लायन्सगेट इन्टर्टेनमेन्टले द हङ्गर गेम्स (टीएचजी) युनिभर्समा ८ वर्षपछि एउटा नयाँ सिनेमा तर पुरानो कथा थपेको छ। द हङ्गर गेम्स: ब्यालेड अफ सङबर्ड्ज एन्ड स्नेक्स नाम दिइएको यो प्रिक्वेल अमेरिकन उपन्यासकार सुजेन कोलिन्सको उपन्यासमा आधारित रहेर बनेको टीएचजी युनिभर्सको पाँचौं फिल्म हो। त्यसो त, पाँचौं फिल्म भइकन पनि प्रिक्वेल भएका कारण नयाँ दर्शकलाई पनि कथाले उत्तिकै बाँधेर राख्नसक्छ।
भन्ने नै हो भने त पुराना दर्शकलाई भन्दा फिल्मले नयाँ दर्शकलाई बढी मज्जा दिनसक्छ। किनभने, पुराना दर्शकलाई पात्रहरूको भविष्यबारे पूर्वजानकारी हुन्छ जसले फिल्मलाई प्रेडिक्टेबल बनाइदिन्छ। फिल्मले यहाँनेर पहिलो जोखिम उठाएको छ। यद्यपि, पुराना दर्शकका लागि पनि फिल्मले केही कुरा भने विशुद्ध नयाँ दिएको छँदैछ। र त्यो हो नयाँ पात्र- लुसी ग्रे बेयर्ड! नयाँ पात्र ल्याएर उसलाई पुरानो पात्र हो भन्ने देखाउन सक्नु चानचुने कुरो भने होइन। फिल्मले दोस्रो जोखिम यहाँनेर उठाएको छ।
खैर, फिल्मले तमाम जोखिम उठाएर आखिर के भन्न खोजेको हो? फिल्मले सुनाउने कथा के हो? यो कथा सन् २०१२ देखि २०१५ सम्म हरेक वर्ष आएका अन्य ४ कथासँग जोडिन्छ कि जोडिँदैन? यो कथा र ती कथा आखिर समानान्तर बग्छन् कि कतै ठोक्किन्छन् पनि? आउनुस्, आज हामी पानेमको क्यापोटोलमा हुने टेन्थ हङ्गर गेममा सहभागी हुँदै यी प्रश्नको जवाफ खोजौँ।
१. हङ्गर गेम्सको डिस्टोपियन इतिहास
युद्धले ध्वस्त उत्तर अमेरिकामा जब एउटा नयाँ राज्य 'पानेम' स्थापित हुन्छ तब उसको राजधानी हुन्छ- क्यापिटल। पानेमका १३ जिल्लाले क्यापिटलका विभिन्न आवश्यकता पूर्ति गर्ने गर्छन्। सत्ता र शक्ति आफ्नो हातमा भएको क्यापिटलले पानेमका हरेक जिल्लालाई एउटा-एउटा क्षेत्रको जिम्मेवारी तोकिदिन्छ। आफू सत्ता र शक्तिमा रहिरहन क्यापिटलका सामन्तहरूले 'द हङ्गर गेम्स' नामक रियालिटी शो सञ्चालन गर्छन्। जसमा हरेक जिल्लाका दुई-दुईजना बच्चाहरूलाई भोको राखेर एक-अर्कासँग लड्न र काटामार गर्न लगाइन्छ। भोको पेटको मान्छे जति क्रुर आखिर को हुनसक्ला? यही कुरा जानेको क्यापिटलले हरेक जिल्लालाई एक-अर्काको दुश्मन मात्र बनाइरहेको थिएन बरु प्रत्येक जिल्लाका बलिया र चंख युवाहरूलाई खेलको नाममा बलीको बोका बनाइरहेको पनि थियो।
के क्यापिटलको यो चतुर्याइँ जिल्लावासीले कहिल्यै नबुझ्लान्? बुझेर पनि विद्रोह गर्न सक्लान्? विद्रोह गरिहाले भने पनि के पार पाउन सक्लान्? कि एउटा सामन्तको मृत्युपछि अर्को सामन्त जन्मिन तम्तयार छ? यो खेलको अन्त्य कहिल्यै सम्भव होला? यो जान्न भने हङ्गर गेम्सका फिल्म सिरिजहरू सबै हेर्नुपर्ने हुन्छ। तर, अहिलेलाई भने लागौँ टेन्थ हङ्गर गेम्सतिरै।
२. टेन्थ अनुअल हङ्गर गेम्स र डिस्ट्रिक्ट ट्वेल्भ
'डिस्ट्रिक्ट ट्वेल्भ'का जिल्लावासीहरू खानीको काम गर्छन्। सबैभन्दा बढी मजदूरी लाग्ने काम गरे पनि न्यूनतम आम्दानी हुने हुँदा डिस्ट्रिक्ट ट्वेल्भ सबैभन्दा गरीब र कमजोर कहलिन्छ।
दसौँ वर्षमा आइपुग्दा क्यापिटलको हालखबर पनि उति ठीक छैन। रियालिटी शोका दर्शक सङ्ख्या घटिरहँदा दान, अनुदानमा कमी आइरहेको छ। त्यसैले यो साल विजयी हुने ट्रिब्युटको मेन्टरलाई दिइने पुरस्कारको रकम काटिएको छ। क्यापिटलबाट कोरियोल्यानस स्नो त त्यही रकमको लोभमा मेन्टर हुन गेम्समा सहभागी भइरहेको थियो। युद्धमा बाबु र आमा दुवै गुमाएको स्नोका लागि यो खबर कति दु:खद लाग्यो होला सोच्नुस् त? त्यहीमाथि उसले जिताउनुपर्ने ट्रिब्युट उही सबसे गरिब, फोहोरी र कमजोर जिल्लाबाट परिदिन्छे! धनी देखिन र क्यापिटलका साथीहरूको माझमा गनिन-चुनिन उसले हरेक दिन संघर्ष गर्नुपरिरहेको छँदैछ। यस्तोमा स्नोले अब के गर्ला?
३. लुसी ग्रे र कोरियोलेन्स स्नो
लुसी ग्रे- जो लड्नभिड्न जान्दिन। बरु गीत मीठो गाउँछे। भाला, बन्चरा, तरबार, डण्डा, सिसा जे भेट्यो त्यसैले निर्ममसँग प्रहार गरेर पनि आफ्नो ज्यान जोगाउनुपर्ने स्थितिमा लुसी भने आफ्नो परिचय गीत गाएर दिन्छे। गितार बजाउँदै, नाच्दै, गाउँदै हिँड्ने गरेकी उसले हतियार उठाउन जानेकै छैन।
यसका बाबजुद खै के देख्छ कुन्नि उसमा कोरियो जसैगरी जिताउँछु भन्ने विश्वासले ऊ लागिपरेको छ। साँच्चै, जिताउला कि नजिताउला त? यसको जवाफ खोज्ने जिम्मा भने तपाईंकै भयो है त।
४. लुसी ग्रे- गिताङ्गे चरी कि बिखालु सर्प ?
त्यसो त फिल्मको नाम नै ब्यालेड अफ सङबर्ड्ज एन्ड स्नेक्स भएपछि तपाईंले अनुमान त पक्कै लगाउनुभएको होला कि दुईमध्ये एक गीत गाउने चरी हुनुपर्छ अनि अर्कोचाहिँ सर्प ! त्यसोभए लुसी ग्रे सङबर्ड होली कि सर्प? आउनुस् यो प्रश्नको जवाफ भने साथै मिलेर खोजौँ।
फिल्ममा एउटा दृश्य छ जब डाक्टर गल आफ्नो 'विध्वंशको इन्द्रेणी' हङ्गर गेम्सको बन्द सेटभित्र खसाल्ने उद्घोष गर्छे। तब हजारौं रङ्गी बिरङ्गी सर्पहरू सेटभित्र सलबलाउन थाल्छन्। सेटभित्र ट्रिब्युटहरूको भागाभाग चल्छ, रुवाबासी चल्छ। तर, भागेर कहाँ पो जाने? लुसी ग्रे त भाग्न पनि जान्दिन। उसले जानेको एउटै कुरा गीत गाउनु हो। ऊ गीत गाउन थाल्छे। सर्पहरूले उसलाई बेर्छन् तर डस्दैनन्।
किन?
डाक्टर गल आँखा तरेर कोरियोलाई हेर्छे किनभने सर्पहरूले कस्तो अवस्थामा कसलाई किन डस्छन् र कस्तो अवस्थामा कसलाई किन डस्दैनन् यो कुरा तमाम मेन्टरमध्ये कोरियोलाई मात्रै थाहा थियो। कोरियोले गरेको बदमासीको गन्ध डाक्टर गल यसै थाहा पाउँछे। हो, कोरियोले लुसीलाई सर्पहरूबाट बचाउन चतुर्याइँ गरेकै हो। जसको सजाय समेत उसले पाउँछ, भोग्छ।
खैर, लुसीलाई आखिर सर्पले नडस्नुको कारण कोरियोको चतुर्याइँ मात्रै हो त? या उसको गीतमै त्यति शक्ति छ, सर्पलाई समेत लठ्याउन सक्ने?
५. द ब्यालेड अब सङ्बर्ड्ज एन्ड स्नेक्स
कोरियो आफ्नो चतुर्याइँले काम गरेको देखेर खुसी छ। तर, सम्झिनुस् त, चतुर्याइँको असर खत्तम हुन लागेकोले डराइरहेको पनि त छ। अनि, डाक्टर गल त्यही बुझेर समय लिइरहेकी पनि छे। हेरौँ कतिञ्जेल यसको गीतमा लठ्ठिँदारहेछन् सर्पहरू! डाक्टर गलले यसो भन्दै गर्दा कोरियोको अनुहारको रङ उडेको पनि त हो। त्यति हुँदाहुँदै पनि लुसीलाई केही नहुँदा ऊ दंग परेको पनि त हो। तर, सम्झिनैपर्ने अर्को कुरा, लामै समयसम्म पनि लुसीलाई सर्पहरूले केही नगर्दा कोरियो आफै अचम्ममा परेको पनि त हो नि! लुसीलाई हेर्ने कोरियोको नजर फेरिन खोजेको हो।
हङ्गर गेम्सको सुरुवातको दिन लुसीले स्टेज उक्लिनुअघि गरेको हर्कत सम्झिनुस्। कसरी मडको लुगाभित्र सर्प छिराइदिएकी थिई! खैलाबैला मच्चिएको थिएन? सर्पसँग खेल्न त ऊ पहिल्यैदेखि माहिर थिइन र? अनि, उसको अबोध अनुहारसँग ठ्याक्कै नमिल्ने उसको त्यो हठी आवाज... किन मुस्कुराएको थियो आखिर कोरियो उसलाई देखेर? उभित्र केही त पक्कै छ भन्ने आत्मविश्वास भरिन लुसीमा उसले के देखेको थियो त्यस्तो?
वास्तवमा लुसी त्यति कमजोर कहिल्यै थिइन जति देखिन्थी। बस्, समस्यासँग जुध्ने उसको तरिका बेग्लै थियो। खुलेरै भन्नुपर्दा आफू नजुधी अरूलाई जुधाएरै समस्याबाट मुक्त हुने लुसीको काइदा रहस्यमयी हो। माथिका दुवै प्रश्नको जवाफ सायद एकैठाउँमा आइपुगेर भेटिएका छन्। हो, ऊ निसन्देह नै गीत गाउने चरी हो। त्यस्ती सङबर्ड जो सर्पजस्तो बिखालु प्राणीलाई समेत आफ्नो बगलीमा लिएर हिँड्नसक्छे। आफ्नो आवाजले मन्त्रमुग्ध पारिदिनसक्छे। अब यहाँनेर अर्को प्रश्न जन्मिन्छ- के त्यसोभए सङबर्डले आफ्नो गीतको इसारामा नचाउन सक्ने त्यो सर्प कोरियो नै हो त?
६. क्लियोपेट्रा एन्ड कोरियोलेनस
त्यसो त हङ्गर गेम्समा क्लियोपेट्रा छैन। तर, इतिहास खोतल्दा क्लियोपेट्रा इजिप्टकी एक विश्वप्रसिद्ध रानी हो। लुसी ग्रे रानी त होइन, तर रानी हुनलाई जस्तो गुण चाहिन्छ त्यो उसमा देखिन्छ।
कोरियो लुसीलाई भन्छ, 'तँ अझै धेरै गीतहरू गा।
दर्शकको मन जित्। दर्शकले मन पराउने सहभागीलाई बचाउन सजिलो हुन्छ।' जवाफमा लुसी भन्छे, 'म कसैले गा भन्दैमा गीत गाउने मान्छे होइन। म तब गाउँछु, जब मसँग भन्नलाई केही कुरा हुन्छ।' भलै ऊ सबैभन्दा हेपिएको जिल्लाबाट आएकी होस् तर उसमा स्वाभिमान र आत्मसम्मानको चेत क्यापिटलवासीको भन्दा चर्को छ। क्लियोपेट्राजस्ता रानीमा हुनेगरेजस्तै।
क्लियोपेट्राको महिमा र इतिहासमाथि धेरै फिल्म बनिसकेकै छन्। चाहे तपाईं एलिजाबेथ टेलरको क्लियोपेट्रा हेर्नुस्, चाहे भिभियान लिग वा मोनिका बेलुचीको क्लियोपेट्रा हेर्नुस्। सबै क्लियोपेट्रामा पाइने समान कुरा हो सर्प र डार्क मेकअप। सर्प अर्थात् शक्ति, डार्क मेकअप अर्थात् रहस्य।
सर्पले लुसीलाई नडसेको त्यो दृश्यपछि लुसी र कोरियोको पुन: भेट हुने नहुने निश्चित थिएन। कोरियोले लुसीलाई जिताउन गरेको बदमासीपछि सजाय पाएको थियो। भेट हुने नहुने त्यो अनिश्चितकालीन अवस्थामा अचानक लुसी भेटिन्छे डार्क मेकअप र डार्क गेटअपमा। तर, अब भेट भइरहने निश्चित भइसकेपछि भने लुसी
पुरानै साजसज्जामा, पुरानै किसिमका लवाइमा देखिन थाल्छे। अर्थात् लुसी वास्तवमा जे हो, कोरियोका सामु त्यस्तै देखिन ऊ चाहन्न।
रहस्यले सधैँ र सबैलाई आकर्षण गर्छ। लुसी आखिर कस्ती स्त्री हो? प्रश्नले कौतुहलता जन्माउनु स्वाभाविक पनि हो। तर, अब सर्पको कुरा गरौँ। सर्प अर्थात् शक्ति। लुसीमा यदि रानीको जस्तो चेत छ भने कोरियोमा पनि सर्पको जस्तो स्वभाव छ। कोरियो मेन्टर हो, क्यापिटलबाट आएको, जो शक्तिसँग प्रत्यक्ष जोडिएको छ। लुसी जो रानी-महारानीको जस्तो चेत लिएर हिँड्छे ऊ योबारे सचेत छे। त्यसैले लुसी कोरियोलाई आफ्नो सिपाही जसरी व्यवहार गर्छे। पहिलो भेटमै ऊ कोरियोलाई अर्डर दिन्छे- 'केही खानेकुरा लिएर आइज अर्कोपटक आउँदा।' रानीको आदेश सिपाहीले कसरी अटेर गर्नक्छ? आखिर, उहिले उहिले कोरियोलेनस एक प्रसिद्ध रोमन सिपाहीको नाम पनि त हुनेगर्थ्यो।
तर, सर्पको अर्थ सधैँ शक्ति मात्रै पनि हुँदैन। सर्पको अर्थ स्वार्थी र विश्वासघाती पनि त हुन्छ। नेपालीमा त उखान नै छ नि- दूध नै खुवाए पनि सर्प आफ्नो हुँदैन!
७. सुजेनको उपन्यास, वर्ड्जवर्थको कविता
वास्तवमा रहस्यको कुरा जति गरेर पनि सकिँदैन। लुसी पनि त आखिर एक रहस्य नै त हो। त्यसैले आउनुस् एकैछिन फिल्मको पर्दाभन्दा बाहिर बसेर कुरा गरौँ। द हङ्गर गेम्सकी उपन्यासकार सुजेनले लुसी ग्रेलाई कथामा कहाँबाट ल्याइन् त?
सन् १७९९ मा ब्रिटिस कवि विलियम वर्ड्जवर्थवर्थले एउटा कविता लेखेथे जहाँ एउटी बच्ची हिउँमा रहस्यमयी ढंगले हराएकी हुन्छे। जब अँध्यारोमा आमाको साथी गर्दै हिउँमा ऊ निस्किएकी हुन्छे तब अचानक ठूलो हिमआँधी आइलाग्छ र जब आँधी थामिन्छ ऊ त्यहाँ हुन्न। बाबु र आमा दुवै मिलेर उसलाई खुब खोज्छन्। हिउँमा उसका पदछाप त देखिन्छन् तर २-४ पाइलापछि कुनै पदछाप हुँदैनन्। त्यो क्षणपछि हराएकी त्यो बच्चीलाई कहिल्यै दोहोर्याएर कसैले देख्दैनन्। यसरी लुसी ग्रे नामकी त्यो बच्ची रहस्य बनेर हराउँछे।
के ऊ आँधीसँगसँगै आकाशमा उडेर अर्कै दुनियाँमा पुगी? कतै ऊ चरा बनेर आकाशमा गीत गाउँदै त हिँडिन? यो फेरि सुजेनको कल्पना हो। वर्ड्जवर्थको रहस्यमयी लुसी ग्रेलाई सुजेनले सङबर्ड कल्पना गरेर आफ्नो उपन्यासमा भित्र्याइन्। र त्यसलाई निर्देशक फ्रान्सिस लरेन्सले सुजेनको कल्पनाजस्तै अमूर्त ढंगले मूर्त रूप दिए।
८. मकिङबर्ड एन्ड मकिङजे
लुसी ग्रे तालछेउबाट क्याटनिस (पानीमा फल्ने एक किसिमको आलु) लिएर आउँछु भन्दै निस्किएकी थिई। तर, लुसीको पछि लागेको कोरियोले आफैले उपहारमा दिएको सुनौलो पछ्यौरी र सर्पको डसाइबाहेक केही पनि भेट्दैन। तर, आकाशतिरबाट आवाज आउँछ- लुसी गीत गाइरहेकी हुन्छे ... के ऊ वास्तवमै गीत गाउने चरी थिई? के ऊ चरी बनेर आकाशमा उडेकी नै हो त?
साँच्चै, तपाईंलाई याद छ कि छैन, क्यापिटलले जासुसीका लागि चरा बनाएको थियो नि- ज्याबरजे! भनिन्छ पछि तिनलाई जंगलमा छोडियो र तिनले मकिङबर्डसँग संसर्ग गरेर मकिङजे जन्माए रे।
मकिङबर्ड? यो पनि त एक खालको सङबर्ड नै हो त! कतै लुसी ग्रे मकिङबर्ड पो थिई कि? र कुनै ज्याबरजेसँगको संसर्गबाट कुनै मकिङजे पो जन्माई कि? ओहो, ७५ औं हङ्गर गेम्समा डिस्ट्रिक्ट ट्वेल्भबाटै लड्ने केटीको नाम पनि त क्याटनिस नै होइन? साच्चै, ऊसँग मकिङजेको पिन कहाँबाट आयो? उसले लुसी ग्रेको गीत कसरी गाई?
आफ्नी आमा र बहिनीको जस्तो नभएर उसको केस लुसी ग्रेको जस्तो कालो किन छ? उसलाई सबैले मकिङजे किन भन्छन्?
साँच्चै, लुसी ग्रेको नामले खरानी सम्झाउनु र कोरियोलेनस स्नोको नामले हिउँ सम्झाउनु एउटा संयोग मात्रै होला त? तर, हिउँ पगाल्न खरानीभन्दा पहिला आगो चाहिन्छ। कतै क्याटनिस खोज्न लुसी ग्रे त्यही कारण निस्किएकी त होइन?
लुसीको अभिनय र गायन एक साथ निभाएकी रेचल जेग्लर, स्नोको भूमिकामा राम्रै जमेका टम ब्लाइथ, कास्का हाइबटमको बटमलाइन पार गरेका पिटर डिंकलेजको अभिनय त सम्मोहनकारी छँदैछ नै। साथै, बिम्बमा खेल्नसक्ने सुजेनकै लागि मात्र पनि हङ्गर गेम्स एउटा घुम्नलायक युनिभर्स बनिदिएको छ।
Shares
प्रतिक्रिया