ad ad

कला


पलेँटी युट्युबमा अब छन्द कविताको पालो

पलेँटी युट्युबमा अब छन्द कविताको पालो

नेपालखबर
माघ २४, २०७६ शुक्रबार १५:४५,

नेपालयले सञ्चालन गर्दै आएको सांगीतिक कार्यक्रम पलेँटीका पुरै कार्यक्रमहरू केही महिनादेखि युट्युबमार्फत् शृंखलाबद्ध रुपमा अपलोड हुँदै आएका छन्।

 नेपालयलेले आफ्नो अभिलेखमा रेकर्ड गरेर राखेका गीतहरु आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गर्दै आएको छ। उसले २०१९ मा आयोजित पलेँटी कार्यक्रमका पूरै कार्यक्रमलाई शृंखलाबद्ध रुपमा सार्वजनिक गर्दै आएको हो । यसै क्रममा संगीतकार आभाषद्वारा संचालन गरिएको र गायिका मीना निरौलाद्वारा प्रस्तुत ‘नेपाली संगीतमा महिला’ र आभास स्वयंको ४ दशकको संगीतयात्रा यस अघि सार्वजनिक भइसकेका छन्। यी दुवै कार्यक्रमको लाइभ रेकर्डिङ ४ भागमा सम्पादन गरेर धारावाहिक रुपमा पलेटीँको युट्युब च्यानल डब्लुडब्लुडब्लुडटयुट्युवडककम/पलेंटी मा उपलब्ध गराइएको छ।

अबको केही साता पलेँटीको युट्युब च्यानल छन्दमय रहने छ। साहित्य अनुरागी भूषिता वशिष्ठद्वारा गत वर्षको अप्रिलमा प्रस्तुत छन्द गायनको अनुभव अब सबैका निम्ति उपलब्ध हुनेछ।

नेपाली छन्द कविता लयात्मक माधुर्य र लालित्य बोकेको मनोरम शैलीको साहित्यिक विधा हो। कुनै बखत छन्द विधा नेपाली साहित्यको मेरुदण्ड नै मानिन्थ्यो तर अहिले यो विधा सिमित लयप्रेमीहरू बीच मात्र साँघुरिएर रहेको छ। छन्द कविता, वाचन परम्पराको माध्यमले पुस्तान्तरण हुँदै जानु पर्ने साहित्यिक विधा हो । किताबमा मात्र सिमित राखेर छन्दको सुन्दरता पर्गेल्न सकिँदैन। त्यसैले यो विधालाई भाका हालेर गाउँदै प्रसारित गर्ने परम्परा विकसित गर्ने उद्देश्यले युट्युबमा राख्न खोजिएको कुरा नेपालयले जनाएको छ। यसरी आधुनिक प्रविधिमार्फत् छन्द प्रेमीहरू माझ कविता पुर्‍याउँदा यसको दायरा फराकिँदै जान्छ।

हाल केही छन्दप्रेमीका धुकधुकीमा बाँचेको यो विधालाई पर्याप्त रुपमा प्रचार गर्न अति जरुरी छ। भूषिताले वाचन गरेका कवितामा सोमनाथ सिग्ध्याल, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे लगायतका सुप्रसिद्ध कविहरूका रचना समावेस भएका छन्।

‘पलेँटीको सांगीतिक मञ्चमा भूषिताको छन्द वाचनले नौलो रौनक ल्याएको थियो। संगीत र साहित्य मिसिएको त्यस नयाँ प्रस्तुतिलाई धेरैले रुचाएका थिए। कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नपाएका साहित्य र संगीतका अनुरागी माझ छन्दलाई धारावाहिक रुपमा बाँड्न पाउँदा हामी हर्षित छौँ’ पलेँटी संयोजक संगीतकार आभासले भने।

‘छन्द परम्परा हाम्रो साहित्यको मौलिक स्वाद बोकेको विधा हो। नेपाली छन्दलाई वाचन गरी अभिलेख गर्ने मेरो प्रयासलाई पलेंटी कार्यक्रमले थप उर्जा दिएको थियो। अब त्यही कार्यक्रमको अभिलेख पलेँटीको युट्युब च्यानलमार्फत सार्वजनिक हुन लागेको सुन्दा मलाई खुशी लागेको छ’ भूषिताले भनिन्।

भूषितालाई बाल्यकालदेखि नै छन्दले मोहित पार्थ्यो। अँग्रेजी साहित्यकी जिज्ञासु विद्यार्थी भूषिता अहिले छन्द कविताका भाकाहरूबाट मात्र होइन यसभित्रको साहित्यिक र पूर्वीय दार्शनिक पक्षसँग पनि मोहित छिन्।

नेपाली छन्द कविताको परम्परामा सयौं प्रकारका मात्रा अथवा मीटर रहेका छन्, जसलाई भूषिताले कार्यक्रमका क्रममा प्रष्ट्याएकी थिइन्। युट्युबमार्फत् प्रसारण हुने कार्यक्रममा छन्द र नेपाली साहित्यमाथि भूषिताको व्याख्या पनि समेटिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .