काठमाडौंमा हुने हरेकजसो कार्यक्रममा भेटिन्छन्, अग्रज संगीतकार राजु सिंह। उनले सानो र ठूलो कार्यक्रम भनेर भेद गर्ने गरेका छैनन्। अग्रज र अनुजलाई उत्तिकै सम्मान गर्छन् र पुग्छन् सबैले बोलाएका कार्यक्रममा। हरेक भेटमा उनी निकै विनम्र सुनिन्छन्, हँसिला देखिन्छन्। उनको संगत गर्नेहरुलाई लाग्छ, ‘राजुको मनमा कुनै चोट छैनन्।’ तर राजुलाई पनि समयले थुप्रै चोट दिएको छ। ती चोटहरुलाई उनले शिक्षाका रुपमा लिए र सम्पत्ति बनाए जीवन यात्रामा।
‘हामी कलाकारको मन शान्त हुनु हुँदैन। हाम्रो मनमा केही न केही ठेस लाग्नु पर्छ,’ उनी भन्छन्, ‘गाली गर्ने र माया गर्ने मान्छे बराबर चाहिन्छ। जीवनमा घृणा गर्ने मान्छे पनि चाहिन्छ। हाम्रो सिर्जनामा खोट देखाउने मान्छेको पनि जरुरी छ। यी सबै कुराले नै एउटा सर्जकलाई बलियो बनाउँछ।’
राजुलाई परिभाषित गर्नेहरु भन्छन्, ‘यो मान्छेले धेरै जानेको छ, बुझेको छ। उसलाई बुझाइको यो गहिराई शिक्षाले दिएको हो।’ तर राजुलाई चाहिँ शिक्षाले बुझाएको जीवनभन्दा जीवनले दिएको शिक्षा धेरै माथिल्लो हो भन्ने लाग्छ।
‘मलाई म बनाउनका निम्ती धेरैले दिएका असंख्य वाण मेरो मनमा पनि छन्। बेलाबेला दुख्छन्, बेलाबेला बिझाउँछन्। तर ती सबै वाणहरुका प्रति म ऋणी छु, उनीहरुलाई धन्यवाद दिन चाहन्छु,’ उनी भन्छन्, ‘सम्झना त आज पनि आउँछ रेडियो नेपालमा काम गर्दा अग्रजले भनेको कुरा, जीवनका अरु पनि थुप्रैथुप्रै कालखण्डमा भोगिएका कुरा, यी सबै कुराले मलाई म बनाएको हो। अध्ययनशील बनाएको हो, सिक्न उत्साहित बनाएको हो।’
बाहिर स्रोतादर्शकले देखेजस्तो जगमगाउँदो जीवन कलाकारको छैन। एकदिन भारतीय अभिनेता सुशान्त सिंह राजपुतले भनेका थिए, ‘हामी हार–जित, सफलता–असफलतामा यति अल्झिसकेछौँ कि जिन्दगी जिउनै भुलिसकेछौँ। जिन्दगीमा यदि केही सबैभन्दा बढी महत्वपूर्ण छ भने त्यो जिन्दगी आफैँ हो।’
उनले आफ्ना फिल्ममार्फत जुनसुकै परिस्थितिलाई पन्छाएर पनि जीवन रोज्नु पर्ने सन्देश दिएका थिए। तर, मानिसहरुले उनको जीवन सार्थक देखिरहेकै बेला उनले आत्महत्या गरे। नेपालमै पनि दर्शकले आइकन मानेका श्रृषा कार्की, आलोक नेम्वाङ, युवापुस्ताको ढुकढुकी बनेका यम बुद्ध लगायतका कलाकारले आत्महत्या गरे। यी सबैका पछाडि बाहिर देखिएको र उसले बाँचेको जीवनबीचको फरक कारक रहेको बताउँछन् राजु।
‘मानिसहरु नाम, दाम दुवै भएर पनि चिन्तामा छन्। बाहिर आदर्शवान् बनेको मान्छे आफैंभित्र बिचलित छ। यो किन भैरहेको छ भने हाम्रो क्षेत्रले दिनसक्ने भन्दा ठूलो सपना हामी देखिरहेका छौँ। धेरै कुरा सोचेर हिँडिरहेका छौँ। तर, जीवन भनेको जे आइपर्छ त्यही बाँच्ने हो।’
यसैले पनि राजु शान्त देखिन्छन्। सौहार्द्र देखिन्छन् र आफूले बुझेको जीवन सहजताको उपाय पछिल्लो पुस्तासँग पनि बाँडिरहेका छन्।
राजुले ३ दशक लामो संगीत यात्रा पार गरे। १५ सयभन्दा धेरै गीतमा प्राण भरे। नम्बर वान संगीतकारको स्थान पनि बनाए। कुनै दिन थियो, काठमाडौंका ७ वटा स्टुडियोमा एकैपटक उनका संगीतका गीत रेकर्ड हुन्थे। राजु व्यस्त थिए। तर राजु आज पनि हरेक गीतमा संगीत गर्दा पहिलो गीत ठानेर संगीत गर्छन्। सिकारु संगीतकारले झैं हरेक दिन ३ घण्टा साधना गर्छन्। भन्छन्, ‘भोलि मेरो संगीतको भेट कोसँग हुन्छ थाहा छैन। मैले मेरो संगीत साधनालाई भोलिको हरेक भेटका लागि तयार राख्नु पर्छ।’
राजु तीन दशकदेखि नेपाली सुगम संगीतमा जमेका संगीतकार हुन्। २०४८ सालमा प्रतिबिम्ब ब्यान्डमार्फत संगीतकारको रुपमा सांगीतिक करिअर गरेका राजुको सांगीतिक लय एकै प्रकारका छैनन्। उनले सुगम संगीत, लोक पप, भजन लगायतका सांगीतिक धुन निर्माण गरेका छन्। रित्तो सडकमा, नजरको दोषी, झुमी–झुमी कता हिँडेको, मेरो साथ बिताएका, वचन तोडेँ कसमै तोडेँ, छुरा चलाइराख, बादलहरू हो, काँडा हो माया, बिर्सी जाने उनीलाई लगायतका गीतमा कर्णप्रिय संगीत गरेका छन्।
त्यस्तै, थुप्रै गीतमा संगीत संयोजन पनि गरेका छन्। ट्रिनिटी कलेज अफ लन्डनबाट डिप्लोमा सरह अध्ययन गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। संगीत गर्नुका अलवा उनी कलेजमा अर्थशास्त्रका नियम पढाउँछन्। शास्त्रीय संगीतमा विशारद उनी भ्वाइलिन, गितार, किबोर्डलगायत करिब एक दर्जन वाद्यवादनमा पोख्त छन्। यी सबै ठाउँमा राजु टिकिरहेका छन्। राजुलाई लाग्दैन, उनी सिर्जनाका कारण टिकिरहेका छन्। उनलाई लाग्छ, सिर्जनाभन्दा पनि इमान्दारी टिकेको हो।
भन्छन्, ‘कुनै पनि काम सुरु गर्दा म इमान्दारीमा ध्यान राख्छु। गीत संगीतमा पनि त्यही हो। मेरो संगीत, गायकगायिका र गीतकारका साथमा गीतले उचाइ पाउनुपर्छ भनेर दर्शक स्रोतालाई भगवान् मान्दै राम्रो प्रसाद चढाउनुपर्छ भन्ने हिसाबले काम गर्छु। यदि, म राम्रो गर्न सक्दिनँ भने नराम्रो पनि गर्दिनँ भन्ने सोचले काम गर्छु। म रहुँ या नरहुँ, तर मेरो संगीत युगौँ युग बाँच्नुपर्छ, मैले गरेको सिर्जनाले नेपाली संगीतलाई उचाइमा पुर्याउनुपर्छ भन्ने हिसाबले काम गर्छु। आफूले काम सुरु गरेपछि लापरबाही गर्दिनँ, सचेत भएर काम गर्छु।’
पछिल्लो समय कतिपय गीत तोडमोड भएर बजारमा आएका छन्। यो कुराले राजुलाई बढो चिन्तित बनाउँछ। एउटा स्रष्टाको दायित्व सिर्जना गर्नु मात्रै हुँदै होइन। धेरै ठाउँमा गुनासो सुनिन्छ, ‘हाम्रो संगीतमा विकृति भित्रियो।’
तर उनी यो स्वीकार गर्दैनन्।
‘मलाई चाहिँ नेपाली संगीतमा विकृति आयो भन्नेमा विश्वास छैन। नेपाली संगीतमा यस्ता सर्जक पनि हुनुहुन्छ, जो एक्लैले विश्व संगीत हाँक्ने दिन छिट्टै आउँदैछ। अबको पुस्तामा त्यो संकल्प देखेको छु,’ उनी भन्छन्, ‘एउटा सफल संगीतकारले परिचय, राम्रो चर्चित लोकप्रिय गीत तयार गर्नु मात्र होइन, उसले श्रोता, दर्शक, सञ्चार जगत र संगीतको माध्यमले सिंगो देशलाई संसारमाझ पुर्याउनु पनि हो। जसलाई नेपालीमाझ लोकप्रियता, चर्चा र पहिचान चाहिएको छ, त्यसले राम्रो सिर्जना गर्न सक्तैन भन्ने होइन तर ज्यादै कम छ। त्यस्ता संगीतको नाममा विकृति र सस्तो लोकप्रियता खोज्नेहरूलाई म नै भए पनि नेपाली संगीतको इतिहासले माफ दिने छैन।’
फोटो/भिडिओ : सरोज नेपाल
प्रतिक्रिया