जीवनको केही महत्वपूर्ण समय टिचिङ अस्पतालको मानसिक वार्डमा बिताएँ। त्यस वार्डमा भर्ना भएका मानिसहरु हरेक क्षण आफ्नो कथा र अवस्था बदलिरहन्थे। नबदलिने भनेको उनीहरुको मानसिक अवस्था हो। त्यही पनि औषधिले घरिघरि शान्त बनाइदिन्थ्यो।
त्यही वार्डमा कहिल्यै परिवर्तन नहुने अनुहार थियो कान्ता (परिवर्तित नाम)को। उनी हरेक दिन आफ्नै लुगाको बच्चा बनाउँथिन् र हल्लाइरहिन्थिन् काखमा। कहिले सुताउँथिन् आफ्नै आडमा। पानी खुवाउँथिन्, दूध खुवाउँथिन्। बच्चा खेलाउँदा खेलाउँदै निदाउँथिन् पनि। सपनामा के देख्थिन् थाहा छैन, चिच्याउँदै उठ्थिन र ‘मेरो बच्चा खोइ?’ भन्थिन्। नजिकै बसेर उनका श्रीमान उनलाई थुम्थुम्याउन खोज्थे। सक्दैनथे। डाक्टर आउँथे सुई लगाइदिन्थे। उनी शान्त हुन्थिन्।
दुई महिनाको बसाइपछि कान्ता केही ठिक भइन्। उनका श्रीमानले डाक्टरको प्रेसकिप्सनअनुसार औषधिको झोला बोकेर कान्तालाई घर लगे। म अरु केही महिना अस्पतालमै बसेँ। कान्तालाई फलोअपमा ल्याउँदा भेट भैरहन्थ्यो। उनका श्रीमान् मेरो राम्रो साथी भएका थिए। पछि उनीहरुलाई अमेरिकाको डीभी पर्यो। कान्ता श्रीमानसँग अमेरिका उडिन्। त्यसपछि उनीहरुसँग कुराकानी भएन। मैले कान्तालाई बिर्सिसकेकी थिएँ।
यो साता मण्डला थिएटरमा मञ्चन भैरहेको नाटक ‘हिउँभन्दा चिसो’ हेरेपछि एकाएक कान्ता मेरो स्मृतिमा आइपुगिन्। मण्डला नाटकघरको मञ्चमा नौरती कान्ताको जस्तै जीवन बाँचिरहेकी देखिन्छिन्। कान्ताले त्यो समय बाँचेको परिवेश र नाटककी नौरतीले बाँचेको परिवेश भने फरक देखिन्थ्यो। नाटकको कथा नयाँ होइन, नौरतीको जस्तै जीवन कयौं कान्ताहरुले बाँचेका छन्। सस्पेन्स थ्रिलर विधाको यो नाटकमा ३ पात्र देखिन्छन्।
डाक्टर सिद्धान्त (भोलाराज सापकोटा), उनका कार्यालय सहयोगी गोपी (गोविन्द सुनार) र गोपीकी श्रीमती नौरती (रेणु योगी)ले नाटकको सम्पूर्ण कथा भनेका छन्। डाक्टर सिद्धान्त र गोपीको गाउँ यात्राबाट सुरु भएको नाटक गोपीको घरमा केन्द्रित रहन्छ।
‘मेडिकल मिट’का लागि गाउँ हिँडेका सिद्धान्तले गोपीकी श्रीमती नौरतीले फोनमा बच्चा बिरामी भएको कुरा बताएको सुन्छन्। त्यसपछि उनले पहिलो गन्तव्य नौरतीको घरलाई बनाउँछन्। बाटोमा गोपीले कयौँ पटक आफ्नो घर नजान र आफ्नो बच्चालाई केही नभएको बताइरहन्छन्। तर सिद्धान्त मान्दैनन्।
गोपीको घर पुगिसकेपछि सुरु हुन्छ अनौठो दृश्य। नौरतीले बाँचेको त्यही सत्य र असत्यको परिबन्दमा पर्छन् डाक्टर सिद्धान्त। यो परिबन्दमा ३ पात्रले अभिनय गरेका छैनन्, एउटा जीवन बाँचिदिएका छन्। उनीहरुको यही जीवन बाँच्ने कलाले दर्शकलाई बाँधेर राख्छ।
नौरतीले बाँचिरहेको जीवन उनकै श्रीमान् गोपीका लागि पनि सत्य होइन। तर गोपीले जीवन नै भ्रम सम्झेर नौरतीलाई त्यही जीवन बाँच्न साथ दिएका छन्।
'कहना गलत गलत, छुपाना सही सही'
नुसत फतेह अली खानको कबाली जस्तै साँचो साँचो लुकाएर झूटो झूटो बताइरहेका छन् उनले, एउटा जीवनलाई ज्युँदो राख्न।
नाटकमा एक अद्भूत प्रेम प्रस्तुत हुन्छ। त्यो प्रेम एउटा पतिले पत्नीलाई गर्ने प्रेम पनि हो, एउटी आमाले आफ्नो सन्तानलाई गर्ने प्रेम पनि हो। बल्ल भरिएको नौरतीको कोख, जीवित नजन्मिएको उनको बच्चा र त्यसपछि उनले बाँचेको मानसिक अवस्था नाटकको मुख्य विषयवस्तु हो। नौरतीलाई बचाउन गोपीले दिएको खेलौना नै नौरतीका लागि आफ्नो बच्चा हो। यो खेलौना बच्चा पनि हुर्किंदै जान्छ, यसको पनि आफ्नै रहस्य छ। नाटकमा नौरतीलाई बचाउन गोपीले चलाखी गरेका छन्।
यो कथा कर्णालीको विकट, हिमाली गाउँको परिवेशमा भनिएको छ। त्यतैको भाषाशैली र बसाइले रित्तिएको गाउँ खास नेपाली परिवेश हो। मूल कथानक मनले मानेको र नमानेको सत्यको द्वन्द्वका अतिरिक्त नाटकको आकर्षण ठ्याक्कै गाउँ पु¥याउने गरी निर्माण गरिएको मञ्चको परिवेश हो।
नाटकको सबैभन्दा ठूलो शक्ति कलाकारको अभिनय हो। नौरतीको भूमिकामा देखिएकी रेणु योगीले दर्शकलाई कायल पार्छिन्। गोपीको भूमिकामा देखिएका गोविन्द सुनुवार आग्र्यानिक लाग्छन्। भोलाराज सापकोटा नाटकमा जमेका छन्। नाटक हेरेर दर्शक हाँस्छन्, दुःखमा पनि हाँसेर बाँचिरहेका गोपी र नौरतीको शक्ति हो यो। तर, नाटकको कथा भने दर्शक रुवाउने कथा हो। कलाकार दुख्ने कथा पनि हसाउँदै भनिन्छ, दर्शक हाँस्दा हाँस्दै रुन्छन्। हाँस्दै रुँदै नाटक सकिन्छ।
यो नाटक रित्तो सहर र रित्तो गाउँको कथा पनि हो। सबैले गाउँ छोडिसक्दा पनि गाउँ छोड्न नसकेकी नौरतीलाई डाक्टरले गाउँ नछोड्नुको कारणबारे सोध्छन्। नौरती जवाफमा भन्छिन्, ‘तिमीकन कल्ले भन्यौ सप्पै गया? जो कमजोर छिया नि, जइ कन यही ठाउँको माया लाग्दैन छि, जो यही ठाउँबाट लिन मात्तै जान्द छे नि। हो ती मान्छे गया हो। बाँकी त सप्पै यहाँ छन्।’
नौरतीको यो जवाफलाई आधार मान्ने हो भने यो आफू जन्मेको ठाउँको मायाको पनि कथा हो। त्यसो त नाटकमा थुप्रै अविश्वासका कथा पनि जेलिएका छन्। नाटकमा चिसो सत्य, तर तातो प्रेम, यो जटिल प्रेमकथालाई सफलताका साथ मञ्चमा उतार्न सफल भएका छन् निर्देशक सोमनाथ खनाल।
नाटकमा भूगोल, समाजमा बोलिने भाषा, लवज, भेषभुषाका साथमा ध्वनि र प्रकाशमा पनि उत्तिकै मिहिनेत गरिएको छ। मञ्चमा देखिने पात्रको मुड र संवाद अनुसार बज्ने पाश्र्व संगीतले दर्शकलाई मज्जाले तान्छ। नाटकको पृष्ठभूमिमा बज्ने गीत ‘हिउँभन्दा अग्लो सबैको दुःख हुन्छ, त्योभन्दा चिसो रित्तिएको कोख हुन्छ’ले नाटकको समग्र कथा प्रष्ट्याउँछ।
भारतीय लेखक सौरभ शुक्लाले लेखेको नाटक ‘बरफ’बाट प्रभावित यो नाटक नम्रता केसीले अनुवाद गरेकी हुन्। भारतीय पृष्ठभूमिमा लेखिएको नाटक हेर्दा कुनैपनि कोणबाट अनुवाद गरिएको नाटक हो भन्ने महसुस हुँदैन। पुरानै कथा पनि फरक शैलीमा भन्न सकियो भने रोचक बन्छ भन्ने कुरा यो नाटकले प्रष्ट पारेको छ।
Shares
प्रतिक्रिया