उनकै आँखाअगाडि सानै कुरामा कति छोरीहरूले जीवन त्यागे। सामनाले तिनै छोरीहरूका आमाका आँसु देखिन्। उनलाई त्यतिबेला लाग्थ्यो- ‘जेसुकै बहानामा होस्- आमाहरूलाई यसरी चोट दिन हुँदैन। एकदिन सामना शाह आफैँले त्यस्तै चोट सहनुपर्यो। त्यही चोटले हो- सामनालाई जिन्दगीमा बलियोसँग उभिन सिकाएको।
सामना सानैबाट आफ्ना भावनालाई भाका हालेर कोर्थिन्। शिक्षकहरूले उनले कोरेका तिनै शब्द केही गीत, केही कविता भएको भन्थे। हुर्कंर्दै जाँदा सामनाको कोठाका भित्ता कविता भनेर पाएको मेडल र पुरस्कारले भरिए। सामनालाई लाग्यो- ‘गीत लेखेर जीवनमा सबैभन्दा धेरै खुसी भेटिन्छ।’ सामनाले त्यो समय गीत लेखिन्, कविता, हाइकु, मुक्तक, गजल सबै विधामा लेखिन्। सबैखाले प्रतियोगितामा सहभागिता जनाइन् र पुरस्कार जितिन्।
सामनाका बुवा स्कुल पढाउँथे। तर उनमा साहित्यको रस थिएन। गृहस्थ सम्हालेर बसेकी आमालाई आफ्नै दुःख गुनगुनाउने फुर्सद थिएन, छोरीले अक्षरमा भेटेको खुसी कसरी देखुन्। जाजरकोटको सामान्य परिवारमा जन्मिएका सामनाले थुप्रै कविता आमाको श्रम र समर्पणबारे लेखिन्। भन्छिन्, ‘म आज पनि मेरी आमाका बारेमा सुन्दर कविता/गीत लेख्न चाहन्छु, सकिरहेकी छैन।’
उनका काका र दाजु कविता लेख्थे। लेखनमा उनको जीवनको हौसला र प्रेरणा उनीहरू नै थिए।
गीत/कवितामा स्कुले जीवनमै सामनाले आफ्नो नाम अब्बल बनाएकी थिइन्। तर, उनलाई स्टाफ नर्स बनेर अरूको सेवा गर्नु थियो।
एसएलसीपछि उनले इन्ट्रान्स पनि दिइन्। तर पास भइनन्। सामनालाई थाहा थियो- स्टाफ नर्स नै पढुछु भनेर जिद्दी गरेको भए उनका बुवाले नाइँ भन्दैनथे। तर खर्च धेरै लाग्थ्यो। बुवालाई आर्थिक भार बोकाउन मन लागेन। बरु उनले आफ्नो सपनै परिवर्तन गरिदिइन्। कालीकोटबाट नेपालगन्ज झरेर कमर्स पढ्न थालिन्।
नेपालगन्ज आएपछि उनको लेखनको दायरा पनि फराकिलो भयो। कलेज पढ्दै गर्दा सामनाले पहिलो गीत ‘भक्कानिँदै रोलिन् मेरी आमा’ रेकर्ड गराइन्। कारुणिक लयमा सिर्जना गरिएको यो गीतले सामनालाई पाठकबाट स्रोतासम्म पुर्यायो। उनले त्यसपछि नै हो- गीत लेखनमा सपना देखेको।
त्यतिबेला सामनाका एकजना साथी थिए, जो भनिरहन्थे- यो समाज छोरीले नेतृत्व गर्नुपर्छ। तिमी पनि अरूका पछिपछि हिँड्ने होइन, अरूलाई तिमीले नेतृत्व गर्नुपर्छ।
२०७२ सालको भूकम्पमा उनका साथी पनि परे। सामनाको मित्रता पुरियो। अनि सँगै पुरियो- एउटा साथीले दिने आँट र हिम्मत पनि। यो समय सामना निकै पीडित भइन्। त्यसपछि नै हो- सामना काठमाडौं आएको। कठमाडौं आएपछि पनि उनका ‘चुरोट सल्काउने, पानी पाएपछि, म तिम्रो हुन’ लगायतका गीत लगातार रेकर्ड भए। उनी यो सहरका थुप्रै अवार्ड कार्यक्रममा सहभागी भइन्। उनलाई लाग्यो- ‘गीत/संगीतको विकासका लागि म पनि अवार्ड गर्छु।’
त्यसपछि सामनाले ‘सामना क्रिएसन’ स्थापना गरिन् र घोषणा गरिन्- साधना म्युजिक अवार्ड।
अवार्डका दुई संस्करण पूरा गरेपछि उनको मन अवार्डमा मात्रै अल्झिएर बस्न मानेन। उनले अवार्डलाई रिवार्ड बनाइन्। नेपालमा पहिलोपटक रिवार्ड आयोजना गर्ने सामना नै हुन्।
रिवार्डको पहिलो संस्करण सम्पन्न भयो। स्रष्टाहरूले उनको तारिफ गरे। सामना रिवार्डको दोस्रो संस्करणको तयारीमा छिन्। पछिल्लो समय नेपाली मनोरन्जन उद्योगका थुप्रै अवार्ड बिक्रीका खबर सार्वजनिक भइरहेका बेला सामनाले भने पैसासहित अवार्ड दिइन्।
भन्छिन्, ‘आर्थिक हिसाबले यो ठूलो चुनौती थियो। तर, हाम्रामा अवार्ड बोकेर घर फर्किने बेला कति कलाकारको पकेटमा ट्याक्सी भाडासमेत हुँदैन। यस्तो अवस्थामा ऊ अवार्डले खुसी हुन्छ कि दुःखी? यो हिम्मत हाम्रो क्षेत्रमा कसै न कसैले गर्नैपर्ने थियो। मैले गरेँ।’
अवार्ड, रिवार्ड र यसको निरन्तरताले दिएको व्यस्तताले सामनाको लेखन हिजोआज पातलिएको छ। केही वर्ष भयो- उनका गीत बजारमा नआएको। तर, उनले लेख्न छाडेकी छैनन्। उनी उपन्यासकारका रूपमा बजारमा आउने तयारीमा छिन्। भन्छिन्, ‘सपनाको बाटोबाट म कहीँ हराउने छैन।’
Shares
प्रतिक्रिया