ad ad

कला


परदेशी २ : बलियो विषय, फितलो प्रस्तुति

परदेशी २ : बलियो विषय, फितलो प्रस्तुति

श्रीजु सरल
असोज २८, २०८० आइतबार १८:४७, काठमाडौँ

दसैँको मुखमा परदेशीहरूको पर्खाइमा धेरै नेपाली बसिरहँदा क्यूएफएक्सहित देशभरिका हलहरूमा नयाँ नेपाली चलचित्र परदेशी-२ प्रदर्शनरत छ। गायक प्रकाश सपुतको डेब्यु चलचित्र बन्न पुगेको यस चलचित्रमा केकी अधिकारी, रमा थपलिया, सविन बास्तोला, वर्षा सिवाकोटी, प्रशान्त तामाङ लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ। 

उच्च शिक्षा, रोजगारी, सहज जीवनयापनजस्ता अनेक शीर्षकमा देशबाट बाहिरिने युवाहरूको सङ्ख्या उल्लेख्य रूपमा बढिरहँदा परदेशी-२ ले आजको नेपाली समाजको प्रतिनिधि कथा भनिरहेको छ। यस्तो समय सान्दर्भिक कथा भन्ने फिल्मभित्र आखिर कथाचाहिँ कस्तो छ? कथा भन्ने शैलीमा पनि समय सान्दर्भिकता छ कि छैन? आउनुस्, यस्तै प्रश्नको वरिपरि रहेर फिल्मबारे चर्चा गरौँ।

युवाहरू विदेशिनाले खाली हुँदै गइरहेको गाउँमा सुसाउने वृद्ध सुस्केरा। परदेशिएका छोराछोरी फर्किने आसमा सास गनिरहेका बुढाबुढीहरू। अनि आफ्ना जोडी गुँड फर्कने बाटो हेरिरहेका बिजोडीहरू, एक्लाहरू। पोखराको सेटिङमा यस्तै दृश्यहरू देखिन्छन् भने अमेरिकाको सेटिङमा मनमा एकनासको छटपटी लिएर पनि छटपटाउने फुर्सद नपाइरहेका आदती युवालाई लिएर बगिदिन्छन् दृश्यहरू। कथा यिनै र यस्तै दृश्यहरू वरिपरि फन्को लगाइरहन्छ।

समय सान्दर्भिक विषयवस्तुमाथि कथा भनिरहे पनि कथावाचनमा भने परम्परागत शैली नै अपनाइएको महसुस हुन्छ। खैर, फिल्ममा कथा सुहाउँदो गीत र नृत्यहरूको प्रस्तुति भने पृथक लागिदिन्छ। त्यसो त, कतिपय ठाउँमा गीतहरू अलि बढी नै त भएनन् जस्तो पनि लाग्दैन भन्न सकिँदैन। यद्यपि, गाउँको सेटिङमा फिल्ममा प्रयोग भएका लोकभाकाका गीतहरूले दर्शकलाई रिझाउने क्षमता भने राख्छन्।

फिल्मले सुन्दर र उज्ज्वल भविष्यका लागि परदेशिएकाहरूले पाएको दु:ख देखाउँदै परदेशीहरूप्रति सहानुभूति खोजेको देखिन्छ। त्यही सहानुभूतिको लालचमा कतिपय ठाउँमा भने पात्रहरू थिचिएका हुन् कि भन्ने महसुस भइदिन्छ। दर्शकबाट सहानुभूति बटुल्ने मोहमा फिल्मले संयोगलाई पनि आवश्यकताभन्दा बढी नै प्रयोग गरेको हो कि?

परम्परागत शैलीमा बनेको यो फिल्मको कथाको सिलसिला पनि पूर्मानुमान गर्न सकिने किसिमका नै छन्। जसले गर्दा दर्शकलाई फिल्मले नयाँ कथा भन्न नसकेको महसुस हुनसक्छ। कतिपय ठाउँमा दर्शकलाई हँसाउनैपर्छ भनेर कथाले नमागेका दृश्यहरू अतिरिक्त र अतिरञ्जना मात्र लागिदिन्छन्। जुन दृश्यहरू नभएका भए पनि फिल्मलाई कुनै फरक पर्ने थिएनन्।

फिल्मको एउटा कमजोरी भने पात्र बिजुलाको वरिपरि घुम्छ। फिल्मले बिजुलालाई सस्तो मनोरञ्जनका लागि वस्तुकरण गर्न खोजेको महसुस भइदिन्छ। केही घण्टा र केही दिनभित्रै फेरिने उसको केशको रंग, उसमाथि उसको प्रेमीले प्रयोग गर्ने शब्दहरू, उसको पात्रले पाएको नाम स्वयंले पनि आजको दिनमा समेत फिल्म चल्न महिलालाई वस्तुकरण गर्नैपर्छ भन्ने चेतनाबाट नेपाली सिने उद्योग माथि उठ्न नसकेको हो कि भने प्रश्न जन्माइदिन्छ।

पहिलो हाफमा सानासाना घटनाहरूलाई पनि यथेष्ट समय छुट्याउँदै सन्तुलनमा अघि बढ्ने फिल्म दोस्रो हाफमा पुगेर भने केही असन्तुलित भएको महसुस हुन्छ। दोस्रो हाफमा ठूला-ठूला घटना घटिरहँदा समय भने छिटोछिटो बितिरहेको हो कि जस्तो लाग्छ। अभिनयका हिसाबले केकी अधिकारीले मुख्य पात्रमा निभाएको चरित्र अब्बल लाग्छ। रमा थपलियाले निभाएको  पात्रको अन्त्यमा लेखकको सत्ताधारी हात रहेको स्पष्ट देखिन्छ। यद्यपि, अभिनयका हिसाबले उनले दर्शकको मन जित्नेछिन्।

ट्रेलरदेखि नै चर्चाको विषय रहेका प्रशान्त तामाङ अभिनित पात्र दशैँको छुट्टीमा घर आउँछ तर, ऊ चाडबाडको छुट्टीमा घर आउँदै गरेको पात्र जस्तो भने देखिँदैन। खैर, उनको कामको मात्र कुरा गर्दा भने दर्शक रिझ्ने अभिनय दिन उनी सफल छन्।

मुख्य भूमिकामा देखिएका प्रकाश सपुतको अभिनय भने पहिलो फिल्ममा गरेजस्तो महसुस हुँदैन। कतिपय ठाउँमा संवेदना र अभिव्यक्तिको तालमेल नमिलेको हो कि जस्तो भने लाग्छ।

दिलिप रायमाझी र वर्षा सिवाकोटीका पात्रहरूलाई भने फिल्मले कथामा उति अर्थपूर्ण चरित्रसहित ल्याउन सकेको छैन। कथामा केही दृश्य थप्न सहयोग गरे पनि दिलिप अभिनित पात्रको उदय र अस्त दुवै कमजोर देखिन्छ। वर्षा अभिनित पात्रको उदय सार्थक नै देखिए पनि अस्त भने उनको पात्रको पनि हलुका देखिन्छ। जसले फिल्मलाई यथार्थवादी धरातलबाट उखेलेर मेलोड्रामाको पेन्डुलम बनाइदिएको महसुस हुन्छ।

जाँदाजाँदै, समय सान्दर्भिक विषयमा बनेको फिल्मले कथा वाचन र पात्र विकासमा पनि समय सान्दर्भिकता देखाउन सकेको भए फिल्मले आजका युवा दर्शक र आजको नेपाली सिने उद्योगलाई न्याय गर्न सक्थ्यो कि? भावनासँगसँगै विचार पनि दरिलोसँग आउँथ्यो कि? खैर, फिल्मले पस्किने संवेदनात्मक संवाद र सहानुभूतिलक्षित दृश्यहरूले दर्शकलाई रुन र हाँस्न भने प्रशस्त ठाउँ दिएकै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .