दक्षिण भारतीय चलचित्र 'लियो'को प्रदर्शन तेस्रो सातामा पनि जारी छ। साउथ इन्डियन स्टार विजय थालापतिको फिल्म 'लियो'प्रतिको क्रेज क्यूएफएक्सका हलहरूमा पनि तेस्रो सातासम्म कायम देख्न सकिन्छ।
आफ्ना फ्यानहरूका लागि दक्षिण भारतका शाहरुख खान भनेर समेत चिनिने विजय थालापतिको बहुप्रतिक्षीत फिल्म लियोमा कस्तो छ त?
यो एक्सन-थ्रिलर फिल्मले दर्शकहरूलाई थ्रिल त दिने नै भइहाल्यो र साथमा मज्जा पनि दिन्छ। जुन हरेक फिल्मले दिन सक्छ नै भन्ने हुँदैन। त्यसो त विशेष दर्शकहरूका लागि फिल्मभित्र एउटा सरप्राइज समेत छ। यदि तपाईंले २०१९ को 'कैथी' र २०२२ को 'विक्रम' हेर्नुभएको छ भने त्यो सरप्राइज तपाईंकै लागि हो। खैर, फिल्म हेरेर बिर्सिने बानी हुने दर्शकका लागि भने उक्त सरप्राइजका कारण 'डेजा भु' हुनसक्छ। स्पोइल नगरी भन्नुपर्दा फिल्मको कुनै पात्र, दृश्य, संवाद वा संगीतले तपाईंलाई 'लौ! यो त मैले पहिल्यै पनि कतै हेरिसकेको थिएँ' भन्ने भान दिन सक्छ।
साउथ इन्डियन फिल्म भन्नासाथ ह्युमर त मानौँ निर्देशकको खुनमै हुन्छ। तर, लोकेश कनगराज निर्देशित लियोमा तपाईंले चाहिने ठाउँमा बाहेक वा चाहिने मात्राभन्दा बढी ह्युमर भेट्नुहुने छैन। तपाईंलाई परिस्थितिले हसाउँलान्, पात्रले हसाउँलान् तर, लेखकले हसाउँने छैनन्।
जसकारण फिल्मलाई सन्तुलित भन्न कन्जुस्याइँ गरिरहनुपर्दैन।
पात्रको कुरा गर्नुपर्दा मुख्य पात्र 'पार्थीवन' एउटा ग्रे क्यारेक्टर हो। हो, उसको पात्रत्व खरानी रंगको छ, जसलाई न श्याम भन्न सकिन्छ न त श्वेत! फिल्मले यही मुख्य पात्र पार्थीवनको कथा खोतल्छ, खोज्छ तर भेट्टाउँछ अरू कसैको। कसको? त्यो थाहा पाउन भने फिल्म नै हेर्नुपर्ने हुन्छ।
वान लाइन स्टोरी पनि गज्जब बुनेको यो फिल्मले एउटा पात्रको रूपान्तरणको कथा भन्छ। मान्छेले जन्मजात पाएको नैसर्गिक गुणलाई दबाउने जति कोसिस गरे पनि दब्दैन, मौका खोजेर त्यो जसै बाहिर निस्किन्छ भन्ने सन्देश पार्थीवनको चरित्र चित्रणले जनाउँछ। महाभारतका धनुर्धर पात्र अर्जुनको वैकल्पिक नाम पार्थबाट मुख्य पात्रको नाम राखिएको छ। र उसलाई चरित्र पनि त्यस्तै दिइएको छ। ऊभित्र स्वाभाविक रूपमै रहेको सिकारी गुण जसलाई उसले कारणवश दबाएको थियो, त्यो परिस्थितिवश बाहिरिँदै जान्छ।
त्यसो त, फिल्मको एक्सन कोरियोग्राफी हेर्दा पार्थीवनलाई सुपुर ह्युमन देखाइएको छैन। केही पात्रसँग लड्दा ऊ आफूले पनि मार खाएको छ, उसको पनि रगत बहेको छ, कैयौंपटक पछरिएको छ, उसका धेरै निसाना चुकेका पनि छन्। तर, ध्यान दिएर हेर्ने हो भने उसको चरित्र जुन धरातलमा निर्माण गरिएको छ त्यो सुपरह्युमनको जग हो। त्यसो त, महाभारतीय पात्र अर्जुनबाट प्रेरित चरित्रको विकास यसरी हुनु अनौठो त होइन।
फिल्मले मल्टिपर्सन न्यारेटिभमा कथा भन्छ जसकारण कतिपय दर्शकलाई यो काइदा छरपस्ट नलाग्ला भन्न सकिँदैन। यद्यपि, यो निर्देशकको रोजाइभन्दा पनि पटकथाको माग हो।
क्राइम सस्पेन्सबाट सुरु हुने फिल्मले एक्सनसँगसँगै फेमिली ड्रामा पस्किन्छ। चरित्र निर्माण र कथाको बहावसँग बग्दै जाँदा फिल्मलाई एक्सनसँगसँगै साइको थ्रिलर बनाउन सकिने थुप्रै ठाउँ खाली देखिन्छन्। ती खाली ठाउँले फिल्मलाई नराम्रो बनाएका त छैनन् तथापि, फिल्म अझै राम्रो हुनसक्थ्यो कि भन्ने कौतुहलता त्यस खाडलमा अटाउँछन्।
फिल्मलाई केलाइ केलाइ हेर्ने बानी तपाईंलाई छ भने तपाईं पार्थीवनको शरीरमा केही निसान खोज्नुहुनेछ, जुन नभेट्टाउँदा तपाईंलाई त्यो निसान किन भेट्टिएन भन्ने जिज्ञासा जागिदिन सक्छ। जिज्ञासा शान्त पार्ने जवाफ फिल्मले देला त? खैर, फिल्म रसिलो र कसिलो हुँदाहुँदै पनि कमजोरीरहित नै भने होइन। खोज्ने हो भने जूनमा पनि त दाग भेटिन्छ!
जाँदाजाँदै, कलात्मक सिनेमेटोग्राफी, बिम्बात्मक प्रप्स, सन्तुलित ह्युमर, पन्ची डायलग्स, मजेदार कथा र पोख्त अभिनयका कारण फिल्मले लिने भन्दा दिने काम नै ज्यादा गर्नेछ भन्नेमा शंका गर्न जरुरी छैन।
साँच्चै, अन्तिमको फोनकल त झण्डैले भुलेको! जनहित र सिनेहितमा एकसाथ जारी उक्त फोनकलले क्लाइमेक्समा सन्देश पनि त गज्जबै दियो नि, होइन?
Shares
प्रतिक्रिया