‘जति धेरै स्मृति संगालेर हिँड्यो छातीमा, त्यति नै गह्रौँ हुन्छ जिन्दगी,’ गायिका प्रिती कौरलाई लाग्छ। त्यसैले पनि प्रितीले जिन्दगीका कयौँ सम्झना जहाँ बाँचिन्, त्यहीँ छोडेर हिँडिदिइन्। त्यसो गर्दा बाटोमा केही सुन्दर स्मृति पनि छोडिए। आजमा बाँच्ने प्रितीलाई आजको जिन्दगी सुन्दर लाग्छ, त्यही सुन्दरतामा रमाइरहेकी हुन्छिन्।
प्रितीका आमाबुबा भारतीय नागरिक हुन्। १५ वर्षको उमेरमा नेपाल आएका प्रितीका बुबा आफ्नै देश फर्किन्छु भन्ने त सोचिरहन्थे। तर यतै रमाए। विवाह गरेर श्रीमती नेपालमै ल्याए। प्रितीको जन्म पनि नेपालमै भयो।
प्रितीले ललितपुरको कुपन्डोलमा आफ्नो बाल्यकाल गुजारिन्। बाल्यकालका सम्झना पनि उति साह्रै छैनन् प्रितीका मानसपटलमा। उनलाई यत्ति थाहा छ, ‘मेरो बाल्यकाल सुन्दर थियो।’ प्रितीका धेरै आफन्त नेपालमा थिएनन्। त्यसैले पनि प्रितीको बाल्यकाल प्रायः घरभित्रै बित्यो।
स्कुल जानु, घर फर्किनु अनि घरभित्रै रमाउनुबाहेक अरु कुनै कुरामा प्रितीको मन गएन। घर बाहिर जाँदा प्रायः आमासँग हिँड्ने प्रितीलाई एक्लै बागमतीको पुल तरेर कुपण्डोलवारि आएको सम्झना छैन। प्रितीको स्वभाव नै त्यस्तै थियो। घरबाट बाहिर निस्कन नचाहने, एक्लै रमाउने के कुराले बनायो भन्ने उनलाई थाहा छैन।
नेपालमै जन्मेहुर्केकी प्रितीलाई यहाँका हरेक कुरा मन पर्थे। तर, उनी बाहिर निस्किएर यहाँको वातावरणसँग रमाउन सक्दिनथिन्। उनलाई लाग्थ्यो, ‘आफ्नो स्वभाव आफैँले बुझ्न, आफैँलाई भेट्न बाँकी रहेजस्तो।’
व्यापारिक पृष्ठभूमिका उनका बुबाआमा उनलाई लिएर के सपना देख्थे, त्यो आजसम्म उनलाई थाहा छैन। स्कुलको पढाइ सकिएसँगै प्रितीको यो स्वभाव परिवर्तन भयो। घर बाहिर ननिस्किएकी प्रितीले काठमाडौंका सबै गल्ली चहारिन्। काठमाडौंका सबै ठाउँ पुगिन्। घरबाहिर निस्किएपछि नै हो प्रितीले जीवनको सपना देख्न थालेको।
घर बाहिर निस्किएपछि प्रितीको मन संगीतले तान्यो। उनले गायिका बन्ने सपना बनाइन्। त्यसपछिको पढाइ नै उनले संगीतमा अगाडि बढाइन्।
प्रितीले सन् २००४ मा पहिलो पटक ‘प्रिती कौर’ नामको एल्बम सार्वजनिक गरिन्। एल्बमको ‘धेरै पल्ट जीवनमा’ बोलको गीत लोकप्रिय भयो। उनको गीत रेडियोबाट त्यसताका खुब बज्यो। क्यासेट र सीडी बिक्री भए। प्रिती र स्रोताबीच एकखालको सम्बन्ध स्थापित भयो।
त्यो समय अर्कै थियो। प्रितीको गीत सुन्न कुरेर बसेको कथा प्रितीका फ्यानले पछिसम्म सुनाउँथे। आफ्नो गीतको म्युजिक भिडिओमा आफैँ देखिएकी प्रितीको नाचको समेत चर्चा हुन्थ्यो। टेलिभिजन युगकी यी गायिकालाई नचिन्ने युवा कमै हुन्थे। प्रितीको नाम र अनुहार थाहा नहुनेहरुले पनि उनको आवाज चाहिँ सुनेका हुन्थे।
नेपाली पप संगीतमा प्रितीले छोटो समयमै अग्लो पहिचान बनाइन्। तर उत्कर्षमा पुगेको उनको करिअरमा एकाएक ब्रेक लाग्यो। गाउँदागाउँदै प्रितीले सांगीतिक क्षेत्र छोडिन्। गायन यात्रामा विराम लगाए पनि प्रितीको मनमा भने सदैव संगीत नै हुन्थ्यो। उनी आउँदै गरेको नयाँ पुस्तालाई सुनिरहन्थिन्। उनले संगीत क्षेत्रबाहिरै बसेर नियालिरहिन्, नेपाली संगीतको ट्रेन्ड कसरी बदलिँदैछ, के नयाँ भित्रिँदै छ, के विस्थापित भैरहेछ। यसरी प्रितीले १० वर्ष गुजारिन्।
यो समय गुजार्न त्यति सजिलो भने थिएन। प्रितीलाई आफूले चाहेको जस्तो गर्न नसकेको महसुस भयो। सन् २०१० मा उनी नेपाल नबस्ने सोचेर भारत गइन्। धेरै वर्ष उनको मन उता अडिएन। सन् २०१३ मा नेपाल फर्किन्। त्यसपछि उनी नेपालमै बसिन् तर संगीतमा देखा परिनन्। नेपालका थुप्रै कलाकार बलिउडमा स्थापित हुने संघर्ष गरिरहेका हुन्छन्। तर, उनले उता त्यस्तो प्रयास गरिनन्। नेपाली संगीत छोड्न मन लागेन। यो बीचमा केही समय अमेरिकामा पनि बिताइन्। फेरि नेपाल नै पर्किन। भन्छिन्, ‘यहाँको माटोसँग मेरो सालनालको नाता छ। अरु देशमा मन रमाएन।’ १० वर्षपछि प्रितीले पुनः सांगीतिक यात्रा सुरु गरिन्।
उनले पुनः गायन यात्रा सुरु गर्दा समय अर्कै भैसकेको थियो। उनको समयको जस्तो दिगो लोकप्रियता पनि हराउँदै गएको थियो। इन्टरनेट युगमा दिनहुँ नयाँ अनुहार चर्चामा आउने र हराउने गर्थे। यस्तो परिवेशमा प्रितीले शून्यबाट अर्को यात्रा सुरु गर्नु पर्यो।
हुन त पुरानो लोकप्रियता, नाम र चर्चाले थोरै काम पक्कै गर्यो। तर यात्रा सहज थिएन। उनले यो कुरा राम्रोसँग बुझेकी थिइन्। गायनमा फर्किएपछि प्रितीले अघिल्लो वर्ष पहिलो पटक तीज गीत गाइन्। ‘ढल्की ढल्की’ बोलको प्रितीको तीज गीत स्रोताले मन पराए। गायनमा फर्किएपछि प्रितीका ‘रहर, चिम्लेर आँखा, तिम्रै लागि, के को सान’ लगायतका गीत बजारमा आए। बजारमा गीतले ठिकठाकै चर्चा पाए। प्रिती अहिले नयाँ गीतको तयारीमा छिन्। प्रिती पुनः नेपाली सांगीतिक उद्योगमा संघर्ष गर्दै गरेको बताउँछिन्।
प्रितीको अनुहार हँसिलो देखिन्छ। उनको स्वभाव नै हो, हिँडिआएको बाटोसँगै धेरै सम्झना पनि छाडिदिने। तर, कतिपय सम्झनाले भने पछ्याइरहन्छन्। त्यस्तै एउटा सम्झना हो, आफैँ जन्मिएको देशमा पनि अनागरिक भएर बाँच्नु पर्दाको विवशता। प्रिती नेपालमा जन्मिइन्, नेपालमै हुर्किइन्। केही समय भारत, अमेरिकामा गुजारिन्। तर ४० वर्षको उमेर बाँच्दै गर्दा प्रितीले मुस्किलले नेपाल बाहिर ४ वर्ष गुजारेकी छिन्। उनलाई लाग्छ, ‘आफ्नो जरा यतै गाँसिएको छ।’
तर प्रितीसँग यो देशको नागरिकता छैन। नेपाली युवकसँग विवाह गरेर पनि भारतीय भएर बाँचिरहेकी प्रितीले कहिलेकाहीँ जवाफ दिनै नसक्ने प्रश्नको सामना गर्नुपर्छ, ‘तिम्रो देश कुन हो प्रिती?’
उनी मौन बस्छिन्। एकताका नागरिकताको विषयलाई लिएर उनी निकै चर्चामा पनि आइन्। फेरि पनि उनलाई यो देशको नागरिकता नहुनुसँग उतिसाह्रो गुनासो छैन। भन्छिन्, ‘म यही देशमा जन्मिएको यही देशको नागरिक हुँ। यहाँको कानुनले मलाई पहिचान दिएन। त्यसले मलाई के फरक पार्छ? मेरो मन त नेपाली हो।’
Shares
प्रतिक्रिया