ad ad

कला


रक्सीको लती भएको थिएँ, छाडेपछि साह्रै आनन्दित छु : स्पाइडरम्यान अभिनेता

रक्सीको लती भएको थिएँ, छाडेपछि साह्रै आनन्दित छु : स्पाइडरम्यान अभिनेता

नेपालखबर
असार २६, २०८० मंगलबार २०:५४,

हलिउड अभिनेता टम हल्यान्डले आफू अल्कोहलको वशमा परेको खुलासा गरेका छन्। यस वर्षको सुरुवातदेखि नै मद्यपान छाडेको उनले बताएका छन्।

एक पडकास्टमा बोल्दै हल्यान्डले गत वर्षको क्रिसमसमा आफूले सक्दो रक्सी खाएको बताए। त्यसपछि उनले जनवरीभरि रक्सी नखाने वाचा गरेका थिए। 

‘मेरो दिमागमा जतिबेला पनि रक्सी पिउने इच्छा मात्र हुन्थ्यो। यसले म निकै डराएँ,’ उनले भने।

यस्तो समस्या देखिएपछि उनको अर्को महिना पनि रक्सी पिएनन्। तर, बेलायतमा रक्सी पिउने संस्कृतिका कारण निकै कठिन भएको उनको भनाइ छ।

‘म घुलमिल हुन सक्दिनँ जस्तो लाग्यो। पबमा गएर लाइम सोडा खान सक्छुजस्तो मलाई लागेन। खाना खान बाहिर जान सक्छुजस्तो लागेन,’ उनले भने, ‘मलाई निकै कठिन भइरहेको थियो। मैले आफैँलाई भनेँ, ‘किन? किन म रक्सीको दासजस्तो भएँ?’

त्यसपछि ६ महिना पिउँदै नपिउने निर्णय गरेको उनले बताए। जुन १ मा जन्मदिन मनाउँदासम्म रक्सी नपिउँदा आफू सबैभन्दा खुसी भएको उनको भनाइ छ।

रक्सी छाडेपछि सुताइ राम्रो भएको, समस्या समाधानमा सहज हुन थालेको पनि उनले बताए।

‘म निश्चय नै रक्सीको लती भएको थिएँ। यसो भन्न म लाज मान्दिनँ,’ उनले भने।

आफ्नी आमाको लत पनि आफूले छुटाएको उनको भनाइ छ।

एप्पल टीको सिरिज द क्राउडेड रुमको सुटिङपछि उनले एक वर्षको छुट्टी लिएका छन्। जसको नौ महिना उनले बिताइसकेका छन्। 

उनी अहिले अभिनेत्री जेन्डायासँग डेटिङमा छन्। जेन्डायाले आफूलाई निकै सघाएको उनको भनाइ छ।

‘म भाग्यमानी छु, किनभने जेन्डायाजस्तो व्यक्ति मेरो जीवनमा छिन्,’ उनले गत साता भनेका थिए, ‘एउटै डुंगामा भएको अर्को व्यक्तिसँग प्रेम सम्बन्धमा रहनु एकदमै रोचक हुन्छ। अनुभव साटासाट गर्न सकिन्छ। त्यो निकै अमूल्य छ।’ एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .