सिनेम्याटिक युनिभर्समा फिल्म बनाउने प्रचलन भारतमा नयाँ होइन। तर, यशराज फिल्म्सले एकै वर्ष आफ्नो स्पाइ युनिभर्सबाट दुईवटा चलचित्र लगातार दिएको छ। केही महिनाअघि शाहरूख खान अभिनित 'पठान' र हाल सलमान खान अभिनित 'टाइगर थ्री'।
वाईआरएफ स्पाइ युनिभर्सको पाँचौँ भाग टाइगर थ्री सन् २०१२ को 'एक था टाइगर' र सन् २०१७ को 'टाइगर जिंदा है' को सिक्वेल पनि हो।
एक्सन थ्रिलर यो फिल्मको एक्सन मजेदार नै लाग्छ। एक्सनकै लागि फिल्म हेर्न पुगेका दर्शकहरूलाई राम्रै खुराक दिन्छ फिल्मले। तर, विश्वसनीयता खोज्दै फिल्म हेर्ने दर्शकलाई भने कतिपय ठाउँमा मुख्य पात्रलाई मुख्य देखाउने प्रेसरकै कारण दृश्य त्यसरी बुनिएका हुन् कि जस्तो लाग्नसक्छ। स्पोइल नगरी भन्नुपर्दा पुलमाथिको त्यो एक्सन अतिरञ्जित लागिदिन्छ।
एक्सन थ्रिलर भएपनि फिल्मको कथा भने मिस्ट्री ड्रामामा आधारित छ। जसकारण फिल्ममा एकपछि अर्को ट्विस्टहरू आइरहन्छन्। ट्विस्टका पाना केही ठाउँमा यति छिटोछिटो पल्टिदिन्छन् कि दर्शक पात्रको काँधमा काँध मिलाएर दौडिनै भ्याउँदैन। 'ए, यस्तो पो रहेछ' भनिसक्दा 'होइन, त्यस्तो पो हो?' भन्नुपर्दा दर्शकले पात्रसँगसँगै नभएर पात्रको पछिपछि कुद्नुपर्ने हुन्छ। अर्को शब्दमा भन्नुपर्दा पात्रलाई भेटाउन दर्शकले दौडिनैपर्ने हुन्छ।
विशेषगरी पहिलो हाफमा सस्पेन्स अझै केही समय लम्ब्याउन सकेको भए दर्शकको कुतूहल र कथाभित्र उत्पन्न हुने द्वन्द्व दुईगुणा बढाउन सकिन्थ्यो कि?
कुन देशको त नभनिहालौँ तर झण्डाको रंगलाई पात्रहरूले फिल्मका संवादहरूमा प्रतीकात्मक रूपमा आ-आफ्नो तरिकाले अर्थ्याउनु काव्यिक लाग्छ।
कथाको कुरा गर्नुपर्दा पारिवारिक कथा भनेजस्तो गर्दै फिल्मले अन्तर्देशीय कथा सुनाएको छ। अर्को शब्दमा भन्नुपर्दा टाइगर थ्री एउटा राजनीतिक साथै कूटनीतिक फिल्म हो। फिल्मले पकिस्तानका लागि भारतबाट नभएर पकिस्तानबाट नै खतरा छ, बरू भारत त पाकिस्तानप्रति सकारात्मक र सहयोगी भाव राख्छ भन्ने सन्देश दिएको छ। पाकिस्तानीका लागि भारतीयले र भारतीयका लागि पाकिस्तानीले ज्यान दिनु व्यक्तिगत स्वार्थ र भूगोलभन्दा माथि उठेर मानवता र नैतिकताको पक्षमा वकालत गर्नुले फिल्मलाई कूटनीतिक बनाएको छ।
त्यसो त फिल्ममा पाकिस्तानभन्दा भारतको त्याग ठूलो देखाइएको छ। जुन त्यागका लागि पाकिस्तानले भारतलाई राम्रै सलामी पनि दिन्छ। भारतीय दर्शकका लागि गौरवको यही पाटो अन्य दर्शकका नजरमा भने अतिरञ्जनाभन्दा बढी केही पनि नहुनसक्छ। यसरी पाकिस्तानभन्दा भारतको गरिमा व्यापक देखाइनुले फिल्म राजनीतिक बनेको छ।
खैर, देशभक्तिको नजरबाट हेर्ने हो भने भारतीय सिनेमाले भारतकै गुनगान गाउनु र भारतलाई माथि राख्नु स्वाभाविक पनि हो।
फिल्मको सिनेम्याटोग्राफी र ब्याकग्राउन्ड स्कोरले दर्शकलाई बाँधेरै राख्नेछन्। डायलग पनि केही रोचक छन् भने केही रोचक हुनुका साथसाथै सन्देशमूलक समेत छन्। उदाहरणका लागि इमरानले बोल्ने र कट्रिनाले दोहोर्याउने डायलग कथा सुहाउँदो त लाग्छ नै साथै दर्शकले पनि एउटा राम्रो सन्देशका रूपमा त्यसलाई लिइदिनेछन्।
अभिनयमा सबैले राम्रै काम देखाएका छन्। रोमान्सबाट एक्सनमा हाम फालेका इमरान अझै खुलेर एक्सनमा देखिउन् भन्ने दर्शकले चाहनेछन्। एक्सनमा दर्शकले रुचाउने बलिउडका थोरै महिला कलाकारमध्ये कट्रिना एक हुन्। यस्तै, 'टाइगर'लाई सलमान र 'पठान'लाई शाहरूखले भन्दा ज्यादा न्याय कसले गर्लान् र?
फिल्ममा राखिएका गीतको कुरा गर्नुपर्दा ती तरकारीमा हालिने मसलासम्म त बनेका त छन् तर नुन नै भने बन्न सकेका छैनन्। यद्यपि, क्लाइमेक्सपछिको गीत छोडेर नहिँडे दर्शकले बोनसमा एउटा डार्क क्यारेक्टरसँग भेट गर्न पाउनेछन्। जुन पात्रसँगको परिचयले नै प्रतीक्षा गर्नु कष्ट हो भन्ने महसुस गराइदिनेछ दर्शकहरूलाई। उसको रहस्यमय कहानी जान्न दर्शक व्यग्र प्रतीक्षामा रहनेछन्।
जाँदाजाँदै, मनिष शर्मा निर्देशित यो फिल्मको मलाई सबैभन्दा सुन्दर पक्ष के लाग्यो भने सबै महिला पात्रहरूले कथामा राम्रो स्थान र सबल चरित्र पाएका छन्। साँच्चै, तपाईंलाई चाहिँ फिल्मको कुन पक्ष सबैभन्दा सुन्दर लाग्यो त?
(श्रीजु सरलका थप फिल्म समीक्षा यो पेजमा हेर्नुहोस्)
प्रतिक्रिया