पछिल्लो समय नेपाली फिल्म ‘अगस्त्य: च्याप्टर १’ चर्चामा छ। फिल्मको फर्स्टलुक पोस्टरदेखि टिजर र ट्रेलरलाई दर्शकबाट राम्रो प्रतिक्रिया मिलिरहेको छ।
सौरभ चौधरीको लेखन र निर्देशन रहेको यो फिल्म भोलि (शुक्रबार) रिलिज हुँदैछ। यस फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत र निश्चल बस्नेत लगातको अभिनय छ।
‘अगस्त्य ’ सौरभको दोस्रो निर्देशकीय फिल्म हो। उनको डेब्यू फिल्म ‘लभ डायरिज’ २०७६ सालमा रिलिज भएको थियो। ‘लभ डायरिज’ बक्सअफिसमा फ्लप भयो। त्यसको चार वर्षपछि सौरभ निर्देशनमा फर्किएका हुन्। उनै निर्देशक सौरभसँग फिल्म ‘अगस्त्य: च्याप्टर १’ बारे गरिएको कुराकानी :
चार वर्षपछि निर्देशनमा फर्किनुभएको छ, ‘अगस्त्य’ लाई लिएर कति उत्साहित हुनुहुन्छ?
चार वर्षपछि मेरो नयाँ फिल्म रिलिज हुँदैछ। निकै उत्साहित छु। तर, रिलिज मिति नजिकिएसँगै केही डर पनि लाग्दो रहेछ। अहिले म उत्साह र डरबीचमा मिश्रित महसुस भइरहेको छ।
फर्स्टलुक पोस्टर सार्वजनिक भएदेखि नै ‘अगस्त्य’ चर्चामा छ। तपाईंलाई चाहिँ फिल्मप्रति कत्तिको विश्वास छ?
‘अगस्त्य’ को कथा के हो?
हिन्दु धर्मग्रन्थअनुसार सप्त ऋषिमुनिमध्ये एउटा ऋषि ‘अगस्त्य’ थिए। उनी शारिरीक र मानसिक रुपमा एकदमै बलियो थिए। त्यही ऋषिको चरित्रलाई मैले सिनेमाको क्यारेक्टरसँग रिलेट गराएको हुँ।
फिल्मभित्र सौगातजी सौर्यको भूमिकामा हुनुहुन्छ। गोरखपुरमा रहेको सौर्य मानसिक सन्तुलन गुमाएको अवस्थामा छ। नाजिर क्यारेन्टर निशानले सौर्यलाई खोज्छ। यसकै वरिपरि कथा घुम्छ।
फिल्मको कन्सेप्ट कहिले क्लिक भयो?
यो २०२० मा आएको कन्सेप्ट हो। बीचमा म फिल्मसम्बन्धी कोर्स पढ्न बेलायत गएँ। राम्रो कथा भन्ने हेतुले फिल्मकै स्क्रिप्टमा तीनवर्ष काम गरियो। अगस्त्यको कथा १० ड्राफ्टमा तयार गरिएको हो।
फिल्म चल्ने आधार के देख्नुहुन्छ?
यो फिल्म नौलो कन्सेप्टमा छ। जसलाई पूरा सिनेम्याटिक बनाउने कोशिस गरेका छौँ। दर्शकलाई मनपर्छ जस्तो लाग्छ। अर्को कुरा कलाकारहरुले फिल्ममा निकै मेहनत गर्नुभएको छ। कथासहित कलाकारहरुको अभिनयले दर्शकको मन जित्छ जस्तो लाग्छ। दर्शकहरुले अहिलेसम्म नभनिएको कथा यस फिल्ममा पाउनुहुनेछ। फिल्म हेरिसकेपछि हरकोहीले पनि आफ्नो जीवनसँग रिलेट गर्नुहुन्छ।
तपाईंको फिल्ममा चर्चित स्टारकास्ट हुनुहुन्छ, उहाँहरुलाई फिल्म चल्छ भनेर रोज्नु भएको हो?
यो कदापि होइन। सिनेमाभित्र जुन क्यारेक्टरको डिमान्ड थियो, त्यहीअनुसार उहाँहरुलाई फिट देखेँ। त्यही हिसाबले आर्टिस्टहरु छनोट गरेको हुँ।
‘अगस्त्य’ हिट भएपछि एक्सन फिल्मको ट्रेन्ड चल्छ भन्ने धेरैको विश्वास छ, तपाई के भन्नुहुन्छ?
भारतमा एक्सन फिल्म हिट भइरहेको बेला नेपालमा पनि यो ट्रेन्ड आउनु राम्रो कुरा हो। यस फिल्मभित्र एक्सन छ तर, अगस्त्यलाई पुरा एक्सन फिल्म त भन्दिनँ।
यो फिल्म एक्सनसहित सस्पेन्स र थ्रिलरको बीचमा गुज्रिन्छ। यसभित्र धेरै कुरा छन्। जुन कुरा टिजर र ट्रेलरमा देखाउन मिलेन। अब दर्शकहरूले फिल्म हेरेपछि नै थाहा पाउनु हुन्छ।
फिल्म निर्माण गर्न कति खर्च लाग्यो?
यस फिल्मको सुटिङ नेपालसहित भारतको गोरखपुरमा गरिएको हो। जसकारण खर्च राम्रै लाग्यो। अहिलेसम्म फिल्ममा ३ करोड ७० लाख खर्च आइसकेको छ।
निर्देशकका हिसाबले फिल्मबाट के म्यासेज दिन खोज्नुभएको छ?
हरेक युगमा खराब कुराको विनास गर्न कोही न कोही भगवानले जन्म लिइराख्नु भएको थियो। समाजमा खराब तत्त्वहरू छन् भने कुनै न कुनै रुपमा राम्रो तत्त्व पनि जमाउँन्छ भन्ने सन्देश फिल्ममा छ।
अन्त्यमा, दर्शकहरूलाई के भन्न चाहनुहुन्छ?
धेरै ठाउँमा सुनिन्छ कि नयाँ शैलीमा नेपाली फिल्म बन्नुपर्यो। फिल्ममा नयाँ किसिमको कन्सेप्ट चाहियो। त्यहीअनुसार हामीले अगस्त्यमा नयाँ प्रयोग गरेका छौँ। त्यहीभएर पनि दर्शकहरूले यो फिल्म हेरिदिनुहोला। जसले भोलिका दिनमा हामीलाई पनि नयाँ कुरा गर्ने हिम्मत बढ्छ।
Shares
प्रतिक्रिया