‘हिट’को मानक के हो? हिट कलाकारको सूचीमा पर्दा कस्तो खालको तंरग पैदा हुन्छ, त्यो केकी अधिकारीलाई थाहा छैन। त्यसो त उनी हिटको पछि दौडिने मानिस होइनन्। उनलाई समाजले बाँचेको चेतना र भोगेको वास्तविकतासँग चासो छ। त्यही चासोको कथामा पात्र भएर अभिनय होइन, जीवन बाँच्न चाहने केकीले ३५/३६ वटा फिल्ममा अभिनय गरिन्।
उनले अभिनय गरेका केही फिल्म ठिकै चले। धेरै फिल्म चलेनन्। उद्योगकै भाषा प्रयोग गर्ने हो भने कति फिल्मले त पानी पनि भन्न पाएनन्। फिल्म उद्योगमा हिट भनेर बनाइएको मानकभित्र केकीका दुई फिल्म ‘छ माया छपक्कै’ र ‘झिंगे दाउ’ पर्छन्। तर यी फिल्ममा भन्दा केकीले उम्दा अभिनय गरेका फिल्म अरु नै छन्। त्यसैले त उनलाई आफूले अभिनय गरेका फिल्मले बक्स अफिसमा कति कमायो भन्ने विषयले ठूलो अर्थ राखेनन्। अभिनयकै कारण केकी निरन्तर निर्माता–निर्देशकको रोजाइमा परिन्। परिरहेकै छिन्।
२०७६ सालतिर रंगकर्मी सुनिल पोखरेलले केकीका बारेमा भनेका थिए, ‘छोरी ज्ञानी छ। गुरुकुलमा नाटक हेर्न आउँथी। अहिले सिनेमाकी अभिनेत्री भैसकी।’ केकी नाटकप्रति सधैं आकर्षित कलाकार हुन्। आफ्नो कला यात्राले दशक लामो यात्रा पार गरिसक्दा उनले अभिनय गरेको नाटकको संख्या एकबाट दुई हुन सकेको छैन। उनले वर्षौं पहिले सत्यमोहन जोशीको नाटक ‘चारुमती’मा अभिनय गरेकी थिइन्। त्यसपछि उनले अभिनय गरेका फिल्मको संख्या ३५/३६ वटा पुगिसके। तथापि नाटकले चोरेको उनको मन सिनेमाले त्यस हिसाबमा चोर्न सकेको छैन। सुनिलले भनेजस्तै फिल्म उद्योगमा पनि केकीलाई ज्ञानी र बौद्धिक नायिकाका रुपमा परिभाषित गरिन्छ। तर यो परिभाषा केकीलाई बेलाबेला निकै भारी लाग्छ।
नेपाली नाटक क्षेत्रका भीष्म पितामह बद्री अधिकारीकी छोरी हुन् केकी। उनमा कलाकारिताको चेत सानैबाट थियो। सुशिक्षित कलाकारको साँघुरो क्लबमा पनि अटाएकी केकीको कला यात्रा निकै सहज हुनु पर्ने हो, तर भएन। स्कुलकी प्रथम केटी केकी उनका बुबाले उनकै स्कुलमा पुगेर राम्रो नृत्य गर्नेहरु छान्दा उनी अन्तिममा पनि पर्दैनथिन्। त्यो समय उनलाई यसले कति पीडा दिन्थ्यो, उनी ठिकसँग बताउन पनि सक्दिनन्। त्यसैले कलाकारिताको पहिलो पाइला केकीले बुबालाई थाहै नदिएर चालिन्। जब घरमा थाहा भयो, केही बहस भयो र उनको यात्राले निरन्तरता पायो। यो यात्रा केकीको सपनाको यात्रा थियो।
त्यसो त जीवनको एक चरणमा केकी डाक्टर बन्न चाहन्थिन्। तर त्यो उनलाई देखाइएको सपना थियो। उनलाई सानैमा आफ्नो सपना चिनेकोप्रति गर्व छ। अन्यथा अमर न्यौपानेले ‘करोडौं कस्तुरी’मा भनेझैं आफ्ना सपना नचिनेरै बेस्वाद जिन्दगी बाँचिरहनुपर्ने हुनसक्थ्यो।
केकी कला क्षेत्रमा आउँदै गर्दा उनको करिअर जोखिममा थियो। भविष्यको कुनै निश्चित बाटो थिएन। कहाँ पुगेर टक्क रोकिनु पर्ने हो र अर्को यात्राको प्रारम्भ गर्नु पर्ने हो, थाहा थिएन। तर केकीले हिम्मत गरिन्। उनलाई यो यात्राले सफल बनाउँछ या असफल, थाहा थिएन। उनलाई लाग्थ्यो, ‘असफल भएर पनि कि जितिन्छ, कि सिकिन्छ।’ उनलाई जीवनसँग हारिन्छ भन्ने कुरामा कहिल्यै विश्वास लागेन। विश्वास सिकाइमा थियो। त्यही विश्वासले केकीको यात्रा सरल बनाइदियो।
अभिनेत्रीका रुपमा आफूलाई सफल बनाएकी केकीले निर्मात्री बन्ने असफल प्रयास पनि गरिन्। उनले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्प्रेस’बक्स अफिसमा फ्लप भयो। यो असफलता केकीका लागि सिकाइ थियो। रहरले लागेको फिल्म क्षेत्र अहिले केकीको खुसी र सपना दुवै भएको छ। उनी फिल्म निर्देशन पनि गर्न चाहन्छिन्। तर कहिले, थाहा छैन। उनलाई थाहा छ, ‘एकदिन नायिका बन्ने आफ्नो समय सकिन्छ। उनी आएजस्तै गरी उद्योगमा एकदिन नयाँ नायिका आउनेछन्।’ त्यसपछिका समय पनि यही क्षेत्रमा दिन सकिन्छ भन्ने हेतुले केकीको सपना निर्देशनसम्म पुगेको छ। यो सपना विपनामा परिणत हुन भने समय लाग्ने केकीको संकेत छ।
केकी अभिनित पछिल्लो फिल्म ‘प्रसाद २’ रिलिजको संघारमा छ। प्रसादमा केकीले एक विद्रोही बुहारीको भूमिका निर्वाह गरेकी छिन्। नायिका केकी अधिकारीसँग हामीले यही फिल्म सन्दर्भमा भिडिओ संवाद गरेका छौँ।
प्रतिक्रिया