ad ad

कला


फिल्म हेरिसकेपछि पत्याउनु हुनेछ ती रहस्यमयी केटीको कथा

फिल्म हेरिसकेपछि पत्याउनु हुनेछ ती रहस्यमयी केटीको कथा

श्रीजु सरल
कात्तिक ११, २०८० शनिबार २०:१४, काठमाडौँ

तपाईं कलाको कति पारखी हुनुहुन्छ? त्यसो त सिनेमा पनि त कलाको एक विधा नै हो। तपाईं सिनेप्रेमी हो भने तपाईं कलाप्रेमी पनि पक्कै हो। आउनुस्, आज हामी कलाको अर्को एउटा विधा, चित्रकलाको कुरा गरौँ। त्यसो त सिनेमाको कुरा नगरौँ भनेको होइन। बरु आज त्यस्ता ३ सिनेमाको कुरा गरौँ जो चित्रकलासँग प्रत्यक्ष सम्बन्ध राख्छन्।

यी ३ सिनेमाले चित्रकलासँग ३ भिन्नाभिन्नै किसिमका सम्बन्ध राख्छन्। पहिलो सिनेमा आफू स्वयं चित्रकला बनिदिएको छ भने, दोस्रो सिनेमा स्वयं चित्रकार त तेस्रो स्वयं चित्रपट (क्यानभास) बनिदिएको छ। आज म यिनै ३ चित्रकला विशेष सिनेमाको सिफारिस गर्न चाहन्छु। कहिलेकाहीँ आँखाको पनि त स्वाद फेरिदिनुस्। खैर, सुरु गरौँ।

१. लविङ भिन्सेन्ट
सन् १८५३ मा नेदरल्यान्ड्समा जन्मिएका डच पेन्टर भिन्सेट भ्यान गग आफ्नो मृत्युका लागि बढी चिनिन्छन्। आजका विश्वप्रख्यात चित्रकार भिन्सेन्टले मृत्युअघि एउटा मात्रै चित्र बेच्न सकेका थिए। 

पोस्ट इम्प्रेसनिस्ट भिन्सेन्टमाथि बनेको यो फिल्मले उनको मृत्युको रहस्यमाथि बहस गर्ने कोसिस गरेको छ। के भिन्सेन्टले साँच्चै आत्महत्या गरेका हुन्? या त उनको ह्त्या नै भएको थियो? मृत भिन्सेन्टको अन्तिम चिठी बोकेर एउटा युवक यिनै प्रश्नहरूको जवाफ खोज्न भौँतारिएको छ। 

भिन्सेन्टको कथा त जगजाहेर कथा हो, फेरिपनि गोल्डेन ग्लोबदेखि ओस्कारसम्म जितेको यो फिल्म आफैमा एउटा भिजुअल पेन्टिङ जस्तै लागिदिन्छ। ५००० चित्रकारमध्येबाट छनिएका १२५ जनाले हातले बनाएका चित्रलाई ६५ हजार फ्रेमबाट देखाइएको छ। यदि तपाईं कलाप्रेमी हो र त्यसमाथि पनि चित्रकलाप्रति रुचि राख्नुहुन्छ भने यो सिनेमा तपाईंको रोजाइमा अटाएको राम्रो हो।

सन् २०१७ को यो फिल्म निर्माण गर्न निर्माण टिमलाई ६ वर्ष लागेको थियो।

२. माइ लेफ्ट फुट
‘माइ लेफ्ट फुट’ले भने सन् १९३२ मा सेरेब्रल पाल्सीसहित जन्मिएका चित्रकार क्रिष्टी ब्राउनको कथा भन्छ। 

यो सफ्ट–एनिमेटेम ड्रामा फिल्मले एउटा बच्चा जसको शरीरको कुनै पनि अङ्ग आफ्नो नियन्त्रणमा छैन– ऊ कसरी एउटा सफल चित्रकार बन्छ र बाबुको मृत्युपछि कसरी केवल देब्रे खुट्टाका केही औँलाका भरमा परिवारको जिम्मेवारी उठाउन सक्षम हुन्छ भन्ने कथा सुनाउँछ। र कालान्तरमा उक्त बालक कसरी एउटा सफल चित्रकार एवं लेखक बन्छ फिल्मले सविस्तार बताउँछ। 

चित्रकार एवं लेखक ब्राउनमाथि बनेको यो फिल्मले उनको दैनिक संघर्ष, करियर, प्रेम, वियोग र सफलतालाई निकै नै सुन्दर तौरमा प्रस्तुत गरेको छ। अभिनेता ड्यानियल डे लेविसलाई हेरिरहँदा उनी ब्राउन नै हुन् भन्नेमा जोकोही विश्वस्त हुनसक्छ भने ब्रेन्डा फ्रिकरको आमा पात्रमा धेरैले आफ्नै आमाको झल्कोसमेत पाउनसक्नेछन्।

यो फिल्मले बेस्ट एक्टर र बेस्ट सपोर्टिङ एक्ट्रेसका लागि ओस्कार अवार्ड समेत हात पारेको छ।

३. गर्ल विद अ पर्ल इयररिङ
सन् १६६५ वा १६६६ आसपास डच पेन्टर जोहान्नस भार्मीरले कोरेको ‘गर्ल विद अ पर्ल इयररिङ’ बारे तपाईंलाई थाहा छैन भने तपाईंको कलामोहमाथि प्रश्न उठ्नसक्छ। 

‘मोनालिसा अफ द नर्थ’ भनेर चिनिने यो पेन्टिङ भनिन्छ कि २०० वर्षसम्म हराएर पुनः भेटिएको हो। लियोनार्दो दा भिन्चीको ‘मोनालिसा’ जस्तै ‘गर्ल विद अ पर्ल इयररिङ’लाई पनि विश्वकै रहस्यमयी पेन्टिङमध्येको एक मानिन्छ। सोही नामको यो फिल्मले तपाईंलाई यो पेन्टिङ जोहान्नसले कसरी बनाए होलान् वा कसलाई हेरेर बनाए होलान् भन्ने निरुत्तर प्रश्नहरूको काल्पनिक जवाफ दिन्छ। 

फिल्मले चित्रकार जोहान्नस भार्मीर एउटा एक्स्ट्रा मारिटल अफेयरमा भएको अनुमान गर्दै यो पेन्टिङको एउटा काल्पनिक कथा सुनाउँछ। युरोपियन फिल्म अवार्ड तथा पोलिस अकेडेमी अवार्ड लगायतका प्रतिष्ठित पुरस्कार जित्न सफल यश फिल्म चित्रकारको नभएर चित्रकलाको कथा हो। एउटा चित्रकलाभित्रकी रहस्यमयी स्त्रीको कथा हो। परस्त्रीको कथा हो। 

फिल्म हेरिसकेपछि तपाईंलाई ‘गर्ल विद अ पर्ल इयररिङ’ की रहस्यमयी केटी स्कारलेट जोहान्सन नै हो भन्ने भ्रमलाई पत्याइदिन मन लाग्नेछ। 

साच्चै, यो पेन्टिङलाई ‘मोनालिसा अफ द नर्थ’ किन भनियो होला? पत्ता लगाउनुभयो भने अवश्य भन्नुहोला है त।

(श्रीजु सरलका थप फिल्म समीक्षा यो पेजमा हेर्न सकिन्छ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .