आमाबुबाले छोरा भनेर बोलाउँदा कस्तो सुनिन्थ्यो होला? छोराहरुका लागि आमा–बुबाको मनमा के थियो होला? कलाकार भोलाराज सापकोटाले केवल कल्पना गरे, सुन्न पाएनन् बुबाआमाको बोली। उनका बुबाआमा दुवै बोल्न सक्दैनथे। भोलाराजका बुबाआमाले आफ्ना दुई सन्तानसँग मौनतामै प्रेम साटे। बुबा–आमाको यही मौनता हेर्दै हुर्किएका भोला आफैं पनि कम बोल्ने भए।
भन्छन्, ‘त्यतिबेला समाजमा पनि कम बोल्ने मान्छे ज्ञानी हो भन्थे। बोल्दै नबोल्ने मेरा बा–आमा झन् कति ज्ञानी हुँदा हुन् भन्ने पनि लाग्थ्यो। बोल्न नसक्नुको पीडा कति थियो उहाँहरुको मनमा, न मैले कहिल्यै सोध्ने आँट गरेँ, न उहाँहरुले नै बुझाउन सक्नुभयो।’
भोलाको बाल्यकालको धेरै समय हजुरबुबा, हजुरआमाको काखमा बित्यो। स्कुल भर्ना पनि उनलाई हजुरबुबाले नै गरिदिएका हुन्। आमा–बुबा आफ्नै काममा व्यस्त हुन्थे। उनी आफ्ना आवश्यकता हजुरबुबाबाटै पूरा गर्थे। मकवानपुरको हात्तीलेटमा भोलाको बाल्यकाल सामान्य रुपमा बितेको हो। उनी पत्कर सोहोर्दै, स्याउला दाउरा काट्दै, केही उपद्रो गर्दै हुर्किए। हुर्किंदै गर्दा उनी देख्थे, बोल्न नसकेकै कारण आफ्नी आमाले भोग्नु परेको विभेद। खान, लगाउन विभेद हुँदैनथ्यो तर घरका अप्ठ्यारा काम आमाको भागमा पर्थे। भोला बुझ्थे तर बोल्न सक्दैनथे।
भन्छन्, ‘गुनासो गरेकै भएपनि मायाले भनेको भनिदिन्थे होला, अथवा लाटोको छोरोले यसो भन्यो भनेर खिल्ली उडाउँथे होला।’
घरको आर्थिक अवस्था ठिकै थियो। कृषिमा आश्रित भोलाका दाजुभाइलाई हजुरबुबा–हजुरआमा हुँदासम्म सुखै थियो। क्रमैसँग हजुरबुबा र हजुरआमाको मृत्यु भयो। भोलाका बुबाआमा संयुक्त परिवारबाट भिन्न भए। उनका बुबाआमालाई एकोहोरो काम गर्न आउँथ्यो। व्यावहारिक अन्य कुरा जान्दैनथे। भोलाको परिवारले त्यसपछि भने आर्थिक संकट पनि बेहोर्नु पर्यो।
भोला आफ्ना बा–आमाले हिँडिआएको अप्ठ्यारो बाटोको साक्षी बसेका छन्। यो यात्रामा आजसम्म उनले बुबा रोएको कहिल्यै देखेनन्। उनले आमाको आँसु देखेका छन्। भन्छन्, ‘त्यतिबेला आमाको खुट्टा केही गर्न नसक्ने भएको रहेछ। दुख्यो भन्न सक्नु हुन्नथ्यो। तेल लगाउँदै रुनुहुन्थ्यो। पछि बिस्तारै प्यारालाइसिस भयो। सात वर्ष थला परेर जानु भयो। उहाँले आफ्नो व्यथा भन्न सक्नु भएको भए त्यति चाँडै जानु हुन्नथ्यो कि भन्ने पनि लाग्छ।’
यो अप्ठ्यारोबाट बाहिर निस्किएर भोलाले कलाकार बन्ने सपना देखे। ७ कक्षा पढ्दा उनले पहिलो पटक सडक नाटकमा अभिनय गरे। आठ कक्षा पढ्दा त उनी व्यस्त कलाकार भैसकेका थिए। गाउँमा बाल क्लब थियो, युवा क्लबहरु सक्रिय थिए। त्यतिबेला अहिले जस्तो सूचनाका माध्यम थिएनन्।
धनीका घरमा देखिने टेलिभिजन सेटमा बज्ने विज्ञापन, जनचेतनामूलक कार्यक्रम कमैले हेर्न पाउँथे। रेडियोमा बज्ने सूचनाले कति सन्देश प्रवाह गर्न सक्थ्यो, कतिले सुन्थे थाहा छैन। त्यो समय सचेतनाका लागि भोला विभिन्न क्लबमा आबद्ध भएर गाउँगाउँमा सडक नाटक लिएर जान्थे। एचआईभी एड्ससम्बन्धी सडक नाटक महिनामै ४/५ ठाउँमा मञ्चन हुन्थ्यो। त्यसवापत भोलाले राम्रै पैसा पनि हात पार्थे। यहीँबाट भोलालाई नाटकको लत बस्यो।
भोलालाई नाटक खेल्ने लत बस्यो, दर्शकलाई उनको अभिनय हेर्ने। ९ कक्षा पढ्ने बेला उनका नाटक कार्यक्रमको अन्त्यमा देखाइन्थ्यो। दर्शक उनको नाटक पर्खिएर पूरै कार्यक्रम हेर्थे। उनले सोचे, ‘अब म सजिलोसँग अभिनय गर्न सक्छु।’
गाउँमा उनको घर टीभी नहुने घरमा पथ्र्यो। त्यतिबेला ‘ट्वाक्क टुक्क’ कार्यक्रम लोकप्रिय थियो। भोलालाई पनि हेर्न रहर लाग्थ्यो। टीभी हुनेका घरमा मान्छेभन्दा ठूला मकैका थुप्रा हुन्थे। टीभी हेर्न जानेले त्यो मकै छोडाउनु पथ्र्यो। उनी सम्झिन्छन्, ‘रामायण हेर्ने बेलामा खोलाबाट ढुंगा बोकेको पनि मलाई याद छ। रामायण हेरेको शुल्कजस्तै थियो त्यो। टीभी हेर्न जाने सबैले खोलाबाट आफूले सकेका केही ढुंगा बोकेर लगिदिन्थे। त्यो ढुंगा उनीहरु आफ्नो घरायसी काममा प्रयोग गर्थे। मैले पनि बोकेको छु।’
बुबा–आमाको मनमा उनलाई लिएर के सपना थियो कुन्नि, त्यो व्यक्त गर्न पाएनन्। हजुरबुबा–हजुरआमा उनले नाटक सुरु गर्नुअघि नै बितिसकेका थिए। दाजुले पनि भाइको बाटो छेकेनन्। भोला एक दिन कलाकार बन्ने सपना बोकेर काठमाडौं पसे। त्यतिबेला उनी मकवानपुर क्याम्पस हेटौंडामा आईए पढ्दै थिए। एकदिन पत्रिकामा देखे, ‘काठमाडौंको नाचघरमा अभिनय प्रशिक्षण हुँदै छ।’ उनलाई त्यही सूचनाले काठमाडौं तानेको हो।
काठमाडौं आएर एक वर्ष भोलाले नाचघरमा एक वर्ष सुनिल पोखरेलसँग अभिनय सिके। काठमाडौं बसाइका सुरुवाती दिनमा उनको आफ्नै बासस्थान थिएन। उनी कहिले भीमसेनगोला, कहिले चाबहिल त कहिले पुतलीसडक बाँडिएर बसे।
भन्छन्, ‘काठमाडौं छिरेपछि केही संघर्ष त गर्नैपर्यो। घरमा हुँदा पो आमाको होटल, बाउको लज भनेजस्तो थियो। यहाँ त्यो भएन। सुरुमा त कोठाभाडा तिर्नुपर्याे। कमाएर खानुपर्यो। सुरुसुरुमा चाहिँ अलिक गाह्रै थियो।’
भोलाले अशेष मल्लको ‘कुमारी’ नाटकमा अभिनय गर्ने मौका पाए। यो नाटक सुनिल पोख्रेलले निर्देशन गरेका थिए। एकेडेमीमा दुई दिन मञ्चन भएको यही नाटकबाट भोलाले थिएटरको औपचारिक यात्रा थालेका हुन्। त्यसयता उनले आजसम्म थुप्रै नाटकमा अभिनय गरे। त्यसयता उनले झण्डै तीन दशक समय नेपाली रंगमञ्चमा गुजारे। यो यात्रामा उनले नाटक लेखन, निर्देशन तथा अभिनयमा आफूलाई स्थापित गरे। केही फिल्ममा काम गरे। भोलाको लोकप्रियता झन् लोभलाग्दो हिसाबले बढेर गयो। बलिउड फिल्ममा पनि काम गरे।
भर्खर ‘हिउँभन्दा चिसो’ नाटक मञ्चन सकेर बसिरहेका भोलाको हातमा दुई फिल्म छन्। दसैँअघि नै उनको हातमा रहेका दुवै फिल्मको छायांकन सक्ने योजना छ। थिएटर र फिल्ममा भोला हिजोआज उस्तै सक्रिय छन्। फिल्म र थिएटरका भोलासँग फरक फरक अनुभूति छन्। भन्छन्, ‘मनलाई नाटकले सन्तुष्टि दिन्छ। पेटका लागि फिल्म ठिक छ।’
Shares
प्रतिक्रिया