चिटिक्क परेको घर। बुबा, आमा, भाइ–बहिनी र आफू भएको सुन्दर परिवार। एक समय कलाकार रेनुनाथ योगीलाई आफू सम्पूर्ण रुपले भरिपूर्ण लाग्थ्यो। रेनुको जन्म कालिकोटमा भएको हो। तर, उनलाई कालिकोटका बारेमा थाहा छैन। जन्मस्थान सम्झने हुनुअघि नै रेनुका बुबा–आमाले कालिकोट छाडे। रेनु एक वर्षकी थिइन्, उनलाई गम्भीर खाले रोगले च्याप्यो। कालिकोटमा उनको उपचार सम्भव भएन। त्यसपछि रेनुका बुबा–आमा कालिकोट छोडेर भारतको नैनीताल गए। छोरीको उपचार गरे, उतै बसे।
रेनुपछि केही वर्षको फरकमा २ भाइबहिनी जन्मिए। भाइ–बहिनीसँग खेल्नु, आमा–बुबाको काखमा लुट्पुटिनु, स्कुल जानु, साथीसँग खेल्नु रेनुको जीवनको यी सबैभन्दा सुन्दर अवधि थिए। तर, कामकाजी रेनुका बुबा–आमालाई उस्तै उमेरका छोराछोरी हुर्काउन गाह्रो भयो। ७ कक्षासम्मको पढाइ नैनीतालमै पूरा गरेकी रेनु त्यसपछि काठमाडौं आइन्। काठमाडौंमा उनको मामाघर थियो।
मामाघरमा मामा–माइजु, हजुरआमा थिए। अरु केटाकेटी थिएनन्। माया–ममता सबै कुरा थियो। तर आमा–बुबा थिएनन्। सँगै हुर्किएका भाइ–बहिनी र साथी नैनीतालमै छुटे र उतै छुट्यो रेनुको मन। काठमाडौं आएपछिको जिन्दगी सबथोक भएर पनि खल्लो भयो। ‘मनबिनाको जीवन कस्तो हुँदो हो, आफैँ कल्पना गर्नुस्,’ रेनु भन्छिन्।
पढाइमा अब्बल रेनुको काठमाडौं आएपछि पढाइ पनि खस्कँदै गयो। स्कुल पनि परिवर्तन भैरहे। साथीहरुसँग भावनात्मक मेलमिलाप हुन सकेन। रेनु आफैंभित्र एक्लो हुन थालिन्।
रेनु नैनीतालमा ‘रामलीला’ हेर्दै हुर्किएकी हुन्। उनलाई रामलीलाका हरेक दृश्यले आनन्द दिन्थ्यो। रामलीला हेर्दै गर्दा रेनु मनमनै भन्थिन्, ‘जिन्दगीमा मलाई पनि रामलीलाकी सीताजस्तै बन्नु छ।’ उनलाई आफूले हेरेका फिल्मको कलाकार बन्नु थियो। हिन्दी कर्मसियल फिल्म हेर्दै हुकिएकी रेनुले हरेक फिल्म हेरेर आफूलाई नयाँ हिरोइनको ठाउँमा राखेर हेरिन्। रेनुका परिवारमा सबै फिल्म हेर्थे, रमाउँथे, फिल्म हेरेर खुसी हुन्थे। घरमा खुसीको माहौल हुँदा फिल्म हेर्ने चलन पनि थियो। रेनुलाई लाग्थ्यो, ‘कलाकारलाई सबैले मन पराउने रहेछन्।
काठमाडौं आएपछि रेनुले ‘रामलीला’ हेर्न पाइनन्। फिल्मलाई आफ्नो साथी बनाउन थालिन्। रेनु भन्छिन् ‘म मुभी लभर हो। १६ वर्षको उमेरसम्म मलाई थिएटर थाहा थिएन। थिएटरमा आफूलाई उभ्याउँछु भनेर सपना देख्दै हुर्किएको बच्चा नै होइन म।’ प्लस टु पढ्दै गर्दा रेनु साथीहरुसँग मण्डला थिएटर पुगिन्। ‘चरणदास चोर’ नाटक हेरिन। रेनुलाई रामलीला र थिएटर उस्तै लाग्यो। उनले सोचिन्, ‘मेरो मनले हिँड्न चाहेको बाटो यही हो।’
थिएटर बाहिर निस्कँदै गर्दा राजनले भने, ‘थिएटर सिक्न चाहनेका लागि स्कलरसिप छ।’ राजनको त्यो वाक्य सुन्दै गर्दा रेनुलाई लाग्यो, ‘म यो संसारकै भाग्यमानी केटी हुँ।’ उनले थिएटरमा जोडिइन्।
सानैमा बुबा–आमाबाट छुटाएर ल्याएकी भान्जी भविष्य अन्यौल भएको क्षेत्रमा लागोस्, उनका मामा माइजु चाहँदैनथे। उनीहरु चाहन्थे, ‘भान्जीले राम्रोसँग पढोस्। सरकारी जागिर खाओस्। आफ्नो भविष्य सुरक्षित गरोस्।’ त्यसैले रेनुको थिएटर यात्रामा उनीहरुको साथ मिलेन। उनीहरुलाई लाग्यो, ‘बाटोमा संकट आयो भने थिएटर छोडेर पढाइमा मात्रै केन्द्रित हुन्छिन्।’ थिएटर गर्नुभन्दा विदेश गएर करिअर बनाउन सुझाव दिन्थे।
रेनुलाई भने थिएटरले मोहनी लगाइसकेको थियो। कुनै पनि सर्तमा थिएटरको यात्रामा विराम लगाउन तयार थिइनन्। बरु अप्ठ्यारो बाटो एक्लै हिँड्न तम्सिइन्। रेनु सम्झिन्छिन्, ‘उहाँहरुले आर्ट मन पराउनु हुन्थ्यो। सबैले सिनेमा हेरेको, सिरियल हेरेको देख्थेँ। म सोच्थेँ, कलालाई सबैले माया गर्छन्। मलाई विश्वास थियो उहाँहरुले मलाई सपोर्ट गर्नुहुने छ। तर, आफ्नो बच्चाले कलाकार बन्न खोज्दा सपोर्ट हुँदो रहेनछ। मेरो परिवारमा मात्रै होइन, मेरा थुप्रै साथीका पनि यस्तै कथा थिए।’
रेनुले कला यात्राका लागि परिवारसँग विद्रोह गर्नु पर्यो। विद्रोहको त्यो समय के भोगिन्, के भोगिनन् सबैकुरा उनले छातीमा राखेकी छिन्। तर परिवारले नगरेको त्यो समर्थनमा पनि रेनु आफूप्रतिको गहिरो प्रेम चाहिँ देख्थिन्। परिवारका सबैजना महिनावारी तलब आउने जागिर खान्थे। परिवारले उनीप्रति पनि त्यही सपना देख्यो।
कला क्षेत्र व्यवस्थित थिएन, नियमित आम्दानी हुँदैनथ्यो, समाजको हेर्ने दृष्टिकोण पनि खास राम्रो थिएन। भविष्य नै सुरक्षित नभएको क्षेत्रमा आफ्नो बच्चालाई हिँड्न कसले पो दिन्थ्यो र?
सपनाका लागि, आफूले चाहेको यात्राका लागि रेनुले एक्लै संघर्ष गरिन्। बेलाबेला उनलाई भंयकर डर लाग्थ्यो। उनी भन्छिन्, ‘डर पनि लाग्थ्यो कहिलेकाहीँ, कतै गलत चिजको लागि फाइट गरिरहेको त छैन? कसैको मप्रति स्नेह नै देख्दिनथेँ। एक समय यस्तो पनि आयो, कसैलाई म घर आएको पनि मतलब हुँदैनथ्यो, घरबाट निस्किएको पनि मतलब हुँदैनथ्यो।’
त्यतिबेला रेनुको बसाइ मण्डिखाटार थियो। मण्डला थिएटर अनामनगर। उनी हरेक दिन बिहान हिँड्दै अनामनगर आउँथिन्, साँझ हिँड्दै मण्डिखाटार पुग्थिन्। परिवारलाई लाग्थ्यो, ‘पैसा नभएपछि, दुःख भएपछि रेनु यो यात्राबाट थाक्ने छिन्।’ उनको परिवारका सदस्यले यस्ता अरु थुप्रै उपाय अपनाए। तर रेनुलाई यही बाटो हिँड्नु थियो। रेनु भन्छिन्, ‘आफूलाई समर्पण गर्न मन लाग्ने यही एउटा चिज थियो। अरु कुनै चिजले मलाई आकर्षित गर्दै गरेन।’ बाटो अप्ठ्यारो थियो, एक्लो थियो तर फर्किएर आफ्नै सपनासँग हार्ने छुट रेनुलाई थिएन। उनलाई केवल एउटै कुरा मात्रै लाग्यो, ‘म एक दिन आफूलाई प्रमाणित गरेर छोड्छु।’
रेनु आफ्नो सपनाका लागि स्वतन्त्र रुपमा हिँड्न चाहन्थिन्। आफ्नो खुसीका लागि निस्फिक्री हिँड्नु थियो। आफ्नो यात्राले अरुलाई नबिझाओस् भन्ने कुरामा पनि रेनु सचेत त थिइन्। तर उनीसँग जोडिएका कति मान्छेको मन उनको यात्राले दुखायो, आफ्ना दुखे, यो दुखाइलाई रेनुले आफूप्रतिको माया सम्झेर संगालेर राखेकी छिन्।
भन्छिन्, ‘मेरो संघर्षको यात्रामा आफ्नाको साथ थिएन। तर मेरो उहाँहरुप्रति गुनासो छैन। उहाँहरुले मेरो क्षेत्रलाई बुझ्न सक्नु भएको छैन। यो पनि मेरै लागि थियो। यसलाई बाँच्न सजिलो होस् भन्ने नै उहाँहरुको चाहना थियो। थिएटर गरेर मलाई बाँच्न गाह्रो भएको कुरा म आफूले पनि स्वीकार गरेको छु।’
रेनु थिएटर सिक्दै थिइन्, त्यहीबेला दयाहाङ राईले ‘मितज्यू’ नाटक बनाउने भए। विजय बरालले रेनुलाई सोधे ‘नाटक गर्ने हो?’ रेनुले उत्साहित हुँदै भनिन् ‘गर्ने हो।’ रेनुले पहिलो पटक यो नाटकमा अभिनय गरिन्। यो नाटकमा काम गर्दाको अनुभव रेनुसँग भंयकर छ। भन्छिन्, ‘यति धेरै मान्छे आँखाअगाडि छन्। त्यो बेला मण्डला नाटकर घरको मञ्च र दर्शकको दुरी पनि निकै कम हुन्थ्यो। डर लाग्थ्यो, नर्भस हुन्थेँ। ब्याक स्टेजमा गाह्रो हुन्थ्यो। सिर्जना दिदीले सम्झाउँदै भन्नुहुन्थ्यो, पीर नगर केही हुँदैन। तर आफ्नो क्यारेक्टर पोट्रेट गर्दाको जोन असाध्यै सुन्दर थियो।’
रेनुको सपनाको यो अप्ठ्यारो बाटोमा उनका दाजु थिए, जसले हिम्मत दिन्थे। उनको पनि सवारी दुर्घटनामा निधन भयो। दाइको मृत्युले रेनु असाध्यै टुटिन्। उनलाई जिन्दगीमा हाँस्ने, खुसी हुने दिन फर्किएर आउँदैन जस्तो महसुस हुन्थ्यो। विक्षिप्त भैरहेकै बेला सोचिन्, ‘मेरो दाइले मलाई हेर्न चाहेको यो अवस्थामा होइन। हिम्मत जुटाइन्। सपनाको बाटोमा उसैगरी फर्किइन्।
सन् २०१८ मा रेनुका बुबा–आमा नैनीताल छोडेर काठमाडौं आए। रेनु बुबाआमासँगै बस्न थालिन्। लगातार १२÷१३ वटा नाटकमा काम गरिन्। उनले अभिनय गरेका पात्र कति जीवन्त भए, कति ठिकै।
थिएटरमा काम गरिरहे पनि रेनुको सपना फिल्म थियो। फिल्ममा कसरी जाने थाहा थिएन। फिल्ममा काम गर्न मन थियो, तर कुनै फिल्ममा अडिसन हुँदैनथ्यो। रेनुलाई दुःख लाग्थ्यो। समय लकडाउनको थियो। थिएटरहरु बन्द थिए। घरमा बसेर रेनुले आफैँले हिँडिआएको बाटो फर्किएर हेरिन्। उनलाई लाग्यो, ‘मैले गरेको कामको मान्छेहरुले सम्मान गरे। तर आफ्नैहरुले आएर मेरो काम हेरेका छैनन्। म कस्तो बाटो हिँडिरहेकी छु!’ रेनु त्यो समय निकै डिस्टर्ब्ड थिइन्। रेनुले यति संघर्ष गरेर बनाएको ठाउँ छोड्छु भन्ने मन बनाइन्। देश छोड्ने मन बनाइन्।
भन्छिन्, ‘मैले जोखिम लिनु पर्छ आफ्नो भविष्यको लागि। म यहाँबाट निस्कनु पर्छ भन्ने भयो।’ रेनुले देश छोड्नका लागि ऋण लिइन्। चहिने सामानको जोहो गरिन्। त्यही समय फिल्म ‘प्रकाश’का लागि कलाकारको अडिसन हुन लागेको थाहा पाइन्। रेनुले अन्तिम पटक ट्राइ गर्ने सोच बनाइन्। ‘पहिलेबाटै म एक्लै बस्दा सोच्थेँ, आज पो नराम्रो छ भोलि त राम्रो आउँछ। मैले प्रकाशको अडिसन दिँदा सोचिरहेकी थिएँ, यो मेरो लास्ट चान्स हो। म क्यारेक्टरको लागि सेलेक्ट हुन्छु हुँदिनँ थाहा थिएन। तर मलाई सतप्रतिसत दिनु थियो। दिएँ। फिल्मका लागि छानिएँ। मैले देश छोड्न योजना परिवर्तन गरेँ,’ उनले सुनाइन्।
प्रकाशमा रेनुले प्रमुख भूमिकामा काम गरिन। राम्रो प्रतिक्रिया पाइन्। फिल्मले थुप्रै अवार्ड जित्यो।
रेनु अहिले मण्डला नाटक घरमा मञ्चन भैरहेको नाटक ‘हिउँभन्दा चिसो’मा अभिनय गरिरहेकी छिन्। नाटकमा नौरतीको भूमिका निर्वाह गरेकी रेनुको यसपटक पनि कामको तारिफ भैरहेको छ। उनका बुबाआमाले कला नबुझे पनि उनको सपनालाई बुझिदिएका छन्, माया गरिदिएका छन्। रेनु खुसी छन्।
Shares
प्रतिक्रिया