नेपाली फिल्म उद्योगका सफल सिनेमाटोग्राफरको सूचीमा पर्छन् रामकुमार केसी। उनले नेपाली मात्रै होइन, बलिउड फिल्म उद्योगमा पनि काम गरेका छन्। सिनेमाटोग्राफीमा उनको लगाव र समर्पण देख्दा धेरैलाई लाग्न सक्छ, उनको परिवारिक पृष्ठभूमि नै यही थियो। तर, होइन।
ललितपुरको थेचोमा जन्मिएका केसीले स्कुलको पढाइ सक्दासम्म कुनै सपना देखेनन्। एसएलसी परीक्षा सकेर दिल्ली पुगेका केसी त्यहाँ फोटोलाई दिइएको महत्व देखे। त्यतिबेला उनकी दिदी दिल्लीमा थिइन्। दिदी भेट्न दिल्ली पुगेका केसीको मन त्यहाँ खुलेका स्टुडियोहरुमा गएर अल्झियो।
नेपालमा त्यतिबेला सम्झनाका लागि पारिवारिक फोटो खिच्ने र रिल धुलाएर राख्ने प्रचलन थियो। तर जीवनका हरेक उत्सवहरुलाई फोटो–भिडिओमा कैद गरेर राख्ने प्रचलन सुरु भएकै थिएन। दिल्लीमा उनले पहिला विवाहको भिडिओ खिचेको देखे। फोटो स्टुडियो पनि प्रशस्तै थिए। केसीलाई पनि सिनेमाटोग्राफीमा रुचि जाग्यो। त्यसपछि उनले मुम्बईमा सिनेमाटोग्राफीको तालिम लिए।
केही समय मुम्बई बसे। केही विवाहमा सामेल भए, फोटो, भिडिओ खिचे र नेपाल फर्किए। आईएस्सी भर्ना भए। पढ्नु थियो साइन्स, मन अल्झिएको थियो सिनेमाटोग्राफीमा। उनी आईएस्सी सकेर फेरि मुम्बई हानिए। सिनेमाटोग्राफीमै डेढ वर्षको डिप्लोमा कोर्स गरे। यसपछिका केही वर्ष उनले उतै बिताए। मुम्बईका सिनेमाटोग्राफरसँग सहायक सिनेमाटोग्राफरका रुपमा काम गरे। भारतका चलेका टेलिसिरियलमा काम गरे। त्यहाँ उनले ७ वर्ष बिताए। उनी बलिउडमा स्थापित सिनेमाटोग्राफर बनिसकेका थिए।
सिनेमाटोग्राफरका रुपमा आफूलाई आत्मविश्वासी बनाएपछि नेपाल फर्किएका केसी अहिले नेपाली फिल्म उद्योगमा सक्रिय छन्। तर, नेपाल आउनेबित्तिकै उनका लागि सिनेमाटोग्राफीको यात्रा सहज थिएन।
‘करिअर छोडेर आउँदा समय यस्तो थिएन। मैले मुम्बईको इन्ड्रस्टीमा बिताएको समय, त्यहाँ गएर अध्ययन गरेको शिक्षा र बटुलेको अनुभव कसैलाई थाहा थिएन। त्यसैले यहाँ आउनासाथ काम पाइहाल्ने अवस्था थिएन। आफूलाई नेपाली फिल्म उद्योगमा प्रमाणित गर्न समय लाग्यो,’ उनी भन्छन्।
हरेक क्षेत्रका नेपाली बलिउडको बजारमा करिअर बनाउने संघर्ष गरिरहेका हुन्छन्। लामो समय नेपाली मनोरञ्जन उद्योगमा काम गरेका थुप्रै कलाकारले बेलाबेला भारतीय बजारमा आफूलाई प्रमाणित गर्ने कोसिस गरेका छन्। कतिले आफूलाई उतै स्थापित पनि बनाएका छन्। तर केसी भने बलिउडमा स्थापित भैसकेपछि नेपाल फर्किए। उनलाई त्यहाँको बजारले मोहित पार्न सकेन। मोहित पारेर तानेको ज्ञानको भोकले हो।
भन्छन्, ‘त्यतिबेला यहाँ सिक्ने ठाउँ नभेटेर म सिकाइको तिर्खा मेट्न मुम्बई गएको हुँ। तर सिकेर यहीँ केही गर्ने मेरो उदेश्य थियो।’
त्यतिबेला नेपाली फिल्म उद्योगमा नम्बर वान सिनेमाटोग्राफरको परिचय बनाएका राजुविक्रम थापासँग केसीको भेट भयो। केसीले उनैको असिस्टेन्टका रुपमा काम सुरु गरे। राजेश हमालदेखि श्रीकृष्ण श्रेष्ठसम्मका थुपै्र फिल्ममा असिस्टेन्ट सिनेमाटोगाफरका रुपमा काम गरे। राजुविक्रमसँग उनले झण्डै २० वटा फिल्ममा काम गरे।
‘वीरविक्रम’ फिल्म केसीले आफैँ सिनेमाटोग्राफर भएर खिचे। फिल्म चल्यो। त्यसपछि उनले अनुराग, शिशा, फिर्के लगायतका थुप्रै फिल्ममा काम गरे। अहिलेसम्म उनले ३० वटाभन्दा धेरै नेपाली सिनेमा खिचिसकेका छन्। पछिल्लो समय केसीको व्यस्तता म्युजिक भिडिओमा देखिएको छ।
केसीले सिनेमाटोग्राफी सुरु गर्दा फिल्मका दृश्यले मागेजस्ता क्यामरा थिएनन्। हिजोआज किसिम किसिमका क्यामरा छन्। चाहेजस्तो दृश्य कैद गर्न सकिन्छ। केसी फिल्ममा होस् अथवा म्युजिक भिडिओमा नयाँनयाँ प्रयोग गरिरहेका हुन्छन्।
समय एकनास रहेन। हिजोआज मानिसहरु हरेक क्षेत्रको थोरै ज्ञान आर्जन गर्ने र हरेक क्षेत्रमा आउने प्रचलन छ। सिनेमेटोग्राफीका क्षेत्रमा पनि अल्पज्ञान लिएर आउने फोटोग्राफर प्रशस्तै छन्। यसले गर्दा व्यावसायिक भएर काम गर्नेहरुलाई केही अप्ठ्यारो सिर्जना भएको उनी बताउँछन्।
त्यो भन्दा धेरै फिल्म तथा म्युजिक भिडिओको गुणस्तर खस्किएको छ। केसीलाई उद्योगमा भैरहेको गुणस्तरहीन कामले बेलाबेला नमज्जासँग झस्काउँछ। भन्छन्, ‘उद्योग जति बिस्तारित र पुरानो हुँदै जान्छ, काममा गुणस्तर पनि त्यही अनुसारको देखिनु पर्ने हो। त्यसो हुन सकेको छैन।’
अहिले पनि उनी नेपाली फिल्म उद्योगमा मात्रै सिमित छैनन्। बेलाबेला मुम्बईका सिनेमाटोग्राफर उनलाई बोलाइरहन्छन्। मुम्बई जान्छन्, केही फिल्ममा काम गर्छन्। कहिलेकाहीँ बिहारतिर जान्छन्, भोजपुरी सिनेमा खिच्छन् र फर्किन्छन्। नेपालमा भन्दा प्रविधिका हिसाबले भारतमा काम देखाउने प्रसस्तै ठाउँ भेटिन्छन्। तथापि केसीलाई भने नेपालमै काम गर्दा आत्मासन्तुष्टि प्राप्त हुन्छ।
भन्छन्, ‘आत्मसन्तुष्टि भन्दा ठूलो अरु के हुन्छ र?’
Shares
प्रतिक्रिया