मदनदास श्रेष्ठको नाति पुस्ता हुर्कियो। मोबाइलसँगै हुर्किएको यो पुस्ताले रेडियोको कुरा नै कथा मानेर सुन्छ। युट्युब हेरेर रमाइरहेको मदनदासको नाति पुस्ताले आफ्नै बाजेको दैत्य हाँसोलाई दन्त्य कथाझैँ सुनिरहेको छ।
गुगल सर्च गरेर आफ्नो चाहअनुसारका हरेक कुरा खोज्ने यो पुस्तालाई मदनदासले सुनाउन छाडेका छैनन् टेबलमा मादल गुडाएर नाटकका लागि निकालिएको साउन्ड इफेक्टको कथा।
‘मैले भनिरहे मेरा नातानातिनाले पनि कहीँकतै उल्लेख गर्लान् यो कथा भन्ने हो। जुन युग बाँचेर आयो, त्यो आफैँलाई कहानी भैसक्यो, अरु ठूलो अपेक्षा त के हुन्छ र यो युगसँग!’ हालैको फोन संवादमा ठूलो हाँसो सहित मदनदासले सुनाए।
मदनदासको मोटो र बलियो आवाज रेडियो नेपालबाट बज्ने अधिकांश धार्मिक नाटकमा सुनियो। प्राय सबै नाटकमा उनी दैत्यका रुपमा सुनिए। सबैभन्दा लोकप्रिय भयो दसैँका बेला बज्ने ‘महिषासुर’ आवाज। नौरथा सुरु भएसँगै रेडियो नेपालमा शुम्भ–निशुम्भ, चण्ड–मुण्ड लगायत दानव मारिएको कथा बज्थ्यो। ती सबै नाटकमा दानवका रुपमा सुनिने त्यो आवाज मदनदासकै थियो।
घटस्थापनाको दिनदेखि प्रसारण हुने दसैँ विशेष रेडियो नाटकको आफ्नै स्थान थियो। नौरथाभरि हरेक दिन दिउँसो मालश्री धुनसँगै सुरु हुने नाटकका हरेक भाग नछुटाइ सुन्ने स्रोता थिए।
‘नाटक सुनेर स्रोताले पठाएका चिठी चैतवैशाखसम्मै आइरहेका हुन्थे,’ मदनदासले पुराना दिन सम्झिए।
गोपालप्रसाद ज्ञवालीले लेखेको नाटक मदनदासले नै निर्देशन गर्थे। कहिले देउताहरु बोलेको त कहिले राक्षस चिच्याएको आवाज चाख मानी–मानी सुन्नेहरुको जमात त्यही आवाज सुनेर आआफ्नै दृश्य कल्पना गर्थे।
‘बोल्नु भनेर मात्रै हुँदैनथ्यो, हरेक कलाकारको हरेक डायलगले स्रोताको परिकल्पनामा दृश्य सिर्जना गर्न सक्नु पथ्र्यो। डायलगमा त्यस्तो फिल गराउन हरेक कलाकारले आआफ्नै तरिकाले मेहनत गर्थे,’ उनले भने।
दसैँ नाटकमा खेल्नुअघि मदनदासको परिचय फरक थियो। उनी रेडियोबाट बज्ने ‘जेटीए र बुढी आमै’ का जेटीए बाबुका रुपमा चर्चित थिए। त्यो समय कलाकारको अनुहार स्रोताले आफू अनुकुल सम्झना गर्ने मात्रै हो। कलाकारको परिचय नै आवाज थियो।
रेडियो नेपालमा नाटक निर्देशकका रुपमा काम गरिरहेका मदनदासको आवाज पनि रेडियोका नियमित स्रोताका लागि नौलो थिएन। स्रोतालाई ‘महिषासुर वध’मा महिषासुर बनेर बेसुरा हाँसिरहेका मदनदास नै हुन् भनेर चिन्न गाह्रो भएन।
‘पर्वको बेला सबै घरमै हुन्थे। सबै भाग नाटक सुन्थे। त्यसैले पनि मदनदासको महिषासुर हाँसो स्रोताले बिर्सिएनन्,’ पुराना दिन सम्झदै मदनदास भन्छन्, ‘जेटीए बाबु बनेर स्रोताको मनमा सकारात्मक रुपमा बसेको मलाई एकाएक दसैँ नाटकले राक्षस बनायो।’
उनी राक्षस कहलिँदा पनि दुःखी छैनन्। भन्छन्, ‘त्यो मैले गरेको भूमिका हो। खुसी लाग्छ, मेरो कलाका कारण आजसम्म चिनिन पाएकोमा।’
दानवको चर्को आवाज निकाल्न आफूलाई त्यो समय भएको सास्ती उनले बिर्सेका छैनन्। लगातार हो... हा, हो...हा, हा... गरेर हाँस्नु पथ्र्यो। ‘हाँस्दाहाँस्दै घाँटी दुख्थ्यो। बोली भासिन्थ्यो। मलाई केहीछिन दुःख भयो, स्रोताले त्यही मन पराए,’ मदनदासले दुखाइभित्रको खुसी सुनाए।
यो रेडियो नाटक २०५२ सालबाट रेडियो नेपालमा बज्न थालेको हो। प्रविधिको विकास भइसकेको थिएन। नाटकमा चाइने थरीथरीका आवाज तयार गर्न निकै सकस हुन्थ्यो। युद्धभूमि, रथ गुडेको, आगो लागेकोलगायतका सांकेतिक आवाज तयार गर्न निकै गाह्रो भएको सम्झन्छन् उनी।
‘रथ गुडेको आवाज निकाल्नुपर्यो भने ठूलो टेबलमा मादल गुडाएर रेकर्ड गर्थ्यौं। बिग्रेको टेपको रिल समाएर कच्याककुचुक पार्दा आगो बलेजस्तै आवाज आउँथ्यो। आँधीबेहरीको आवाज निकाल्नुपर्यो भने बाक्लो कागज मुखमा राखेर फुक्थ्यौँ, कागज हल्लिएको रेकर्ड बजाउँदा आँधी आएजस्तो आवाज आउँथ्यो,’ उनले सुनाए, ‘दानव, दैत्यको आवाज रेकर्ड गराउन निकै सास्ती हुन्थ्यो। थरीथरीका आवाज निकाल्नु पथ्र्यो, त्यसैले टेप पनि धेरै लाग्थ्यो।’
नाटकलाई जीवन्त बनाउन निकै मेहनतका साथ ध्वनि संयोजन तथा रेकर्डिङको पाटो सम्हालेका अशोक श्रेष्ठ, गौतम मानन्धरलगायत टोलीसँगको सम्झना आज पनि मदनदाससँग ताजै छ।
समयसँगै सबैकुरा परिवर्तित हुँदै गयो। यो परिवर्तनलाई मदनदासले महसुस गरेका छन्। उनी चाहन्छन्, हिजो स्रोता र कलाकारका बीचमा सेतुको काम गरेको सप्तचण्डीमा आधारित यी नाटकहरु पुनः नयाँ तरिकाबाट बनाइयोस्। आजको पुस्ताको रुचिअनुसार हिजोका नाटक पुनःनिर्माण भए जीवन्त हुन्थे भन्ने उनको आश छ।
दीपकराजको अनुभव
हिजोआजका स्टार दीपकराज गिरी करिअरको सुरुवाती संघर्षमा थिए। उनी रेडियोमा सुनिरहन्थे एउटा मोटो आवाज। आँखा, हृदय र मनमा कलाकारको सपना भरिदिएको पनि त्यही मोटो आवाजले हो। त्यो आवाज थियो वरिष्ठ कलाकार मदनदास श्रेष्ठको।
दीपकले रेडियो नेपालबाट बज्ने केही नाटकहरुमा छोटो भूमिका निर्वाह गरे। नाटकमा दानव भनेर चिनिएका उनै मदनदासले एकदिन दीपकलाई आफ्नो सेना बनाउने प्रस्ताव गरे। त्यो प्रस्ताव दसैँका बेलामा बज्ने ‘महिषासुर’का लागि थियो। दसैँ नाटक रेकर्डको काम सुरु भयो, दीपक महिसासुरको सेनाको रुपमा ‘जय जयकार’ गर्ने पात्रका रुपमा पृष्ठभूमिमा सुनिए।
दीपकका लागि ‘महिषासुर’मा पाएको यो अवसर ठूलो थियो। त्यतिबेला नाटकमा छानिनु नै ठूलो मानिन्थ्यो।
‘हाम्रा लागि त काम पाउनु नै दसैँ हुन्थ्यो। एउटा नाटकमा खेलेबापत ३ सय रुपैयाँ पाइन्थ्यो। महिषासुरमा काम गर्ने अवसर पाउँदा पनि आफ्नो भूमिकालाई भन्दा पारिश्रमिकलाई ठूलो मानियो,’ दीपकराज सुनाउँछन्।
दीपकले यो नाटकमा महिषासुरको चम्चा भएर काम गरे। दानवहरुको जितमा अट्टाहास गरेर हाँसे।
दीपक भन्छन्, ‘त्यो कुन वर्ष हो याद छैन। घरमा खसी मार हान्ने समय भएको थियो, रेडियोमा म आफैँ दैत्य हाँसो हाँसिरहेको थिएँ। म आफूलाई साँच्चैको राक्षस सम्झिरहेको थिए।’
यो रेडियो नाटकमा देवीको भूमिका सुनिता मालाकार, सपना श्रेष्ठ, शकुन्तला गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन्। देवताको भूमिकामा उदय खनाल, सुरेश अधिकारी, यदुनाथ शर्मा लगायतका कलाकार सुनिन्थे। श्रीप्रसाद थापा, दमन रुपाखेती, दीपकराज गिरी, राजेश कार्की, राजकुमार न्यौपाने, श्यामशेखर श्रेष्ठ, सुनिल पुरी, दीपक कोइराला, मनोज बुढाथोकी, शोभिता पराजुलीले पनि नाटकमा अभिनय गरेका छन्।
Shares
प्रतिक्रिया