प्रश्नबाट सुरु गरौँ। नेपाल के हो? विश्वको सबैभन्दा अग्लो हिमाल हो नेपाल? या फेरि जुम्ला-मुगुको रारा ताल हो नेपाल? या फेरि एसियाका प्रकाश भनेर चिनिने गौतम बुद्ध हुन् नेपाल? कस्तो पुङ न पुच्छरको प्रश्न है? यसलाई बरु यसरी सोधिहेरौँ न। तपाईं के हो? के तपाईं एउटा भौतिक पिण्ड हो कद हो? या फेरि तपाईं तपाईंले गर्ने पेसा, तपाईंले जानेको सीप हो, तपाईंले पाएको पद हो?
तपाईंलाई लाग्ला तपाईं यही हो- जस्तो देखिनुहुन्छ, जसरी चिनिनुहुन्छ! तर, एकपटक सोचिहेरौँ न, तपाईं त्यस्तो नदेखिएर अर्कै देखिँदा पनि, तपाईं त्यसरी नचिनिएर अर्कै गरी चिनिए पनि, अथवा चिनिँदै नचिनिए पनि तपाईंलाई तपाईं केले बनाउँछ? तपाईंको संस्कारले, तपाईंको संस्कृतिले बनाउँछ। तपाईं के खानुहुन्छ? कसरी खानुहुन्छ? के लगाउनुहुन्छ? कसरी लगाउनुहुन्छ? तपाईं कसरी बोल्नुहुन्छ? किन त्यसरी बोल्नुहुन्छ? कुन खोलाको पानी पिएर तपाईं हुर्किनुभएको हो? कसरी बाँच्नुहुन्छ? किन त्यसरी बाँच्नुहुन्छ? तपाईं तपाईंको आफ्नो कथा हो। आफ्नो इतिहास हो।
अब भन्नुस् नेपाल के हो? नेपालाई नेपाल के ले बनाउँछ? यहाँको संस्कृतिले, यहाँको सांस्कृतिक विविधताले।
पर्यटकहरू नेपाल हेर्न आउँदा पुन हिल वा अन्तु डाँडाबाट घाम हेर्न मात्र आउँदैनन्। तपाईं जनकपुर जाँदा रामजानकी मन्दिर मात्र हेरेर आउनुहुन्न। त्यहाँको मिथिला समाज र संस्कृति पनि हेरेर आउनुहुन्छ। पाल्पा जाँदा रानीमहल मात्र हेरेर आउनुहुन्न। मगरहरूको इतिहास पनि पक्कै खोज्नुहुन्छ। र त्यो गर्न आवश्यक पनि छ। मन्दिर वा महल त भोलि भत्किएर जाला वा पुन: अर्को जग हाल्न सकिएला, हामी आफैले या फेरि कुनै धूर्त छिमेकीले। तर, संस्कृतिको जग दोस्रोले हाल्न सक्दैन। तपाईंबाट जे कुरा अरूले छिनेर उसको आफ्नो बनाउन सक्दैन त्यो नै तपाईं हो।
के भारत, चीन, रुस, अमेरिका वा कुनै पनि देशले मगर, थारु वा तामाङ उत्पादन गर्नसक्छ? कदापि सक्दैन। किनभने, इतिहास उखेलेर अन्यत्र गाड्न सकिँदैन। हामी यतिबेला नेपाली आदिवासी जनजातिहरूको कुरा गर्दैछौँ। जसको अस्तित्वले नेपाललाई 'नेपाल' बनाइरहेको छ।
अब मासिन्यातिर ओर्लिऔँ। हो, मासिन्याको कुरा ओर्लिएरै गर्न मात्र सम्भव छ। जब इतिहासमा मानिसबाट मानवता भन्ने तत्व हरायो तब ऊ नैतिक रूपले पतीत भयो र यस्तो भाष्यको निर्माण गर्यो- मासिन्या र नमासिन्या। बिडम्बना भन्नुपर्छ यो भाष्य चिम्सो आँखा र नाक थेप्चो हुने समुदायका लागि मात्र प्रयोग गरियो। मानौँ बाँच्ने हक चुच्चो नाक गरेकालाई मात्रै छ। राणाकालीन तानाशाही सत्ताले वि.सं. १९१० मा मुलुकी ऐनमै यो भाष्यलाई स्थापित गरायो। मासिन्या मतवाली अर्थात् जो मासिएर गए पनि फरक पर्दैन! जसलाई मास्दै लानुपर्छ? हैट! यो कस्तो भाष्य हो? डरभन्दा घिन ज्यादा लाग्ने!
हामी काठमाडौंको बानेश्वरस्थित मण्डला थिएटरमा आजैबाट प्रदर्शनमा आएको नाटक 'मासिन्या'को कुरा गर्दैछौँ। कवित्रय राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबतको लेखनमा बुद्धि तामाङ र सोनाम लामाको परिकल्पना तथा निर्देशनमा तयार पारिएको यो नाटक तामाङ समुदायको ऐतिहासिक दस्तावेज त हो नै साथमा एउटा जुगौँदेखि भोग्दै आएको पीडाको कलात्मक अभिव्यक्ति पनि हो।
नाटकको कथा दु:खद छ तर यो रुन्चे कदापि छैन। त्यस हिसाबले यो नाटक जातीय विभेदविरुद्धको खबरदारी पनि हो। आउनुस्, अब एकैछिन नाटकको पात्र च्याङ्बाको कुरा गरौँ।
च्याङ्बा र स्याङ्मोको ठूलो सपना छैन। आफ्नो प्रेमलाई विवाहमा बदल्नु छ, घर बसाउनु छ। एउटा सानो सुखी र खुसी परिवार सजाउनु छ। उनीहरूको सबैभन्दा ठूलो सपना भनेको आफ्नो जातिको इतिहास खोपिएका केही ढुंगाहरू अब केही मात्र बाँकी छन्, अकालमै मासिएका आफ्ना बा-आमाको आत्माशान्तिका लागि ती ऐतिहासिक ढुंगालाई भने मासिन नदिनू। के च्याङ्बाले ती ढुंगा जोगाउन सक्ला त?
यो नाटक एउटा तिखो तीर हो जसले तपाईंभित्र प्रश्नहरूका अनगिन्ती छिद्र छेडिदिन्छ। के आफ्नो इतिहास जोगाउन खोज्नु अपराध हो? के आफ्नो संस्कृति पच्छ्याउँदा क्रान्तिकारी भइन्छ? त्यसो त प्रश्नहरू अर्काथरी पनि आउन सक्छन्। तपाईंलाई लाग्नसक्छ यो त हिजोको कुरा हो, हिजोको दु:खमा आज किन रोइबस्ने? मुलुकी ऐन आज कहाँ छ र? आज मासिन्या भन्ने भाष्यको प्रयोग कहाँ गरिन्छ?
हो, कानुन फेरिइसकेको छ, व्यवस्था फेरिइसकेको छ। तर के अवस्थाले पनि काँचुली फेरिसकेको छ र? पक्कै छैन। अवस्थाले काँचुली होइन रंग मात्र फेरेको छ।
धेरै पछाडि पनि जानु परेन। निश्चित समुदायले निश्चित पशुको मांसाहार गरेको विषयमा द्वन्द्व चर्किएकै घटना त्यति पुरानो भइसकेको पनि छैन। चार वर्ण, छत्तीस जातको साझा फूलबारी नेपालमा खै त सांस्कृतिक सहिष्णुता? होला, आज मासिन्या भन्न छोडिएको छ। तामाङ, थारु, भोटेहरूलाई मासिन्याको सट्टा आदिवासी जनजाति नाम दिइयो। तर, नाम फेरिए पनि कहिलेकाहीँ सर्वनाम जस्तै गरेर एउटा विशेषणको प्रयोग आज पनि गरिन्छ- 'अल्पसंख्यक'! त्यसो त देशले व्यवस्था पनि त फेर्यो। तानाशाही राजतन्त्र हटेर बहुदलीय गणतन्त्रमा देश प्रवेश गर्यो। बहुमतका आधारमा निर्वाचन र निर्णय हुने यो व्यवस्थाले अल्पसंख्यक भन्ने सर्वनाम प्रयोग गर्नु तार्किक देखिँदादेखिँदै पनि शंकास्पद लाग्दैन र?
तर, इतिहास र संस्कृति भनेको कुनै स्क्रिप्टेड रियालिटी शो पक्कै होइन, जसलाई अल्पसंख्यक त हुन् नि, नगण्य त हो भनेर घुमिफिरी 'मासिन्या' बनाउन कुनै हालतमा पाइँदैन।
साँच्चै, नाटक हेर्दै गर्दा तपाईंलाई लाग्नसक्छ सत्ताधारी पात्रमा किन आर्य अनुहार नै राखियो होला? किन कुनै आर्य पात्रले आदिवासी जनजातिका लागि आवाज उठाएको दृश्य राखिएन होला? किनभने, त्यस्ता मानिस कम थिए वा छँदै थिएनन्। तर, सुखद कुरा के हो भने यो हिजोको कथा थियो, आजको कथा लेख्ने जिम्मा हाम्रै हातमा छ। आउनुस्, हामी कसैलाई अल्पसंख्यक बन्न नदिऊँ। 'मासिन्या'हरू मासिनु भनेको नेपालको गुदी मासिनु हो। नेपाल मासिनु भनेको हामी सबै मासिनु हो।
सर्प जोगाउने चेत भएका हामी, बाघ जोगाउने अभियानमा लागिपरेका हामी सबैभन्दा पहिला एक-अर्कालाई जोगाऔँ न हुन्न? अहंको शिर दुवै पक्षले थोरै झुकाउने हो भने त्यति गाह्रो पनि त छैन एक-अर्कालाई स्वीकार गरिदिनू।
च्याङ्बा त डम्फु बजाउने मान्छे, हेर्नुस् त आज ऊ खुकुरीमा धार लगाउँदै छ। उसलाई त्यो खुकुरी उज्याउन बाध्य नपारौँ।
Shares
प्रतिक्रिया