पिताको आकृति कस्तो थियो, उनलाई धमिलो सम्झना मात्रै छ। तस्बिरमा जे देखे, त्यही मात्रै हो पितासँगको सम्झना। उनी ६ वर्ष लाग्दानलाग्दै पिताको देहावसान भयो। त्यसैले उनका लागि पिताले दिनु पर्ने संरक्षण सहितको मार्गदर्शन उनका दाजुले दिए। उनी अर्थात् शास्त्रीय संगीतका वरिष्ठ गायक तथा संगीतकार तिलकसिंह पेला।
आमाले उनका लागि देखेको सपना पढाइबाहेक केही थिएन। आमा चाहन्थिन्, ‘छोराले राम्रोसँग पढोस्।’ पढेलेखेका मानिसहरुको सहज जीवन देखेकी उनकी आमालाई अरु कुराले जीवन बाँच्न सजिलो बनाउँछ भन्ने नै थिएन। तर आमाले चाहेझैं उनले किताबी शिक्षामा आफूलाई प्रमाणित गर्न सकेनन्।
सानैबाट उनको लत संगीतमा बस्यो। सुदूरपश्चिमका पेलाको संगीतप्रतिको लगावलाई त्यहाँको वातावरणले ठेस लगाउँथ्यो। न त्यहाँ संगीत सिक्ने माहोल थियो, न संगीतलाई बुझ्ने मानिस नै। त्यसैले उनले जीवनको केही समय खेलकुदमा बिताए। खेलमा उनको राम्रो पहिचान बनिसकेको थियो। तर खेलमा बनेको परिचयको मोहले उनलाई बाँधेर राख्न सकेन। उनी खेलमा बन्दै गरेको करिअर छोडेर गाउँबाट निस्किए।
संगीत सिक्न काठमाडौं आउनुअघि नै उनको ‘आँसु’ एल्बम हिट थियो।
लुकाउन खोज्दा पनि
आँसु नखसेको होइन
के गर्नु निधारमा
हाँसो त लेखेकै छैन
यो लगायतका गीत हिट भए। उनले त्यो समय अनुसारको केही रोयल्टी पनि पाए। एल्बमका गीत उनका दाजु कृष्णसिंह पेलाले लेखेका थिए। गीतमा लय तिलक आफैंले सिर्जना गरे। तर गीतले पाएको लोकप्रियताले उनको संगीतप्रतिको तृष्णा मेटिएन। उनी गुरुको खोजीमा लागे। यो काठमाडौंमा संगीत गुरुको खोजीमा तिलक निकै वर्ष भौँतारिए। त्यसबेला हरेक चोकमा संगीत पाठशाला लेखेका बोर्ड भेटिन्थे। हरेक पाठशाला धाउनु र फर्किनु उनको दैनिकी बन्यो। कयौंका दैलोबाट रित्तै हात फर्किए। कयौं पटक उनको मन भारी भयो।
चार वर्षको खोजीपछि उनी गुरु धनबहादुर गोपाली कहाँ पुगे। गोपालीले उनलाई शिष्यका रुपमा स्वीकार गरे। आज पनि गुरुलाई सम्झँदा तिलकका आँखाभरि आँसु हुन्छन्। हामीसँगको भेटमा पनि गुरुको कुरा सुरु भएपछि तिलक निकै बेर भक्कानिए, बोल्न सकेनन्। गोपालीसँग तिलकले १० वर्ष लगातार संगीत सिके। त्यसयता उनी निरन्तर संगीतमा छन्।
आफूले पढाइ छाड्दा आमाले के महसुस गरिन्, संगीतमा रमाइरहेका तिलकले कहिल्यै सोधेनन्। छोराले संगीतको ज्ञान लिएकोमा उनी खुसी थिइन् कि थिइनन्, त्यो पनि थाहा पाएनन्। तर एकदिन उनकी आमा बसको यात्रामा थिइन्। राति बास बस्नका लागि सबै गाडीबाट उत्रिए। उनकी आमा बसमै थिइन्। चालकले सोधे, ‘तपाईंको कोही मान्छे छैन?’ आमाको सहज जवाफ थियो, ‘अघि बजिरहेको गीत गाउने मेरै छोरो हो।’ तिलकको जिन्दगीकै सबैभन्दा सुन्दर क्षण थियो यो।
राजधानीको बसाइमा उनले थुप्रै खाले हण्डर बेहोरेका छन्। ती हण्डरले कहिल्यै पनि उनको संगीतप्रतिको ध्यानलाई भंग गर्न सकेन। दुई दशकभन्दा लामो समय उनले संगीत गुरुका रुपमा गुजारिसके। उनलाई चर्चा र लोकप्रियताको भोक कहिल्यै लागेन। नचाहेरै गत वर्ष उनले संगीत र स्वर दिएको गजल ‘के लत बस्यो मलाई’ एकाएक चर्चामा आयो। सुदूरपश्चिम र सीमित संगीत साधकमाझ परिचित पेला देशका सर्जक भए। देश तथा विदेशमा बस्ने संगीतप्रेमीका गायक भए।
त्यसपछि सुरु भयो उनको संगीतप्रतिको लगाव र ज्ञानको खोजी र तारिफ। यो खोज र तारिफसँग पेलाको कुनै गुनासो छैन, न त कुनै आशक्ति नै। तर चर्चाले उनको दैनिकी निकै दिनसम्म बिथोलिरह्यो। कयौं दिन त उनले मोबाइल नै बन्द गरेर बसे। भन्छन्, ‘चर्चाले दैनिकी बिथोल्यो। झण्डै २ हप्ता संगीत कर्मबाट टाढा रहेँ। त्यो समय म कहाँ हराइरहेको छु भन्ने भएको थियो। जब नियमित संगीत साधनामा फर्किएँ, तब आफ्नो दुनियाँमा फर्किएझैँ महसुस भयो।’
अहिले पनि उनी काठमाडौंस्थित वनस्थलीमा ‘श्रीकृष्ण गुरुकुल पाठशाला’मा संगीतमा तल्लीन हुन्छन्। यो पाठशाला उनले २०६१ सालमै खोलेका हुन्। उनीसँग शास्त्रीय संगीत सिक्न आउने शिष्य छन्। पेला आफ्ना शिष्यसँगै खुसी हुन्छन्।
तिलकले नेपालमा धनबहादुर गोपालीसँग संगीत सिके। संगीतको थप अध्ययनका लागि उनी बनारससम्म पुगे। उनी अहिले पनि बनारस पुगिरहन्छन्। भन्छन्, ‘म त्यहाँ नजाँदा ज्ञानबाट बञ्चित हुन्छु।’ अरु दसैं मान्न घर जान्छन्, उनी ज्ञान खोज्दै बनारस। उनको संगीतको नयाँ नयाँ खोजको सिलसिला अझै रोकिएको छैन।
प्रतिक्रिया