प्रमिला कार्की बालुवाटारबाट नेपालखबरको कार्यालयतर्फ निस्किँदै थिइन्। बाटोमा निस्किएकी उनलाई बाइकमा आउँदै गरेका पुरुषले सोधे ‘जाने हो?’ उनको मनमा आक्रोशको आगो बलिसकेको थियो, तर नम्र भएर सोधिन्, ‘कता लैजानु हुन्छ?’ पुरुषले जवाफ फर्काए ‘जता जानुहुन्छ।’ खासमा ती पुरुष पठाओ राइडर थिए।
पछिल्लो समय पठाओ राइडर सडक किनारमा बसेर यसैगरी बार्गेनिङ गरिरहेका भेटिन्छन्। प्रमिलाले पनि उनी पठाओ राइडर हुन भनेर बुझेकी थिइन्। उनलाई राइडरको यो तरिका गैरकानुनी हो भन्ने पनि थाहा थियो। त्यसपछि उनले पठाओ राइडरलाई नमज्जासँग गाली गरिन्। आइन्दा यस्तो काम नगर्ने भनेर ती राइडर बिदा भए।
प्रमिलाको स्वभाव सानैदेखि यस्तै थियो।
उनकै उमेरका कतिपय छोरीहरू बोल्न नसकेर थुप्रै खालका अन्याय भोगिरहेका हुन्थे। उनको विद्रोही स्वभावका कारण मानिसहरू उनीमाथि दुर्व्यवहार गर्न डराउँथे। प्रमिलाको मन भने अरु दुर्व्यवहारमा परेको कुराले पिरोलिरहन्थ्यो। उनलाई लाग्थ्यो, ‘कम्तीमा छोरीहरूलाई आफ्ना लागि बोल्न सक्ने आँट दिन मैले पनि केही सानो काम गर्न पाए!’
पुराना अभिनेता सरोज खनालले फिल्म ‘बगान’ बनाउने भए। सरोजलाई एउटी विद्रोही छोरी चाहिएको थियो। यसअघि नै सरोजले प्रमिलासँग एक गीतको म्युजिक भिडिओमा सँगै काम गरिसकेका थिए। उनले थाहा पाएका थिए, प्रमिलाको स्वभाव र उनले निर्वाह गर्न सक्ने क्यारेक्टर। त्यसैले त्यो विद्रोही छोरीको भूमिका प्रमिलालाई प्रस्ताव गरे।
प्रमिलाको फिल्ममा अभिनय गर्ने सपना सानैदेखिको हो। उनले लामो समय अनुप बरालसँग अभिनय सिकिन्। २ वटा नाटकमा अभिनय गरिन्। केही म्युजिक भिडिओमा काम गरिन्। ‘बगान’ अघि पनि उनलाई केही फिल्मबाट प्रस्ताव आएका थिए। तर उनलाई केही फिल्मका स्क्रिप्टले छोएनन्। केही फिल्मका स्क्रिप्ट पढ्नै पाइनन्। फिल्मको अफर लिएर आउने कतिपय निर्मातालाई ‘स्क्रिप्ट दिनु, पढेर जवाफ दिन्छु’ भन्दा नमिठो जवाफ लाएका छन्। तर उनले फिल्ममा आउन हतार गरिनन्।
प्रमिला सरोजको प्रस्तावले उत्साहित भइन्। फिल्मको स्क्रिप्ट पढिन्। उनलाई लाग्यो, ‘यो पात्र मैले नै निर्वाह गर्नु पर्छ।’ यो फिल्ममा प्रमिला विधवा आमाको रहर र चाहनाका लागि समाजसँग विद्रोह गर्दैछिन्। भन्छिन्, ‘हाम्रो समाजमा आज पनि एकल महिलाले नयाँ जीवन सुरुवात गर्ने कुरालाई निकै जटिलताका साथ हेरिन्छ। तर एकल महिलाले पनि चाहेको खण्डमा फैलिन, फूल्न, मौलाउन पाउनु पर्छ भन्ने विद्रोह मेरो क्यारेक्टरले गर्ने छ।’
प्रमिलाले पहिलो पटक अभिनय गरेको फिल्म ‘बगान’ असार २९ गतेबाट रिलिजको तयारीमा छ। यतिबेला प्रमोसनमा हिँडिरहेकी प्रमिलाको मनमा मिश्रित भावना छन्। रहर पुरानो हो, उनीसँग थिएटर तथा म्युजिक भिडिओमा काम गरेको अनुभव पनि छ। तर पहिलो पटक नायिकाका रुपमा देखिने तयारीमा रहेकी प्रमिला कहिले डराउँछिन्, कहिले उत्साहित हुन्छिन् त कहिले कस्तो प्रतिक्रिया आउने होला भनेर नर्भस हुन्छिन्।
वास्तविक जीवनमा आफूप्रति कसैले गरेको अन्याय सहने केटी होइनन् प्रमिला। उनले फिल्ममा निर्वाह गरेको भूमिका पनि यही हो। त्यसैले उनलाई त्यो चरित्रमा प्रवेश गर्न त्यति धेरै गाह्रो भएन। ‘पात्र र ममा थुप्रै प्रकारका समानता थिए। तर एक तहको रिसर्च त मैले गर्नु पर्यो, अन्यथा मैले जीवनमा थुप्रै पटक थुप्रै खाले विद्रोह गरेको छु। आफूलाई फिल्मको पात्रमा ढाल्न सहज भयो,’ प्रमिला सुनाउँछिन्।
पहिलो फिल्ममा नै उनले पुराना कलाकारसँग काम गर्ने अवसर पाइन्। ‘बगान’मा सबैभन्दा धेरै प्रमिला करिश्मा मानन्धरको वरिपरि देखिनेछिन्। यी दुईले आमाछोरीको भूमिका निर्वाह गरेका छन्।
अभिनय गर्ने प्रमिलाको रहर स्कुल पढ्दादेखिकै हो। उनी त्यो समय हेरेका फिल्मको दुरुस्तै अभिनय गरेर साथीलाई सुनाउँथिन्। उनका साथीहरू भन्थे, ‘तँ त कलाकार बन्छेस्।’ प्रमिलालाई पनि हो लाग्थ्यो। अभिनय सिक्नकै लागि बुटवलबाट काठमाडौं आएकी प्रमिलालाई कुनैदिन फिल्मको हिरोइन नै बनुँला भन्ने चाहिँ थिएन।
प्रमिलाको यो यात्रा उनको परिवारका लागि नौलो हो। अभिनय सिक्नुअघि नै उनले टेलिभिजन प्रस्तोता भएर काम गरिन्। बुद्ध टेलिभिजन, नेपाल टेलिभिजन हुँदै प्राइम टेलिभिजनमा समेत काम गरेकी प्रमिलाको सञ्चार यात्रा पनि परिवारका लागि नौलो थियो। उनीभन्दा अगाडि उनको परिवारका कोही पनि अभिनय र सञ्चारमा आएका छैनन्। त्यसैले सुरुमा उनले प्रस्तोता बन्नेर अभिनय गर्ने रहर सुनाउँदा उनका बुवा भन्थे, ‘सक्दैनौ होला तिमी।’
प्रमिलामा भने गर्न सक्छु भन्ने आत्मविश्वास थियो। अहिले उनले हिँडेको बाटो हेरेर उनका बुबाआमा खुसी छन्। बुबाले उनलाई खुब उत्प्रेरित गर्छन्। बेलाबेला फोन गर्छन् र भन्छन्, ‘संसारका सबै मान्छे एकातिर, अनि तिमी मात्रै एकातिर भए पनि तिमीले हिम्मत हार्दिनौ।’ प्रमिला जब कमजोर महसुस गर्छिन्, तब बुबालाई फोन गर्छिन। बुबा सम्झाउँदै भन्छन्, ‘सब ठिक हुन्छ।’ प्रमिला भन्छिन्, ‘मलाई हार्ने छुट छैन।’
प्रमिलालाई ‘बगान’ले फिल्म उद्योगमा स्थापित गराउँछ भन्ने विश्वास छ। प्रमिला छोटो यात्राका लागि फिल्ममा आएकी होइनन्। उनलाई यो उद्योगमा लामो यात्रा गर्नु छ। तर यो यात्रामा जस्तो पायो त्यस्तै काम गर्ने रहर पनि छैनन्। उनलाई थोरै काम गर्नु छ, निरन्तर र बिस्तारै काम गर्नु छ, तर आफूले गरेको कामको छाप भने लामो समयसम्म बसिरहोस् भन्ने छ।
प्रतिक्रिया