ad ad

कला


अन्तर्राष्ट्रिय बजारमा मुनाफा कमाउँदै नेपाली चलचित्र

अन्तर्राष्ट्रिय बजारमा मुनाफा कमाउँदै नेपाली चलचित्र

नेपालखबर
भदौ २०, २०८० बुधबार ६:३८, काठमाडौँ

केही समययता नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई अन्तर्राष्ट्रिय बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ। 

नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले उत्साह साथ हेर्न थालेपछि नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बलियो हुनुका साथै मुनाफा दिन थालेको हो।

पछिल्लो समय प्रविधिको विकास भएसँगै नेपालमा प्रदर्शन भएकै दिन उक्त चलचित्रले विदेशमा समेत प्रदर्शनको अवसर पाउन थालेका छन्। 

यसले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार गर्नुका साथै दर्शकसमेत बढाइरहेको छ। मौलिक कथा र कलात्मक प्रस्तुति रहेका नेपाली चलचित्रका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायत देशमा बजार बढिरहेको छ।

कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले विदेशी चलचित्र जसरी नै चलचित्र भवनमै दर्शकले हेर्न पाउँछन्। 

दर्शकले व्यक्तिगत रूपमा चलचित्र भवन भाडामा लिएर प्रदर्शनी गर्ने शैलीमा परिवर्तन आएर बजार बलियो भइरहेको अमेरिकास्थित नेपाली चलचित्र प्रदर्शन गर्ने कम्पनी नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका निर्देशक प्रतीक सुवेदीले बताए।

‘चलचित्र भवन भाडामा लिएर प्रदर्शन गर्दा पर्ने शुल्क झन्डै सामान्यको तुलनामा दोब्बर हुन्छ । यसको सम्पूर्ण व्यवस्थापन प्रदर्शक स्वयंले गर्नुपर्छ’, ‘बक्स अफिसमा प्रदर्शन गर्दा हामीलाई त्यो झन्झट भने हुँदैन।’ 

 ‘प्रेम गीत ३’, ‘महापुरुष’, ‘जारी’ लगायत चलचित्र नियमितरूपमै प्रदर्शन भएपछि अन्यलाई पनि हौसला मिलेको प्रदर्शक सुवेदीले बताए।  

अन्तर्राष्ट्रिय बजारमा छक्का पञ्जा, कबड्डी, जात्रालगायत समूहले निर्माण गर्ने चलचित्रको माग अन्यको तुलनामा बढी छ। यी चलचित्रको आगामी शृङ्खला निर्माणपूर्व नै बिक्री भइसकेको छ।

 ‘जात्रा’ को नयाँ शृङ्खला ‘महाजात्रा’ कथा लेखनमै रहँदा अष्ट्रेलियाको एमएसएम इभेन्ट्सले खरिद गरेको छ । उक्त कम्पनीका सञ्चालक छत्र थापाले दर्शकको मागलाई विचार गरेर चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको बताए। 

‘यहाँ दर्शकले खोजेको चलचित्र प्रदर्शनमा सहज हुन्छ। त्यसैले चलचित्रलाई कलाकार र निर्माण समूहकै आधारमा खरिद गर्ने गरेका छौँ’, वितरक थापाले भने, ‘अघिल्लो शृङ्खलाले गरेको व्यापारले हामीलाई अधिकार खरिद गर्न सहज हुन्छ । ती चलचित्रले यहाँको बजार बलियो बनाइरहेका छन्।’

अन्तर्राष्ट्रिय बजार बलियो हुँदै गर्दा नेपालमा प्रतिष्ठित समूहले निर्माण गर्ने चलचित्रको प्रदर्शन मिति नजिक हुँदा असर पार्ने गरेको छ। 

‘यहाँ एउटा चलचित्रको राम्रोसँग प्रदर्शन हुन दुई महिनाको समय चाहिन्छ । त्यो हिसाबमा एक वर्षमा छ चलचित्र भए राम्रो हुन्छ । त्यस्तो हुन नसके बजारलाई असर गर्न सक्छ’, वितरक थापाले भने, ‘हामीले नयाँ बजार खोज्नु जरुरी छ । अहिले भइरहेको बजार अवस्थामा चलचित्र प्रदर्शन भइरहेका छन्।’

‘दिमाग खराब’, ‘हात्तीछाप’, ‘घर ज्वाइँ’, ‘महाजात्रा’ जस्ता चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार उनले खरिद गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .