भन्नेहरुले भन्छन्, ‘मरेर जानेले केही लिएर जाँदैन।’ तर दीपाकी आमाले आफूसँगै लिएर गइन् छोरीको चञ्चलता र पतिको ओठको हाँसो। आमा हुञ्जेल चञ्चलता थियो। आमा गएसँगै त्यो चञ्चलता खै कता गयो, दीपालाई थाहा छैन। २०४७ सालमा आमाको देहान्त हुँदा दीपा ‘सेन्ट अप टेस्ट’ दिइरहेकी थिइन्।
दीपाकी आमाले धेरै पढ्न पाइनन्। जति पढेकी थिइन्, त्यतिले नै उनलाई बहुत सचेत बनाएको थियो। उनकी आमा गीता हुलाकमा जागिर खान्थिन्। आफ्नी छोरीले पनि सरकारी जागिर खाएको हेर्ने उनको ठूलो सपना थियो। तर, आमाको यो सपना पूरा हुन पाएन। आमालाई सम्झिएर दीपा अहिले पनि आँखाभरि आँसु पार्छिन्। भन्छिन्, ‘आमा पेट दुख्यो भनिरहनु हुन्थ्यो। उहाँको पाठेघरमा समस्या थियो। विराटनगरमा आमाको रोग पत्ता लागेन। २०४७ सालमा आमालाई भिनाजुले काठमाडौं लिएर आउनु भयो। उहाँको रोग त पत्ता लाग्यो। आमालाई सेप्टिसेमिया भएको रहेछ। तर बचाउन सकिएन।’
आमाको मृत्यु शुक्रबार बिहान ४ बजे भएको थियो। बुबालाई गीता (दीपाकी आमा) सिकिस्तै छिन् भनेर काठमाडौं बोलाइयो। त्यतिबेला बुबाले भनेका थिए, ‘मरेको लास हेर्न लैजान लागेको मलाई?’ त्यसपछि दीपाका पिताका ओठ वर्षौं मुस्कुराएनन्। आमा बितेपछि घरको आयस्ताको स्रोत पनि घटेर गयो। ठिकठाकसँग चलिरहेको परिवार चलाउन उनका बुबालाई मुस्किल भयो।
झन् हौस्याउँथ्यो सजायले
दीपाका बुबा चाहान्थे, छोरीले मनग्य पढोस्। ठूलो मान्छे बनोस्। दीपा स्कुलकी राम्रै विद्यार्थीमा पर्थिन्। तर ध्यान पढाइमा भन्दा नाच–गानमा हुन्थ्यो। स्कुल बंक गरेर गाउँमा हुने पुराणमा नाच्न पुग्थिन्। सरहरुले सजाय दिन्थे। ‘गीताकी छोरी नौटंकी हुने भई’ भनेर गाली गर्थे। दीपालाई सजायमै रमाइलो लाग्थ्यो। उही हर्कत दोहोर्याइरहन्थिन्। दीपालाई सबैभन्दा धेरै सजाय गणित पढाउने सरले दिएका छन्। दीपालाई लाग्छ, उनैले हो ‘जीवनका थुप्रै पाठ सिकाएको।’ दीपाले कलाकारितामा आफ्नो नाम बनाउँदै गर्दा गणित शिक्षकको मृत्यु भयो।
नाच्नगाउनमा रस भए पनि दीपालाई कलाकारिताबारे थाहा थिएन। उनको आफ्नै सपना के हो थाहा थिएन। विराटनगरमा थिएटर थियो। थिएटरमा नाच सिकाइन्थ्यो। उनी सिक्न जान्थिन्। कलाकार मुकुन्द श्रेष्ठ नाटक ‘बनिदिस्योस’को विराटनगर प्रदर्शनका लागि गएका थिए। दीपाको मुकुन्दसँग भेट भयो। यो भेटले दीपाले मुकुन्दलाई भनिन्, ‘म पनि अभिनय गर्छु।’ मुकुन्दले प्रश्न गरे, ‘गर्न सक्छेउ त?’ दीपाले फट्ट भनिन्, ‘डान्स गर्ने मान्छेले गर्न सक्दैन त!’ त्यसपछि दीपा नाटक ‘बनिदिस्योस’ को हिस्सा बनिन्। नाटकबाट दीपाको एक तहमा चर्चा भयो।
अग्निपथकी कजरी
दीपा एसएलसी दिएर नतिजा पर्खिरहेकी थिइन्। त्यही बेला मुकुन्द श्रेष्ठको टेलिफिल्म ‘अग्निपथ’ छायांकनका लागि विराटनगर पुगे। दीपाले टेलिफिल्ममा खेल्ने बताइन्। मुकुन्द भनिरहन्थे, ‘तैँले खेल्न सक्दिनस्।’ काठमाडौँबाट जाने कलाकारले गाउँकी सानी केटीलाई पत्याउने कुरै भएन। तर दीपाको जिद्दीको अगाडि मुकुन्दको केही लागेन।
दीपाले टेलिफिल्मको कजरी भन्ने पात्रको भूमिका पाइन्। यो पात्रले मैथिली बोल्नु पर्ने थियो। उनले मिश्र दाइसँग मैथिली सिकिन। मैथिली सिक्न जाँदा बुबाले थुप्रै पटक चड्कन लगाए। तर दीपाले आफ्नो बाटो छोडिनन्। टेलिफिल्ममा अभिनय गरिन्। पहिलो टेलिसिरियलबाटै अभियान पुरस्कारमा ‘बेस्ट न्युकमर’ अवार्ड जितिन्। अवार्डमा भाग लिन आउनु भनेर दीपाको नाममा पत्र काटियो। दीपा चिठी बोकेर गाउँभरिका सबैलाई देखाउँदै हिँडिन्। खाली खुट्टा गाउँ डुलेकी दीपाको खुट्टा काटेर निकै ठूलो घाउ भएको थियो।
दीपा आफ्नो पहिलो पुरस्कार लिन काठमाडौं आइन्। शान्ति मास्के, भुवन चन्द लगायतका कलाकारले उनलाई हेरेर भने, ‘तिमी त काठमाडौं आउनु पर्छ।’ अवार्ड बोकेर दीपा विराटनगर फर्किन्। साथीहरुले भने, ‘तँ त पुरस्कार पाएको मान्छे, यहाँ बस्नु हुँदैन। तेरो भविष्य काठमाडौंमा छ, तँ उतै जा।’ दीपाको मन विराटनगरमा अडिएन।
यही सिरियल छायांकनका क्रममा दीपाको भेट मदनदास श्रेष्ठसँग भयो। त्यतिबेला मदनदास रेडियो नेपालका नाटक प्रमुख थिए। दीपाले प्रस्ताव गरिहालिन्, ‘मलाई पनि नाटकमा चान्स दिनुहोस्।’ मदनदासले काठमाडौं आउन आग्रह गरे।
अनि काठमाडौँ
पहिलो टेलिफिल्मबाटै चर्चा कमाएकी दीपाको मनमा त्यसपछि भने गहिरोसँग कला मोह जाग्यो। बुबालाई भनिन्, ‘म कलाकार बन्न काठमाडौं जान्छु।’ बुबाको लागि छोराछोरीको खुसीभन्दा पर अर्को कुनै सपना थिएन। दीपा भन्छिन्, ‘मेरो बुबालाई किताबको जोडघटाउ आउँदैनथ्यो, तर जिन्दगीको जोडघटाउ बडो सन्तुलित रुपमा गर्नु हुन्थ्यो।’ दीपा भिनाजुको साथ लागेर काठमाडौं आइन्।
उनले प्रवेश गर्दाताकाको काठमाडौं अवसरका हिसाबले अहिलेजस्तो फराकिलो थिएन। सीमित अवसरका लागि असंख्य मानिसको भीड लागेको हुन्थ्यो। दीपाको मन बेलाबेला डगमगाउँथ्यो, यही भीडमा कतै हराउने पो हुँ कि भन्ने भयले।
काठमाडौंमा दीपाकी दिदीको घर थियो। बासका लागि चिन्ता थिएन। चिन्ता थियो जागिरको। मदनदासलाई फोन गरिन् र काठमाडौं आएका बताइन्। मदनदासले रेडियो नेपाल आउनु भने। त्यतिबेला सिंहदरबारको मूल गेट (पश्चिम गेट) सर्वसाधारणका लागि खुला हुन्थ्यो। गेटको बाहिरसम्मै रेडियो नेपालबाट बज्ने नाटकमा अभिनय गर्ने रहर बोकेर बसेका मानिस भेटिन्थे। दीपाले कलाकार दीपकराज गिरीलाई त्यही भीडमा भेटेकी हुन्। दीपक पनि त्यतिबेला नाटकमा खेल्नका लागि पालो कुरेर बसिरहेका थिए। गएकामध्ये थोरैले मात्रै नाटकमा अभिनय गर्ने अवसर पाउँथे। धेरै त दिनभरि पालो कुर्थे र निरास हुँदै साँझ घर फर्किन्थे।
मदनदासमार्फत गएकाले दीपाले भने पहिलो पटक नै निराश हुनु परेन। त्यतिबेला रेडियो नाटक गर्ने नयाँ कलाकारले ३ सय रुपैयाँ पारिश्रमिक पाउँथे। पुराना कलाकारको भने ५ सय रुपैयाँ पारिश्रमिक थियो। दीपाले नाटक र टेलिसिरियलमा अभिनय गरिसकेकी थिइन्। उनी पुरानो कलाकारको सूचीमा अटाइन्। उनको पहिलो कमाइ ५ सय रुपैयाँ थियो। त्यतिबेला दीपकराज गिरी एउटा रेडियो नाटकमा खेलेको ३ सय रुपैयाँ पारिश्रमिक पाउँथे। तर दीपकले दीपाले भन्दा पहिलानै रेडियो नाटक गर्न सुरु गरेका थिए।
अभावका ती दिन
काठमाडौं बसाइको केही समयपछि दीपालाई दिदीको घरमा बस्न मन लागेन। खासमा दिदी झापामा थिइन्। काठमाडौंमा दिदीका सासूससुरा मात्रै बस्थे। दीपालाई अप्ठ्यारो लाग्यो। बबरमहलमा सानो कोठा खोजेर सरिन्। कोठामा केही सामान थिएन।
कामको अवसर नपाएको पनि होइन। दीपाले फाट्टफुट्ट काम पाएकै हुन्। तर मनग्य पैसा आउँदैनथ्यो। थोरै पैसाका लागि पनि महिनौं पर्खिनु पथ्र्यो। भनेको भए बुबाले ऋणपान गरेर पनि पैसा पठाइदिन्थे होला, गाउँमा पाइने अन्नपात रात्री बस चढाइदिन्थे होला। तर केही गर्न हिँडेकी छोरीले अभाव देखाएर परिवारलाई दुःख दिनु हुँदैन भन्ने उनलाई लाग्यो। बरु भोकै हिँडिन्। दुःख गाँठो पारेर राख्दा जीवन कसरी दुख्छ, दीपाले त्यही बेला थाहा पाएकी हुन्।
दीपा भन्छिन्, ‘त्यो समयको अभावको कथा भन्दा अहिले मलाई सहज लाग्छ। सम्झिँदा अहिले पनि पेट खाली भएको अनुभव हुन्छ। कुनै समय थियो, जुन समय पानी तताउने स्टोभमा मट्टितेल थिएन। चिसो पानीमा पाउरोटी चोपेर खाएर रात काटियो।’
दीपालाई डिप्रेसन भयो। दीपालाई कयौं रात कटेर बिहान नभैदिए हुन्थ्योजस्तो लाग्थ्यो। यही बेला विराटनगरका केशव दाइसँग दीपाको जम्काभेट भयो। दीपाको शरीरमा हाड र छाला मात्रै थियो। केशव दाइ निकै डराए। उनले दीपाका बुबालाई भनिदिए ‘दीपालाई त टीबी भएछ।’ त्यसपछि उनका बुबाले घर फर्किन निकै जोड गरे। दीपा फर्किन मानिनन्। उनले भनिन्, ‘बुबा म केही बनेर मात्रै आउने हो।’
त्यही बेला दीपाकी मिल्ने साथी संगीता नाचघरमा हुने एउटा नाटकमा भाग लिन काठमाडौं आइन्। उनले धेरै पटक घर लैजान आग्रह गरिन्। तर कोठामा साथीलाई ल्याएर दिने पानीबाहेक केही थिएन। उनले विभिन्न बहाना बनाएर टारिन्। त्यसपछि दीपा अझ विक्षिप्त भइन्। भन्छिन्, ‘त्यसपछि मलाई जीवनमा म असफल भएँ भन्ने भयो। मर्न मात्रै मन लाग्थ्यो।’
दीपा डिप्रेसनमा पुगेको दीपकले थाहा पाए। उनले मनोचिकित्सककहाँ पुर्याए। दीपाले १ वर्ष डिप्रेसनको औषधि खाइन्। त्यही बेला उनले अध्यात्मको बाटो समातिन्। संत्सगमा जान थालिन्। ध्यान गर्न थालिन्। हाडछालाको कंकाल जस्तै देखिने दीपा मोटाउँदै गइन्। उनको मोटोपन त्यसयता उस्तै नै छ। तर १ वर्षपछि दीपाले डिप्रेसनको औषधि खानु परेन। उनी बिस्तारै लयमा फर्किन्।
तितो सत्यले दिएको सफलता
रेडियो नेपालमा दीपक र दीपाको ‘रामविलास र धनियाँ’ चरित्र हिट भयो। गाईजात्रा लगायतका केही काममा दर्शकले रुचाए। बिस्तारै सफलता हासिल गर्दै गएपछि दीपा अब नयाँ के भनेर सोचिरहेकी थिइन्। त्यहीबेला जन्मिएको टेलिफिल्म हो, ‘तितो सत्य।’
२०६० साल भदौबाट ‘तितो सत्य’ सुरु भयो। दीपक–दीपाले तितो सत्यको कन्सेप्ट लिएर जाँदा उनीहरुलाई पत्याउने कमै थिए। त्यसबेला नेपाल टेलिभिजनका अध्यक्ष थिए शम्भुजित बाँस्कोटा। उनलै जुराइदिएका हुन् ‘तितो सत्य’को नाम। सुरुमा यो सिरियल १३ भाग मात्रै गर्ने सम्झौता भएको थियो।
हिन्दी सिरियल ‘कसौटी जिन्दगीकी’ नेपालमा पनि हिट थियो। नेपाली दर्शकले हिन्दी सिरियल छोडेर ‘तितो सत्य’ हेर्न थाले। ‘तितो सत्य’ केही भाग प्रसार भएपछि दीपालाई हेर्ने मानिसहरु बाटोमा पनि देखिन थाले। उनी बाटोमा निस्कँदा दर्शकहरु ‘दीपा...दीपा’ भनेर हुटिङ गर्थे, सिठी फुक्थे। सँगै काम गरिरहेका साथीहरुले भन्न थाले, ‘तिमीहरु अब स्थापित भयौ। पछाडि फर्किएर हेर्नु पर्दैन।’
यही सिरियलले दीपक–दीपालाई देश विदेशको यात्रा गरायो। जीवनको लय फेरियो। आफैँले केही गरेर आफ्नो परिचय बनाउने दीपाको भोक पूर्ण भयो। १३ भागका लागि सम्झौता भएको ‘तितो सत्य’ लगातार १२ वर्ष प्रसारण भयो।
त्यसपछि फिल्म निर्माण
दीपाले केही फिल्ममा अभिनय गरिन्। तर आफूलाई चिनाउने बलियो भूमिका पाइनन्। त्यसैले धेरै फिल्ममा अभिनय गर्ने र फिल्मको संख्या बढाउने रहर भएन। दीपकलाई भने फिल्मको हिरो बन्ने सपना थियो। केही नाटकको प्रमुख भूमिकामा रहेर अभिनय गरेका दीपकले फिल्ममा पनि काम गर्ने सोच बनाए। दीपक–दीपाको टिमले ‘६ एकान ६’ बनाउने भयो। यो फिल्म दीपककै ड्रिम प्रोजेक्ट थियो। फिल्म हिट भयो। फिल्मले थुप्रै खालका रेकर्ड बनायो। त्यसपछि लगातार फिल्म निर्माण गरिरहेका दीपक–दीपा अहिले नयाँ फिल्मको तयारीमा छन्।
रेडियो नाटक, नाटक, टेलिसिरियल हुँदै फिल्ममा आएकी दीपाले आफूलाई निर्देशकका रुपमा समेत अब्बल साबित गरिन्। उनले निर्देशन गरेका २ फिल्म हिट भएन। जिन्दगीको लामो यात्रा फिल्म क्षेत्रमा बिताएकी दीपालाई बाँकी जीवन पनि फिल्ममै बिताउन मन छ। भन्छिन्, ‘मेरो जिन्दगी फिल्म लाइनले दिएको हो। बाँकी जीवन पनि यही क्षेत्रमा बिताउन चाहन्छु। तर बिस्तारै काम गर्न नसक्ने दिन आउन सक्छ। त्यो दिन पनि फिल्म क्षेत्रमा योगदान रहिरहोस् भनेर फिल्म हल सुरु गर्ने तयारीमा छौँ।’
दीपकसँग भेट नभएको भए
दीपा कर्मशील कलाकार हुन्। तर उनलाई भाग्यमाथि भरोसा लाग्छ। उनलाई लाग्छ, दीपकसँगको भेट पनि उनको भाग्यमा लेखिएको थियो। दीपकसँग भेट नभएको भए कलाकारितामा अहिलेको सफलता हासिल हुन्थ्यो भन्ने दीपालाई लाग्दैन। भन्छिन्, ‘दीपकजी जस्तो साथी पाउनु मेरो ठूलो भाग्य हो। उहाँमा विचारदेखि, बोल्ने शैली, महिलालाई गर्ने कुरा असाध्यै धेरै राम्रो छ।’
दीपक र दीपाको नाम फिल्म उद्योगमा सबैभन्दा धेरै जोडिने नाम हो। समय समयमा विभिन्न खाले टिप्पणी समेत भैरहेका हुन्छन्। यसले दीपाको जीवनमा कति असर गर्यो, गरेन थाहा छैन। तर उनले यस्ता टिप्पणीलाई गम्भीर रुपमा लिइनन्। भन्छिन्, ‘हामीलाई हाम्रो अवस्था, हामीले पालना गर्नु पर्ने अनुशासनको दायरा थाहा छ। दीपकको परिवारसँग मेरो सम्बन्ध राम्रो छ। त्यसैले यस्ता कुराले कहिल्यै असर गरेन।’
समयसमयमा हल्लिने सामाजिक सञ्जाल, आउने प्रतिक्रिया र सम्बन्धको चर्चाले दीपा दीपककी श्रीमती मेनुकालाई सम्झिएर दुख्छिन्। मेनुकाले कहिल्यै दीपक–दीपाको सम्बन्धलाई लिएर दीपासँग प्रश्न गरेकी छैनन्। दीपा भन्छिन्, ‘मेनुका भाउजू संसारकै महान् महिला हो। जसले हर परिस्थितिमा पनि आफ्नो प्रेम डगमगाउन दिनु भएन। उहाँको महानताले नै हो हामी सफल भएको।’
बुबाको रहर अधुरो
दीपा आफ्नो क्षेत्रकी सफल महिला हुन्। झण्डै ५ दशकको यात्रा गर्न लागेकी दीपाले विवाह गरेकी छैनन्। ‘छ एकान छ’ बनाउने बेलासम्म पनि दीपालाई लाग्थ्यो ‘बिहे गर्नु पर्छ।’ तर स्कुल पढ्दा लाएको पिरती टुटेपछि भने दीपालाई प्रेम र घरबारप्रति मोह भने थिएन। दिदीबहिनीको आफ्नै परिवार भयो। भाइका छोराछोरी भए।
दीपा पनि मातृत्व कल्पिन्थिन्। बुबाको पनि सपना थियो छोरीको विवाह गरिदिने। तर उनका बुबाको यो रहर भने अधुरै रह्यो।
दीपाले विवाह गर्ने सोच त्यागिसकिन्। आफ्नै पौरखले काठमाडौंको बानेश्वरमा घर बनाएकी दीपा बुबासँग बस्छिन्। दीपालाई आफू संसारकै भाग्यमानी छोरी लाग्छ।
भन्छिन्, ‘मेरो बुबा मेरो जीवनलाई लिएर सहज हुनुहुन्छ। तँ खुसी छस्, त्यही मेरो खुसी हो भन्नुहुन्छ। मलाई म जति भाग्यमानी सायदै होला जस्तो लाग्छ।’
Shares
प्रतिक्रिया