हुने छैन।’
त्यसपछि उनी धित मरुन्जेल नाचिन्। नाच्दा नाच्दै उनको शरीर थाक्यो, खुट्टा दुख्यो तर मन थाकेन।
अस्पतालमा पनि डाक्टरले उनले धेरैबेर सम्झाए। सीता सम्झिन्छिन्, ‘तिमी केही समयमा निदाउँछौ। ब्युँझिदा तिम्रो एउटा खुट्टा हुँदैन। तिमीले दुःख नमान्नू भन्नुभएको थियो। त्यसपछि मैले अब म निदाएर ब्युँझँदा मेरो एउटा खुट्टा हुँदैन भन्ने कुरा स्वीकार गरेँ।’
समाजले आमालाई यातना दिन्थ्यो
त्यो समय क्यान्सर रोगका बारेमा सचेतना थिएन। यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ भन्ने भ्रम थियो। एकातिर क्यान्सर लागेपछि मरिन्छ भन्ने भाष्य, अर्कोतिर क्यान्सर सर्छ भन्ने डर। यसैका कारण उनका आफन्त पनि टाढा भए।
‘सधैँ आउने मान्छेहरु बाटो काटेर हिँड्न थाले। आमालाई पनि उनीहरु सधैँ सँगै नबस्, तँ पनि रोग लागेर मर्लिस् भनेर भन्थे,’ सीताले दुःखका दिन सम्झना गरिन्।
छोरीसँगै बसेकाले मान्छे उनकी आमासँग पनि तर्किएर हिँड्थे। त्यो समय बानी पर्न निकै मुस्किल भएको थियो।
‘क्यान्सर सर्छ, क्यान्सर लागेपछि मरिन्छ भन्ने थियो। बाँच्न सबैलाई मन हुन्छ। मेरा आफन्त मेरो माया नभएरभन्दा पनि आफू धेरै बाँच्ने अभिलासाले हामीबाट टाढा भएका थिए। अहिले सम्झिँदा समान्य लाग्छ। त्यो बेला त उनीहरुको व्यवहारले काँडाले घोचेझैँ घोच्थ्यो, हृदयमा,’ सीता सुनाउँछिन्।
सीताकी आमामा पनि क्यान्सर सर्दैन भन्ने चेतना त थिएन। तर, उनी छोरीलाई पर राखेर बस्न सक्दिनथिन्। उनी भन्थिन्, ‘छोरी मरेर बाँचेको मेरो जिन्दगीको के अर्थ? यो मरी भने मै पनि सँगै मरौँला।’
सीताका बुवा भने धेरै बोल्दैनथे। सीता भन्छिन्, ‘मेरो बुवाले मेरो पीर सधैँ मुटुमा गाँठो पारेर राख्नु भयो। उहाँलाई मेरो खुट्टा गुमेकोमा भन्दा समाजले लगाउने वचनमा धेरै पीडा हुन्थ्यो। मलाई भनिरहनुहुन्थ्यो– तिमी बाहिर धेरै ननिस्क।’
समाजका मानिसलाई उनले खुट्टा काटेर बाँचेकोमा गुनासो थियो। उनीहरु उनका बुवा आमालाई बारम्बार प्रश्न गर्थे, ‘किन यसलाई खुट्टा काटीकाटी बचाएको?’
उनका बुवाआमासँग जवाफ थिएन।
फेरि ब्युँतिएको सपना
खुट्टा काटियो। अब जति सम्झिए पनि खुट्टा फर्किदैनथ्यो। सीता उपचारकै क्रममा थिइन्। तेस्रो पटक केमो चढाइसकेपछि उनको भेट पारिजातकी बहिनी सुकन्या वाइबासँग भयो। यो भेट सीताको जिन्दगीका लागि हिम्मत बन्यो, हौसला बन्यो अनि बन्यो सपनाको नयाँ बाटो।
त्यतिबेला सुकन्याका श्रीमानलाई घाँटीको क्यान्सर भएको थियो। उनी श्रीमानको उपचारका लागि अस्पतालमा आएकी थिइन्। उनै क्यान्सर रोगी सुकन्याका श्रीमानले सीतामा नृत्यको सपना पुनः जगाइदिए।
‘उहाँले भारतमा त एक खुट्टाले नृत्य गर्ने हिरोइन छन्। एउटा खुट्टाले पनि मज्जाले नाच्न सकिन्छ। तर पढेर नृत्य गर्नुपर्छ भन्नुभयो। जुन मेरो लागि प्रेरणाको पाटो बन्यो,’ सीताले सुनाइन्।
सीतालाई त्यतिबेला थाहा थिएन कृत्रिम खुट्टा राख्न पाइन्छ। सुकन्याले नै सीतालाई कृत्रिम खुट्टाका बारेमा जानकारी दिएकी हुन्। आज राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा पाएको सफलतालाई त्यसैको उपज मान्छिन् सीता।
भिडिओ :
स्कुलदेखि अफिससम्मका अप्ठेरा
सीता पढाइमा अब्बल थिइन्। तर, स्कुल जान सजिलो थिएन। बैसाखी टेकेर स्कुल जान्थिन्। तल्लोदेखि माथिल्लो कक्षासम्मका विद्यार्थी उनको वरिपरि झुम्मिन्थे। खिसी गर्थे। सीता भित्रैबाट टुट्थिन्। शिक्षक उनलाई हिम्मत दिन्थे। उनलाई जिस्क्याउनेलाई खेद्थे।
एसएलसीपछि उनका बुवाआमा छोरीलाई स्टाफ नर्स बनाउन चाहन्थे। सीताले स्टाफ नर्स अध्ययनका लागि छात्रवृत्तिमा समेत पाइन्। तर उनको मन नृत्यमा थियो, संगीतमा थियो। मनका लागि परिवार बाधक थियो। उनका बुवाआमा चाहँदैनथे, ‘छोरीले नाचगान गरोस्।’ त्यसैले सीताले परिवारलाई थाहै नदिन नृत्य सिक्ने अठोट गरिन्।
सिक्ने उत्कट चाहनामा पनि तगारो बनेर आयो खुट्टा। धेरैले उनलाई नृत्य सिकाउनै चाहेनन्। ‘तैँले नृत्य सिकेर के गर्छेस्?’ भनेर उनको मनोबल गिराइदिए। उनी ललितकला क्याम्पस भर्ना भइन्।
अध्ययनका सुरुवाती दिन सम्झँदै सीता भन्छिन्, ‘सरहरुले मेरो अनुहारमा पनि हेर्नुुहुन्नथ्यो। मलाई नजिक आएर सिकाउनुहुन्नथ्यो। म साथीहरुलाई सिकाएको हेर्थें र सिक्थेँ। उहाँहरुलाई मलाई सिकाएर केही हुन्छ भन्ने नै लाग्दैनथ्यो।’
उनको नृत्य र गायनमा उनका भाइ भने सधैँ सहयोगी भए। उनले दिदीको सपनालाई आफ्नै झैँ माया गरिदिए। दिदीको नृत्यमोह बुझेका भाइले दिदीले लुकिछिपी सिकिरहेको नृत्यका बारेमा घरमा बताएनन्। परिवारलाई त्यतिबेला मात्र थाहा भयो, जतिबेला सीता नृत्यमा पारंगत भैसकेकी थिइन्।
‘जब बीबीसीले मैले स्टेजमा प्रस्तुत गरेको नृत्यलाई कभरेज गरिदियो, तब मेरो परिवारले थाहा पायो,’ उनी भन्छिन्, ‘त्यो बेला सायद बुबालाई पनि गर्वको महसुस भयो होला। कस्तो लाग्यो भनेर मैले कहिल्यै सोधिनँ। कारण मेरो प्रश्न बुवालाई जिस्क्याएझैँ होला भन्नेमा म सचेत थिएँ।’
सीताले पहिलो पटक पदमकन्या क्याम्पसको मञ्चमा नृत्य प्रस्तुत गरेकी थिइन्। उनको यो यात्रा देशका विभिन्न मेला, महोत्सव हुँदै विदेशका मञ्चसम्म पुग्यो। सीताले सन् २०१९ को अन्तर्राष्ट्रिय अपांगता दिवसका दिन दक्षिण कोरियामा नृत्य गरिन्। सन् २०२० को जनवरी ११ मा सियोलमा भएको भिजिट नेपालको कार्यक्रममा स्वागत नृत्य गर्ने अवसर पाइन्। त्यसयता उनले थुप्रै देशको यात्रा गरिसकेकी छिन्।
नृत्य सिक्ने क्रममा संगालेका थुप्रै तिता अनुभव छन्। सीतालाई लाग्छ धनबहादुर गोपाली, श्री केसी र रवि रानामगर हुँदैनथे भने उनको नृत्य सिक्ने र संगीत सिक्ने सपना पनि पूरा हुँदैनथ्यो। जागिरे जीवनमा पनि सीताले थुप्रै अपमान र दुव्र्यवहार खेपेकी छिन्।
‘म एक प्राइभेट कम्पनीको म्यानेजर हुने लाइनमा थिए। त्यहाँ मेरो चेतना कति छ हेरिएन। हेरियो मेरो एउटा खुट्टा छैन,’ उनले सुनाइन्, ‘एउटा खुट्टाले के म्यानेजर बन्छेस् भनेपछि मेरो मन नमज्जाले दुख्यो। त्यसपछि मैले पूर्ण समय आफ्नो सपनालाई दिएँ।’
नेपाली कला क्षेत्रमा दशक समय खर्चिएकी सीताको जीवन र सौन्दर्यलाई हेर्ने दृष्टिकोण फरक छ।
नृत्यमा जीवनको सुन्दरता देखेकी सीता भन्छिन्, ‘शरीरका अंगमा मान्छेको सुन्दरता नखोजियोस्। शरीरमा नभएका चीजसँग मान्छेको क्षमता नदाँजियोस्। जीवन साँच्चै सुन्दर बनाउन सोच सुन्दर र सकारात्मक हुनुपर्छ।’
सौन्दर्य मान्छेको शारीरिक बनावटसँग सम्बन्ध राख्दैन भन्ने सीताले सौन्दर्य प्रतियोगितामा सहभागिता जनाइन्। मेहनत, धैर्य, लगनशीलता, अनुशासन र आत्मविश्वासले उनलाई मिसेस नेपाल वर्ल्डको प्रतियोगितामा ‘म्यानेजमेन्ट च्वाइस अवार्ड’ दिलायो। साथमा उनले सोही मञ्चमा ‘मिसेस नेपाल इन्टरनेसनल २०२३’ को उपाधि उचालिन्। यससँगै उनको चर्चा अझै चुलिएको छ।
उनी पछिल्लो पुस्तालाई सुझाव दिन्छिन्, ‘शारीरिक अशक्तता वा केही कमजोरी भए पनि अन्य क्षमता हुन्छ। आफ्नो क्षमता चिन्नुहोस् र त्यसैमा ध्यान दिनुहोस्। जिन्दगीमा सफलता पाइन्छ।’
युवा पुस्तामा व्याप्त केही गर्न सक्दिनँ भन्ने मनोवृत्ति देखेर उनी हैरान हुन्छिन्।
‘अहिलेको युवामा मैले केही गर्न सकिनँ भन्ने आत्मग्लानि देख्छु। उनीहरु यही सोचेर डिप्रेसनको सिकार भैरहेका छन्। हामीले पनि उनीहरुभित्रको क्षमता देखाइदिन सकेका छैनौँ,’ उनी भन्छिन्, ‘हामी आफैँ केन्द्रित हुनै सकेनौँ। सामाजिक सञ्जालको विकाससँगै कृत्रिम चिजमा धेरै रमाउने भएछौँ। मैले पनि आफूभित्रको क्षमता नखोजेको भए उहिले जीवनसँग हरेस खाइसकेको हुन्थे हुँला।’
Shares
प्रतिक्रिया