किम कि दुक! सिनेप्रेमीहरूका लागि यो कुनै नौलो नाम होइन। सन् २००४ मा एकै वर्ष दुई भिन्नाभिन्नै अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (भेनिस र बर्लिन)मा उनका दुई भिन्नाभिन्नै फिल्म (थ्री-आइरन र समारितन गर्ल)ले उनलाई उत्कृष्ट निर्देशकको उपाधि दिलाएका थिए।
त्यसो त सन् २०११ मा उनकै लेखन तथा निर्देशनको फिल्म 'अरिराङ' ले उनलाई कान फिल्म फेस्टिवलमा पनि अवार्ड दिलाएको हो। यस्तै, सन् २०१२ को भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा उनको अर्को फिल्म 'पिटा'ले उनलाई गोल्डेन लायन दिलायो। खैर, आजको बसाइमा ती अवार्ड विजेता फिल्मको कुरा भने हामी गर्नेछैनौँ। हामी कुरा गर्नेछौँ यिनै साउथ कोरियन निर्देशक दुकको अर्को चलचित्र 'स्प्रिङ, समर, फल, विन्टर एन्ड स्प्रिङ'को। भनिन्छ, दुकका झण्डै ३ दर्जन फिल्ममध्ये यो उनको मास्टरपिस हो।
फिल्मको भाषा हुन्छ र आवाज हुन्छ भने दुकको यो सिनेमा बोल्दैन खालि सुस्केरा हाल्छ र इसारा गर्छ। यस्तो लाग्छ फिल्ममा पात्रहरू भन्दा ज्यादा फिल्मको सेट बोल्छ- पानी बोल्छ, पानीमाथि तैरिरहेको आश्रम बोल्छ, हिउँ बोल्छ, डुङ्गा र ढोकाहरू बोल्छन्। यस्तै, बिम्बहरू इसारा गर्छन्- सर्प, माछा, कुखुरा, बिरालो सबै लाग्छ केही भन्न खोजिरहेका छन्। कथा त आखिर पात्रकै हो। आउनुस्, केहीबेर पात्रहरूसँगै यामदेखि यामसम्म डुलिहिँडौँ।
१. वसन्त
हाम्रो मुख्य पात्र यतिबेला निकै सानो छ, उसमा उत्सुकता छ, उमंग छ, जोस छ, जिज्ञासा छ। मानौँ ऊ वसन्त ऋतुमा फुल्ने कोमल र चञ्चल फूल हो। उसले गल्ती गर्दा पनि हामीलाई उसँग रिस उठ्दैन। उसका कारण कोही छट्पटिएर, तड्पिएर मर्छ तर, हामीलाई फेरि पनि उसैको पक्षमा उभिइदिन मन लाग्छ। उसलाई हामी अबोध र अपराधी एकैसाथ देख्छौँ, निर्दोष र पीडक एकैसाथ देख्छौँ र एकैसाथ देख्छौँ कोमल र कुटिल पनि। हरेक सिक्काको दुई पाटा हुन्छन् तर, हामी बस् एकै पाटा हेर्न अभ्यस्त छौँ। यहाँनेर पनि सायद हामी त्यही गर्ने थियौँ कि?
तर, बूढो भिक्षु दोस्रो पाटोलाई नहेरिरहन सक्दैन। किनभने उसले देखिसकेको छ। देखिसकेको सत्यलाई अनदेखा नगर्नु नै सायद एउटा भिक्षुको धर्म हो। ऊ आफ्नो धर्म निभाउँछ, हामीलाई निर्दोष लागिरहेको दोषी बालक सजाय भोग्छ र केही पाठ पनि सिक्छ। तर, मान्छेले सिकेको पाठ कुनै दिन बिर्सिन नसक्ला र?
२. गृष्म
खैर, हरेक दिन नयाँ कुरा सिक्दै मानिसको जीवन अघि बढिरहन्छ। हाम्रो मुख्य पात्र पनि अब बालक रहेन। ऊ अब किशोर भइसकेको छ। उत्सुकता, जिज्ञासा भन्ने कुरा बाल्यकालका सम्पत्ति मात्र होइन रहेछन्। ऊ आज पनि उत्तिकै अबोध छ। उसले आज पनि जीवन र जगतलाई बुझ्न उत्तिकै बाँकी छ। ज्ञान भन्ने कुरा पनि आखिर जति नजिक गएँ भन्यो उति पर-पर भागिदिँदोरहेछ आकसजस्तो।
अचानक एकाबिहानै एक जोडी सर्पको प्रेमालाप देखेर किशोरको मनमा नौलो खुलदुली जाग्छ। ज्ञानको भोक मात्र होइन, मानौँ उसलाई ज्ञानको प्यास नै लागेको छ। त्यसो त ऋतु बदलिएर यतिबेला वसन्तबाट गृष्म सुरु भइसकेको छ। गर्मीको बेला घामसँगै प्यास पनि त चर्कै लाग्छ।
तर, संयोग भन्नुपर्छ यो गर्मीमा सँगै पौडिन उसले कोही साथी भेटाएको छ। एउटै उमेरकी साथी, एउटै खुलदुली लिएर भौँतारिएकी र उस्तै प्यासी। दुवै मिलेर नौलो ज्ञान पत्ता लगाउँछन्। मानौँ, अब ज्ञानको चरमबिन्दू खासै पर छैन। मानौँ, छुन नसकिनेगरी टाढा छैन आकास। उनीहरू आकास छुन उड्ने बादलमाथि पुगिसकेका छन् र बादलबाट त आकास अब कसो नभेटिएला?
केटोलाई अब गुरु चाहिँदैन। ऊ बुद्धको मूर्ति उठाएर आश्रम छोडेर झिसमिसेमै भाग्छ। बुद्धको मूर्ति साथमा भएपछि बाँकी बाटो उनैले देखाउनेछन्- केटोलाई यस्तै लागेको हुनुपर्छ। आखिर, उसको गुरूले पनि हरेक साँझ बिहान उही मूर्तिअघि शिर निहुराउने गरेका न थिए।
त्यहाँबाट कहाँ जाने, कसरी बाँच्ने र किन त्यसरी बाँच्ने समेत उसलाई थाहा छैन। तर, ऊ रोकिँदैन। आखिर, मदले ठाउँ लिएपछि मान्छेभित्र चेतले ठाउँ छोड्दोरहेछ।
३. बर्खा
वर्षौंपछि बर्खा यामतिर ऊ पुन: आश्रय खोज्दै बुढो भिक्षुकहाँ फर्किन्छ। जाँदा एउटा मूर्ति मात्र लिएर गएको ऊ फर्कँदा मूर्ति र चुप्पीसहित फर्किन्छ। कस्तो अचम्म है? धेरैथोक लिएर फर्किँदा पनि ऊ सबैथोक गुमाएर आइपुगेको छ! बादलबाट सायद पानी-झरी मात्र होइन, ऊ पनि धर्तीमा झरेको छ, खसेको छ, पछारिएको छ, पतीत भएको छ।
तर, यति भइसक्दा पनि उसलाई थाहा छैन कि उसको पतन भइसकेको छ। उबाट अपराध भइसकेको छ। क्रोधले उसलाई अन्धो बनाएको छ, बहिरो बनाएको छ।
खैर, क्रोधको यसमा केही दोष भने छैन। क्रोध एउटा संवेदना न हो। अपराध त संवेदनाले गर्ने होइन। अपराध त बरु संवेदनालाई उचित व्यवस्थापन गर्न नसक्नेले गर्ने हो। होइन भने त्यहाँनेर अर्को अपराध घट्न ठिक्क परेको थियो। तर, क्रोधको उचित व्यवस्थापनले त्यो अपतव्य टारिदियो। एक रातभरिमा मानौँ ऊ बेग्लै मान्छेमा बदलियो। ऊ अघिल्लो दिनको अपराधी नै रहेन। मानौँ, उभित्रको अपराधीको मृत्यु भइसक्यो। तर, सायद यो बिर्सिसकेको पाठ दोहोर्याउने बेला हो।
अपराधीको मृत्यु भइसके पनि अपराध त कहाँ मर्छ र है? अपराधको प्रायश्चित गर्नुको विकल्प जगतमा उपलब्ध छैन। अनि, प्रायश्चितबिना साधुको जन्म पनि त सम्भव छैन।
४. हिउँद
हिउँदको एउटा चिसो बिहान, हिउँले जमेको तालमा ऊ पुन: आइपुग्छ। यतिबेला उसको अनुहारमा रिस छैन, न त खुसी नै छ। गुरूलाई नदेख्दा पनि ऊ न दु:खी हुन्छ न त चकित नै! ऊ बस् तटस्थ देखिन्छ। न त ऊ गुरू अलप हुनुको कारण खोज्छ न त उनको आगमनको प्रतीक्षा नै गर्छ। ऊ बस् आफ्नो सामुन्ने भएका कुरामा मग्न भइदिन्छ। यसरी एउटा नयाँ साधुको जन्म हुन्छ। यसरी एउटा नयाँ पात्रको जन्म हुन्छ। तर, पात्र नयाँ जन्मिए पनि कथा पुरानै दोहोरिन नसक्ला र?
५. अनि फेरि वसन्त
हो, जसरी ऋतु दोहोरिरहन्छन्, जीवनजगतमा पनि एउटै कथा दोहोरिरहन्छ। वसन्त फर्किनु जगतको रीत नै हो। गल्ती दोहोर्याइरहनु र पाठ सिकाइरहनु नै जगतको धर्म। त्यसो त यो जगत नै दोषी भएन र? तर, जगतलाई त के छ र? पानीमाथि पनि ऊ त ओभानो बसेको छँदैछ। डुङ्गा चलाएर यात्रा गर्नेले पो बरु होस राख्नुपर्नेरहेछ। एकपटक पढेको पाठलाई सूत्र बनाउन पर्नेरहेछ र सम्झिरहन पर्नेरहेछ।
Shares
प्रतिक्रिया