‘यस्तै रहेछ यहाँको चलन
जित्नेको हाँसो हाँसो
मेरो छैन केही हजुरलाई गुनासो।’
एकताका लोकप्रिय यो गीत गायिका देविका बन्दनाले गाएकी हुन्। दिनेश अधिकारीले लेखेको उक्त गीतमा शम्भूजित बास्कोटाले संगीत गरेका छन्। गायिका देविकाले गाएको यो गीतका हरफ झैं एक दिन आफ्नै जीवन हुन्छ भन्ने उनलाई थाहा थिएन्। तर भैदियो त्यस्तै।
क्यान्सरजस्तो विश्वकै भयावह अवस्थामा फैलिएको प्राणघातक रोगले छुनेछ र त्यसलाई जितेर जित्नेको हाँसो हाँस्छु भन्ने उनलाई न कल्पना थियो न अनुमान नै।
केही समय अघिसम्म पनि क्यान्सरलाई सिधै मृत्युसँग जोडेर हेर्ने गरिएको छ। क्यान्ससँग हार्नेहरुका कथाले अहिले पनि कयौं घर परिवार आँसुमा डुबेर बसेका छन्। तर बिस्तारै क्यान्सरसँग पनि लडेर बाँच्न सकिन्छ भन्ने प्रसस्तै उदाहरण भेटिन थालेका छन्। तिनै उदाहरण मध्येकी एक हुन् गायिका देविका बन्दना।
सिंगो विश्वलाई कोरोनाले पिरलिरहेको बेला उनलाई स्तन क्यान्सर देखियो। सुरुका दुखाईलाई देविकाले सामान्य ठानिन्। पेनकिलर खाएर दुखाई सहने प्रयत्न गरिन। तर, जब दुखाइ र गिर्खाले पछ्याइरहे, व्यवसायी पति महेशमान सिंह र परिवारले उनलाई परीक्षण गर्न कर गरे। परीक्षणबाट थाहा भयो उनलाई स्तन क्यान्सर भइसकेछ। उनले स्वदेशमै क्यान्सरको उपचार गराइन् र स्वस्थ पनि भइन्।
यो समय ब्यतित गर्न यहाँ भनेजस्तो सजिलो भने थिएन। त्यो समयका हरेक कुरा उनले डायरीमा टिपोट गरिन्। उनको त्यही अनुभव अहिले बजारमा क्यान्सरलाई जितेपछिको देविकाको आत्मकथा ‘जित्नेको हाँसो’ नाममा सार्वजनिक भएको छ।
देविकाको आत्मकथा बिहीबार काठमाडौंमा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश (महजोडी)ले विमोचन गरे। देविकाको आत्मकथाको विमोचनमा उनको कथा र पीडा सुनेपछि कार्यक्रमका सहभागीले हलमै आँसु झारे, कार्यक्रम हल आँसुमय बन्न पुग्यो।
‘क्यान्सरबारे धेरै सुनेको थिएँ। तर, मलाई नै क्यान्सर भइसकेछ भन्ने सुन्दा पत्याउनै गाह्रो भयो, छक्क परेँ। दिल्ली गएर उपचार गर्ने कि भन्ने कुरा भयो’ उनले भनिन्, ‘तर, नेपाल क्यान्सर अस्पतालमै उपचार गरेँ। उपचारका क्रममा केमियो थेरापी गर्दा कपाल पूरै झर्यो। पछि अप्रेसन भयो। अबचाहिँ पूर्णरुपले ठीक छु। कपाल पनि आइसक्यो’
देविकाले सामान्य हुने प्रयास गर्दै कार्यक्रममा सुनाइन्, ‘क्यान्सरसँग जुधिरहेको बेलामा पनि मैले आफ्नो काम गर्न छोडिनँ। स्टुडियोमा गएर गीत रेकर्ड गराईरहेँ, आर्ट गरिरहेँ, कुकिङ र ह्यान्डीक्राफ्टको काम पनि गरिरहेँ। मलाई माफ गर्नुहोला मैले त्यो बेलामा आफ्नो अस्वस्थताबारे कसैलाई भनिनँ। किनभने तपाईंहरु कसैलाई पनि चिन्ता र पीरमा पार्न चाहिनँ। म कसैको विचरा हुन सक्दैन थिएँ।’
देविकाले आत्मविश्वासले नै आफूले क्यान्सरलाई जित्न सकेको बताइरहँदा हलमा प्रमुख अतिथि मह जोडीदेखि लिएर सबैजना सुक्क सुक्क गरिरहेका देखिन्थे।
अभिनेत्री वसुन्धरा भुसालले देविकाले डक्टर छोरी घरमै लिएर आएको बेला उनलाई क्यान्सर भएको थाहा भएको र छाँगाबाट खसेजस्तो भएको बताइन्।
‘क्यान्सर भएको रहेछ, तर त्यस्तो कोरोनाको बेलामा पनि उनी गीत गाइरहेकी हुन्थिन्। मेरो कारणले कसैलाई पीर नहोस् भनेर नभनेको दिदी भनिन्। उनले भनेजस्तै उनी गएपछि म रातभरि सुत्न सकिन’ वसुन्धराले भक्कानिँदै भनिन्, ‘सकारात्मक सोचका कारण उनले क्यान्सरलाई सजिलै जितिन्।’
मदनकृष्ण श्रेष्ठले भने ‘हिजोआज म रुन्चे कलाकार भएको छु। मैले देविकाको जित्नेको हाँसोमा सत्यमोहन जोशीको भूमिका पढेपछि उनलाई क्यान्सर भएको थाहा पाएँ। अस्ति भर्खर सँगै गीत गाउँदा पनि थाहा थिएन। म पनि क्यान्सरको बारेमा भुक्तभोगी भएकोले देविकाको पुस्तक पढ्दै जाँदा आफ्नो जीवनको मेल खाने ठाउँमा निकै गाह्रो भयो।’
उनले पत्नी क्यान्सरसँग जुध्दा पाइको सास्ती स्मरण गर्दै भने, ‘मैले ६ वर्षसम्म भोगेको छु, परिवार (पत्नी)को क्यान्सर पीडा। उनी पनि हिम्मत्दार थिइन्। बुढाले कत्ति डाक्टर चिनेको छ भनेर ढुक्क थिइन्। अझ मेरो मिसेसको क्यान्सर त लास्ट स्टेजको थियो। उसलाई क्यान्सर भएको मलाई थाहा थियो, त्यसैले म बोल्न सकिरहेको थिइन, उनलाई थाहा नभएकोले उनी दंग थिइन्। धुलिखेल हस्टिपलबाट घरसम्म आउन पनि मलाई निकै गाह्रो परेको थियो। घर आएर बाथरुममा गएर एक्लै रोएँ। जसोतसो ६ वर्ष त टिकाएँ’ मदनकृष्णले भक्कानिँदै भने।
उनले अगाडि भने, ‘देविकालाई क्यान्सर भएको पढेर तिनै कुरा सम्झिन थालेँ। पाँच वर्ष (पत्नी बिदा भएको) भइसक्यो अब रुन्न, कति रुनु चिच्याउनु भन्छु तर अझै पनि दिनमा एकपटक सम्झिन्छु। देविकाले पनि बेवास्ता गरेर बसेको रहेछ, गिर्खा आइसकेको रहेछ। तर, अब देविका फाइटर मात्र होइन, विनर भैसक्नुभयो’ उनले सकि नसकी अन्त्यमा भने, ‘क्यान्सर भएकालाई देविकाको यो पुस्तक गतिलो खुराक हुनेछ।’
मदनकृष्णपछि बोलेका हरिवंश आचार्यले भने ‘रुने कथा मसँग पनि छ, तर म एक्लै रुन्छु। अघि देविकाजीको डकुमेन्ट्री हेर्ने बेलामा पनि एक्लै रोएँ। अरुले देख्लान भनेर आँसु पुछिन र हिजोआज रुने कारण धेरै छैन। देविका मार्वलले बनेको राम्रो मान्छेजस्तो लाग्थ्यो, मार्वलको देवी हुनुहुँदो रहेछ। पछिल्लो समयमा आएर देवीलाई बोका काटेर चढाएको जस्तै, फूलमालाले हानेजस्तै, भेटीले हानेजस्तै उहाँलाई क्यान्सरले हानेको रहेछ। तर, मार्वलको देवीले पटक्कै रियाक्ट गर्नुभएन। कसैलाई थाहा पत्तो नदिकन त्यत्रो बज्रपातलाई जित्न सफल हुनुभयो। तपाईं साँच्चिकै देवी हुनुहुँदो रहेछ र सरस्वती हुनुहुँदो रहेछ।’
देविकाको आत्मकथा नेपालीसँगै अंग्रेजी भाषामा पनि सार्वजनिक गरिएको छ। माधवकुमार पौडेलद्वारा अनुवाद गरिएको अंग्रेजी संस्करणलाई विनर्स गेल नाम दिइएको छ। पुस्तक बुक हिलले प्रकाशन गरेको हो।
Shares
प्रतिक्रिया