राजु स्याङ्तान यो समयका सशक्त कवि हुन्। उनी कवितामा धेरैजसो व्यवस्थाविरुद्ध आगो ओकलिरहेका हुन्छन्। १६ वर्षको कलिलो उमेरमा जनताको सत्ता ल्याउने सपना बोकेर जनयुद्धमा होमिएका राजुको त्यो सपना युद्ध थामिएसँगै भत्किँदै गयो।
उनीसँगै हिँडेका साथी सहिद बने। उनका आफ्नै हातले आफ्ना सहयोद्धाको मृत शरीर गाडेर हिँडेको याद आज पनि उनलाई ताजै छ। उनीसँगै छुटेका कति साथी आज पनि बेपत्ताको सूचीमा छन्। समयले उनलाई सहिद र बेपत्ता सूचीमा पर्नबाट जोगायो तर त्यही समयको बल्झिरहने चोटले राजुलाई कवि बनायो।
महोत्तरी खयरमाराका कवि राजु स्याङ्तानले आफ्नो जीवनमा चरम उत्पीडन र अभाव देखे। त्यही बेला उनले देखे, समाज बदल्ने जोस बोकेर हिँडेको युवाको लाम अनि त्यही लाममा आफू पनि मिसिए। एकदिन स्कुलको चौरमा राजु क्रान्तिको उद्घोष गर्न र नयाँ यात्रा थाल्न उभिएका थिए। उनको अगाडि साथी र शिक्षक थिए। तर उनले हेर्न सकेनन्। उनका आँखाले भुइँ हेर्यो र ओठले क्रान्ति उद्घोष गर्यो।
जीवनको उर्जाशील समय समाज रुपान्तरणको सपना बोकेर हिँडेका राजु हिजोआज कहिलेकाहीँ आफैँले हिँडेको बाटो सम्झेर रिसाउँछन्। यो यात्राप्रति पछुतो भने उनलाई पटक्कै छैन। उनले जुन व्यवस्थाको सपना देखेका थिए त्यो व्यवस्था त छैन। तैपनि समाजमा थुप्रै मानिसहरुले बाँचिरहेको जीवन हेरेर उनी चित्त बुझाउँछन्।
हिजो उनले जुन वर्गको जीवन परिवर्तनको सपना देखेर हिँडेका थिए, आज त्यही वर्ग देश छोड्ने सपना देखिरहेको छ। उनीहरुको सपना केवल गाँस, बास र कपासमा जोडिएको छ। आज पनि छोरीहरु बलात्कृत भइरहेकै छन्, बुहारीहरु दाइजोका नाममा जल्न बाध्य छन्। कथित माथिल्लो जातलाई प्रेम गरेको नाममा दलितहरु मारिइरहेकै छन्। जनजातिहरु आज पनि आफ्नो सांस्कृतिक भूमिका लागि लडिरहनु परेको छ। राजुलाई हिजो लागेको थियो यो सब भत्किने छ। भत्काउन चाहेको तर नभत्किएका यस्तै कुराले राजुको हृदय द्रवित हुन्छ। जसलाई उनी कवितामा पोख्छन्। उनै कवि स्याङ्तानको कविता संग्रह ‘ओ पेङ्दोर्जे’ अघिल्लो साता बजारमा आएको छ। यही सन्दर्भमा उनीसँग हामीले भिडिओ संवाद गरेका छौँ।
प्रतिक्रिया