त्यसो त अब्बास किरुस्तामीका जुनै फिल्म उठाउँदा पनि तिनलाई क्लासिक सिनेमाको सूचीमा चढाउन सुहाउँछ नै। डकुमेन्ट्री, शर्ट र फिचर्ड गरी आफ्नो जीवनकालमा ४० भन्दा बढी फिल्म उनले बनाएका छन्।
जति समय छिप्पिँदै जान्छ, उनका कामहरू उति झर्झराउँदा लाग्दै आउँछन्। ह्वेयर इज द फ्रेन्ड्ज होम?, द विन्ड विल क्यारी अस्, थ्रु दि अलिव ट्री, टेस्ट अफ चेरी, क्लोज अप, आदि उनका अति लोकप्रिय सिनेमा मानिन्छन्। यीमध्ये सन् १९९७ को टेस्ट अफ चेरी त उनलाई सोही वर्षको कान फिल्म फेस्टिवलमा पाम दोअरसमेत दिलाउन सफल फिल्म हो।
अल्बेयर कामुले भनेका छन्, ‘ जुनै पनि बेला जुनसुकै कुनामा पनि जुनै पनि व्यक्तिलाई आफ्नो अस्तित्वप्रति प्रश्न जागिदिनसक्छ। यो जीवन-जगत् सारहीन वा विसंगत लागिदिनसक्छ। र, यसका लागि कोही एक्लो हुनैपर्छ भन्ने छैन, न त गरीब नै हुन जरुरी छ। अस्तित्वको संकटलाई भौतिक स्थिति-परिस्थितिसँग केही पनि लिनुदिनु किन पो होस्?’
किरुस्तामीको पात्र मिस्टर बादी पनि अस्तित्वको संकटमा यसरी गुज्रिँदो छ कि ऊ आफैँलाई यो जीवन-जगतको चक्रदेखि मुक्त गर्न चाहन्छ। त्यसैले ऊ तेहरानको उकालै उकालो आफूलाई पुरिदिएर मर्न सहयोग गर्ने मान्छेको खोजीमा उक्लन्छ।
त्यो धुलाम्मे बाटोमा ऊ आफ्नो रेन्ज रोभर हुइँक्याउँदै आफूलाई आत्महत्या गर्न सहयोग गर्ने मान्छेको खोजीमा निस्किएको छ। निकै मोटो इनामको रकमसहित। कति गरीबहरू धन कमाउन नसकेकै कारण आफूलाई दु:खी सम्झिँदा हुन्।
यस्तोमा, मिस्टर बादीलाई मर्न के कुराले धकेलेको होला है? आखिर यो धनी मान्छे के कारण मर्न चाहँदो हो? हुन त मर्नका लागि संसारमा कारणको के कमी होला र? तिनैमध्ये कुनै एक, दुई वा धेरै कारण हुँदा हुन् उसका पनि!
मुख्य पात्रमा होमायुन इरसादीलाई पछ्याउँदै होमायुन पेभरले खिचेको यो फिल्ममा भनिन्छ- किरुस्तामी कदम-कदममा साथै थिए।
पटकथासमेत आफैँ लेखेका उनले यसको सम्पादन पनि आफैँले गरेका हुन्। घरी-घरी बिसाउने गरे पनि मिस्टर बादीको रेन्ज रोभर फिल्मभरि लगातार गुडिरहन्छ।
जब ऊ मर्ने मुडमा हिँडिरहेको हुन्छ किरुस्तामीले धुलैधुलो रोडमा उसलाई कुदाएका छन्, कच्ची बाटोमा दौडाएका छन्, भीर-पाखातिर पुर्याएका छन्। जहाँ कुनै बस्ती छैन। जहाँ गरीबहरू, मजदुरहरू मात्र भेटिन्छन्। जहाँ फोहोर टिपेर गुजारा गर्न बाध्य मानिसहरू मात्र भेटिन्छन्। जहाँ बच्चाहरू छरपस्ट भएर चलिरहेका छन्, एक अर्कालाई तुच्छ देखाउँदै, फोहर गाली गलौज गर्दै।
तर, एउटा बिन्दुमा पुगेर उसमा जीवनप्रति मोह पलाउन थाल्छ, जगतसँग ऊ आकर्षित हुन थाल्छ जब ऊ धुलाम्मे बाटोलाई पर छोड्दै हरियालीतिर मोडिन्छ। कच्ची सडकलाई पछाडि छोडेर पिच सडकमा गुड्दै गर्दा ऊ मृत्युदेखि तर्किन थाल्छ। यो हरियाली बाटोबाट गुज्रिँदै गर्दा उसले बस्तीहरू भेट्छ।
एकार्कालाई उछिन्न हतार नगरेर, लाइनमा लस्करै मिलेर हिँडिरहेका स्कुले विद्यार्थीहरू देख्छ। सफा र चिटिक्क ज्ञानी बच्चाहरू! जीवन मनाउन हिँडेका एक जोडी दम्पती त उसैसँग आफूहरूको फोटोसमेत खिचाइ माग्छन्। साँच्चै, भर्खरै अघिसम्म मर्न हिँडिरहेको मान्छेले क्यामराको लेन्सभित्र एउटा प्रेमिल जोडीलाई कैद गर्दैगर्दा कस्तो अनुभूति गर्दो हो है?
यसलाई यिनयाङ फर्मुला भनूँ या कन्ट्रास्ट? जे होस्, जीवन र मृत्युलाई प्रतीकात्मक रूपमा योभन्दा प्राकृतिक रूपमा सायदै देखाउन सकिन्छ। त्यसो त यहीँनेर किरुस्तामीले कति जीवन्ततासहित आइरनी पनि प्रयोग गरेका है? त्यो जोडीको फोटो खिचिसक्नासाथ ऊ गाडी मोडेर म्युजियमतिर दौडिन्छ नि!
तब उसको हतार देखेर कसैले प्याच्च भनिदिन्छ- 'मर्न खुबै हतार छ क्या हो यसलाई!'
तर, यति बेलासम्म त उसलाई बाँच्न हतार भइसकेको थियो। कतै आफू मरेपछि पुरिदिने मान्छे छैन भन्ने सम्झिएरै मर्न मन लागेको त थिएन उसलाई? र, त्यो मान्छे भेटिएपछि मानौँ अब मर्नुपर्ने कारण नै रहेन!
कारण त त्यसै नहोला, तर कहिलेकाहीँ दृश्य फेरिँदा मात्र पनि निर्णय फेरिन्छन्। दृष्टिकोण फेरिँदा मात्र पनि समस्या बिलाइजान्छन्। फिल्मलाई चेरी मान्ने हो भने किरुस्तामीले आफ्नो घरको बगैँचा (इरानको तेहरान)मा फलाएको यो चेरीको स्वादलाई अमिलो भन्ने कि दार्शनिक? गुलियो भन्ने कि मनोवैज्ञानिक ? सायद, दुवै भन्नुपर्ला है!
खै र, बादीकै कुरा गरौँ। उसले आत्महत्या गर्न तीन जनासँग सहयोग माग्यो। पहिला एउटा जवान फौज जो कतैबाट आफ्नो ब्यारेक फर्किँदै थियो। मिस्टर बादीको आत्महत्या गर्ने योजना सुनेर फौजी तालिम लिँदै गरेको त्यो तन्नेरी ठिटोको सातो नै जान्छ।
मौका पाउनासाथ ऊ गाडीबाट ओर्लिएर तुफानजसरी भाग्छ। त्यसपछि उसले अलि वयष्क मान्छे फेला पार्छ। जो अघिल्लो ठिटोजस्तो गाडीबाट ओर्लिएर त भाग्दैन। तर, आत्महत्या गर्नु अपराध भएको भन्दै आफू त्यसको हिस्सा बन्न नचाहेको कुरा प्रस्ट पार्छ।
त्यस्तो तुच्छ निर्णय त्याग्न सुझाव पनि दिन्छ। तर, बेखुस भएर बाँचिरहनु आत्महत्या गर्नुभन्दा ठूलो अपराध मान्छ बादी। उसलाई त्यो युवकको भाषणमा कुनै दिलचस्पी जाग्दैन। हुन पनि विरक्त मानिसलाई अर्ति उपदेशले छुँदैन। ऊ अर्को मान्छे खोज्न हिँड्छ जो यस्तो आर्थिक अभावमा होस् जसले पैसाका लागि आँखा चिम्लिएर जस्तोसुकै काम पनि गर्न सकोस्!
उसले तेस्रो वा भनूँ अन्तिम मानिस भेटाउँछ। एउटा पाको ट्याक्सिडर्मिस्ट। जसको एउटा सानो छोरो एनेमियाका कारण मर्ने अवस्थामा छ। उसलाई आर्थिक अभाव मात्र होइन आर्थिक आवश्यकता नै छ। अभाव मात्र हुनु र आवश्यकता नै पर्नुबीच सायद केही अन्तर ठूलै रहेछ कि? मलाई त त्यस्तै लाग्यो।
खै र, यो पाको मान्छे भने मिस्टर बादीलाई मर्नका लागि सहयोग गर्न सहमत हुन्छ। तर, ऊ बादीले खोजेजस्तो पैसाका लागि जे पनि गर्ने मान्छे भने होइन। उसले पैसाका लागि होइन, आफ्नो छोरोको जीवनका लागि कसैको मृत्युको हिस्सा बन्न सहमति जनाएको हो।
ती तीन जनामध्ये सबैभन्दा पाको उमेरको मान्छे नै थियो जसले आत्महत्या गर्न उसलाई सघाउने भयो।
तर, तीन जनामध्ये त्यो त्यही पाको मान्छे नै भयो जसले बादीको मर्ने सोचलाई बदल्न सक्यो। उमेर र अनुभव भन्ने कुरा वास्तवमै केही हुन्। त्यो पाको मान्छे पहिलो ठिटोजसरी आत्महत्याको योजना सुनेर तर्सिएन। किनभने, ऊ स्वयंले मृत्युलाई नजिकबाट देखिसकेको छ।
अनि, त्यो वयष्क युवकजसरी सही र गलतको धर्मसंकटले पनि उसलाई विचलित गराएन। त्यसो त बाँच्नुमा जुन रस छ, रमाइलो छ त्यो मर्नुमा छैन भन्ने विश्वास राख्छ बूढो। तर, आफ्नो विश्वास, आफ्नो धारणा ऊ आफैसँग राख्छ। बादीमाथि लाद्न वा थोपर्न खोज्दैन।
त्यसैले पनि होला बूढोको कुरो बादीलाई अघिल्लो युवकले सम्झाउन खोज्दा लागेझैँ भाषण लाग्दैन, झर्को लाग्दैन। त्यसोभए त मान्छेलाई फरक मत पचाउन गाह्रो नहुने रहेछ कि क्या हो है? खाली आफूप्रति गरिने ज्यादती अपाच्य लाग्ने रहेछ। आफ्नोभन्दा विपरीत नै किन नहोस् तर, उसलाई बूढोको कुरोले तान्छ। चासो लुकाएको हुँदो हो तर बूढोको कुराप्रति उसको चाख उसका आँखाहरूबाट लुक्दैन।
उनीहरूबीचको संवाद पनि कति गहिरा र प्रतीकात्मक लाग्छन्। बूढोले नयाँ बाटो मोड्न भन्छ। ऊ भन्छ- ऊ त्यो बाटो चिन्दैन। बूढो भन्छ- वर्षौं भो म यो बाटो हिँडिरहेको!
म चिनाउँछु तँलाई! सायद, ख्यालैख्यालमा मर्न हिँडिरहेको मिस्टर बादीसँग उसले भनिरहेको होस्- 'मृत्युको मुखबाट फुत्किएर फर्किएको मान्छे हुँ। जीवनको बाटो म देखाउँछु तँलाई।'
साँच्चै, मर्न भनेर पासो कस्दै गर्दा रसिलो फल फेला परिदियो भने? खाएरै मर्छु भनिएला नि है? अनि खाइसकेपछि? जे होस्, बूढो कसिलो पासोसँग बिदा मागेर एक अंगालो रसिलो फल बोकेर घर फर्किएछ। तर, बादी मर्नै चाहन्छ भने ऊ नमर् भन्दैन।
जीवनको मूल्य जानिसकेको ऊ एउटा अनुभवी मान्छे। आखिर, कुनै अपरिचित बटुवालाई मर्न सहयोग गर्दा आफ्नो बच्चाको ज्यान बच्छ भने कोही किन सहयोग नगरोस्? बूढो दृढ देखिन्छ। वचनको पक्का देखिन्छ।
तर, अब बादीलाई रसिलो फलको स्वादले सताउन थाल्छ। मरेपछि त उसले कहिल्यै फेरि चेरीको रसिलो स्वाद लिन पाउनेछैन। बिहानको सुनौलो सूर्योदय, साँझको गोधूली सूर्यास्त अनि रातिको चाँदनी जून!
के अब ऊ कहिल्यै ती कुरा हेर्न चाहँदैन? बूढो त खुसी खुसी कामतिर गइसक्यो। भोलि बिहान आफ्नो काम भ्याएर पैसा बोकेर ऊ आफ्नो छोरोको उपचार गर्न जानेछ। जीवन बाँच्नेछ। सूर्यास्त हेर्नेछ। चेरीको स्वाद लिनेछ। अनि ऊचाहिँ?
उसले भनेको थियो- 'म आफूसँग भएभरको स्लिपिङ पिल्स खाएर खाल्डोमा सुतिरहेको हुनेछु। बिहानै ६ बजे आउनू, मिस्टर बादी भनेर दुईपटक बोलाउनू। जवाफ आयो भने हात दिएर तान्नु आएन भने पुरिदिनू।'
उसलाई आफ्नै निर्णयसँग डर लाग्छ। तब हतार हतार नामसमेत नसोधेरै छुट्टिएको बूढोलाई खोज्दै ऊ म्युजियम पुग्छ। र, आफ्नो निर्णय सच्याउँदै भन्छ- 'जवाफ नआउनेबित्तिकै पुर्न थाल्लास् नि फेरि! म निदाएको मात्र पनि हुनसक्छु। घोचेर उठाउनू नि!'
आखिर चेरीको स्वाद सम्झिसकेपछि कसलाई मृत्युको भोक लागिरहँदो हो? त्यो रात ऊ चाँदनी जून हेर्दै निदाउँछ। या निदाउँदैन? खै र, रात सकिन्छ। नयाँ बिहान उघ्रिन्छ। फौज गस्ती मार्छ उसैगरी। जिन्दगी चलिरहन्छ उसैगरी।
आहा! क्लाइमेक्स। कथा पनि कविताजसरी भन्न कोही किरुस्तामीसँग सिकोस्!
साँच्चै, त्यसपछि के भयो होला? यति त स्पष्टै छ, मर्न भनी हिँडेको मान्छेले एउटा भर पर्दो साथी कमायो।
त्यसपछि, साथीको छोरोको उपचार गर्न उसले पक्कै पनि सहयोग गर्यो होला। अनि रेन्ज रोभरमा बसेर उनीहरू चेरी खोज्न निस्किए होलान्! ओपन इन्डिङको मज्जा कल्पना गर्नुमै त हुन्छ। कि कसो?
Shares
प्रतिक्रिया