सासुसँग झुट बोलेर एक्टिङ क्लासमा जानु, राति अबेर घर फर्किएर सिंगो गाउँको सामना गर्नु उनको दैनिकी थियो।
‘ससुरा घर आएपछि कम्प्युटर सिक्ने बहानामा थिएटर सिक्न झुट बोल्नुपरेको मलाई अझै याद छ। म सिरियलको सुटिङबाट राति अबेर घर फर्किंदा छिमेकका केटीहरूले सासूलाई सोध्ने गर्थे, ‘तिम्रो बुहारी के काम गर्छिन्?, यति राती घर फर्किन्छिन्?’
उनले थपिन्, ‘मेरो पहिलो सिरियल टिभीमा आएपछि छिमेकीहरूले आफ्ना प्रश्नको जवाफ पाए। मलाई शंकाको नजरले हेर्नेहरुले मेरो तारिफ गर्न थाले। मेरा सबै गल्तीहरू रातारात ठीक भए।’
अभिनेत्री लक्ष्मी रावतले वुमन भास्करसँगको कुराकानीमा आफ्नो जीवनका सबै उतारचढाव बताउने क्रममा भनेकी छिन्।
लक्ष्मी आफ्नो थिएटर ग्रुपमार्फत उत्तराखण्डका पिछडिएका वर्गका बालबालिकाको भविष्य सुधार्न लागिपरेकी छिन्। आफ्नो सपना कहिल्यै मर्न दिनु हुँदैन भन्ने उनको विश्वास छ।
उनी भन्छिन् ‘आशाको ज्वाला जगाइ राख्नु पर्छ तब मात्रै सफलताले साथ दिन्छ।’
लक्ष्मी दिल्लीको प्रेमनगर क्षेत्रमा हुर्किन्। उनले प्रारम्भिक शिक्षा पनि त्यहीँ लिएकी हुन्। त्यहाँ बस्दा उनका आमाबुवा आफ्नी छोरी गाउँसँग जोडियोस् भन्ने चाहान्थे। त्यसैले उनी परिवारसँग गर्मीको बिदा मनाउन गाउँ जान्थिन्। दाउरा काट्ने, पानी ल्याउने जस्ता घरायसी काम गर्न उनकी आमा मार्गनिर्देश गर्थिन्। लक्ष्मी गाउँका बालबालिकासँग रमाउँदै ती सबै काक गर्थिन्।
आफ्ना पुराना दिन सम्झँदै लक्ष्मी भन्छिन्, ‘हामी दिल्लीको प्रेमनगर क्षेत्रमा जहाँ बस्थ्यौं, त्यहाँ एउटा सानो उत्तराखण्ड पनि छ। हाम्रो संस्कृति र सभ्यताको झलक हरेक चाडपर्वमा देखिन्छ। त्यसैले हामी सधैं पहाडसँग जोडिएका थियौँ। बाबा मिलनसार हुनुहुन्थ्यो र हामीलाई पनि अन्य मानिसहरुसँगको सानिध्यता भेटघाट राम्रो लाग्थ्यो।’
ससुराले घरमा धेरै प्रतिबन्ध लगाए तर हार खाइनन्
लक्ष्मीको २२ वर्षको उमेरमा विवाह भयो। लक्ष्मीको घरको माहोल माइतको भन्दा फरक थियो। उनको श्रीमानको घरका मानिसहरु बाहिरका मानिससँग घुलमिल भएको मन पराउँदैनथे।
लक्ष्मीले त्यहाँ घर बाहिर निस्किएर घुम्ने, चर्को स्वरमा हाँस्ने, ढोकामा उभिन जस्ता कृयाकलाप गर्न पाउँदैनथिन्। घरको बन्देजले गर्दा लक्ष्मीको थिएटर र अभिनय जीवन संकटमा पर्यो। तर उनले यो कठिनाईसँग हार खाइनन्।
उनी भन्छिन्, ‘यस्तो अवस्थामा केही बन्ने वा थिएटर र अभिनय भन्दा पनि रिहर्सलमा जानु ठूलो कुरा थियो। हार मान्नुको सट्टा मैले प्रयास गरिरहेँ र लुकेर थिएटर गएँ। यसैबीच, मैले इन्दिरा गान्धी राष्ट्रिय कला केन्द्रमा जागिर पाएँ।’
कम्प्युटर सिक्ने बहानामा अभिनय सिकेँ
जागीरे जीवनका कारण लक्ष्मीलाई घर बाहिर निस्कन सजिलो भयो। त्यही समय उनले आफ्ना श्रीमानलाई अभिनय सिक्ने इच्छा व्यक्त गरिन्।
भन्छिन्, ‘एकदिन मेरा श्रीमानले श्रीराम सेन्टर फर परफर्मिङ आर्टस्मा अभिनयका लागि अन्तर्वार्ताको विज्ञापन देखे र मलाई भने, यदि तिमी पास भयौ भने म तिम्रो इच्छा पूरा गर्न मद्दत गर्छु। यो मेरो लागि सुनौलो अवसर थियो।’
लक्ष्मी उक्त अन्तर्वार्तामा टपर भइन्। त्यसपछि उनका श्रीमानले वाचा अनुसार साथ दिए। लक्ष्मी हरेक साँझ ५ देखि ८ बजेसम्म कम्प्युटर सिक्ने बहानामा एक्टिङ क्लास जान थालिन्। यसरी लक्ष्मीले दुई वर्षको अभिनय क्लास पुरा गरिन्।
पुराना दिनको सम्झना गर्दै लक्ष्मी भन्छिन्, ‘कयौं पटक अफिसबाट आउँदा कक्षामा ढिलो पुग्थेँ, जसको सजाय भोग्थेँ। म थकित भएर घर पुग्थेँ र केटाकेटीको गृहकार्य गराएर घरका सबै सदस्यका लागि खाना पकाउँथे।’
छोराछोरी, घर, काम र सौख सन्तुलन गर्न गाह्रो थियो
उनलाई आफ्नो जिम्मेवारी र सौखको सन्तुलन मिलाउन गाह्रो थियो। सबै कुरालाई मिलाउँदै दुई वर्षको कोर्स पुरा गर्दा लक्ष्मी उत्कृष्ट ३ विद्यार्थीमा परिन्। यसले उनको अभिनय यात्रालाई सहज बनायो। दुई वर्षको कोर्सपछि लक्ष्मीले ४ वटा नाटकमा शिर्ष भूमिकामा रहेर अभिनय गरिन्। त्यसपछि उनलाई सिरियलबाट अफर आयो।
भन्छिन्, ‘मैले ‘यू टिभी’को उर्दू सिरियल ‘एक नजर की तमन्ना’बाट अभिनय सुरु गरेँ। जब सिरियलको सुटिङ सुरु भयो, तब परिवारलाई थाहा भयो कि म सिरियलमा काम गर्न लागेको छु। मलाई घरमा थाहा भएपछि चुनौती थियो। तर मेरा श्रीमानले आमालाई मनाउनु भयो। सासुले मलाई बुझेपनि म सुटिङबाट राति अबेर घर फर्किदा छिमेकीका महिलाले सासूलाई सोध्ने गर्थे– तिम्रो बुहारी के काम गर्छिन्, जो राती घर आउँछिन्।’
उनका अनुसार त्यो समय सासुले आफ्ना छिमेकीसँग बुहारीका लागि बिद्रोह गरिन्। जब लक्ष्मीको सिरियल प्रसारण भयो छिमेकका मानिसले उनकी सासुकहाँ आएर उनको प्रशंसा गर्न थाले।
हिन्दी भाषामा बनेको उत्तराखण्डको नाटक
केही सिरियलमा काम गरेपछि लक्ष्मीले दुरदर्शनमा काम गरिन्। त्यसपछि उनले आफ्नै एक्टिङ स्कूल खोलिन्। त्यसक्रममा लक्ष्मी उत्तराखण्डका केही नाटकहरू हेर्ने मौका पाइन्। उनले हेरेका ती नाटक निकै कमजोर थिए।
लक्ष्मी भन्छिन्, ‘पहाडका जनताले व्यावसायिक रुपमा नाटक गर्न नसकेको महसुस गरेँ। भावी पुस्ताले हामीबाट के सिक्ने, आफ्नो संस्कृतिसँग कसरी जोडिने? यी प्रश्नहरूले मलाई सतायो। त्यसपछि मैले त्यहाँ उत्तराखण्डका लागि नाटकमा काम गर्ने निर्णय गरेँ।’
उनी अगाडि भन्छिन्, ‘मैले हिन्दी भाषामा उत्तराखण्डका धेरै नाटकहरूमा काम गर्न थालेँ। मेरो अभिनय विद्यालयमा धेरै भाषाका विज्ञहरू आउँथे। मेरो नाटक ‘चल अब लौट चलेँ’ उत्तराखण्डबाट बसाइँ सरेका मानिसहरूको कथामा आधारित छ। के मानिसहरू साँच्चै पहाड छोडेर वा जराबाट टाढा सर्दैछन्? भन्ने प्रश्नको वरीपरी घुमेको छ। यसबाहेक एक्लोपनसँग लडिरहेका पहाडका वृद्धवृद्धालाई पनि मुखाग्नी कसले दिने भन्ने चिन्ताले सताइरहन्छ।’
उनले अर्को नाटक ‘तिलु’ बनाइन्। हिन्दी भाषाको यो नाटकबाट लक्ष्मीले लडाकु महिलाको कथा भनिन्। उनको कामको निक्कै प्रशंसा भयो। त्यसबेला उत्तराखण्ड सरकार र तत्कालीन मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले उत्तराखण्ड दिवसमा यो नाटकको ३ शो मञ्चन गराए। यही नाटकका लागि लक्ष्मी सम्मानित भइन्। यो नाटक पछि दिल्लीमा पनि मञ्चन भयो।
दास समुदायका बालबालिकालाई नाटक
लक्ष्मीले उत्तराखण्डमा नाटकमा काम गर्दा त्यहाँको दास समुदायका केटाकेटी अवस्था देखिन्। त्यहाँका बालबालिकाका पुर्खाहरु पहाडी गीत गाउँथे।
चाडपर्व वा अन्य चाडपर्वमा ढोल बजाउँथे। त्यसपछि उनलाई लाग्यो यो समुदायका बालकालिकामा पनि कलाकार बन्ने गुण छ। त्यसपछि लक्ष्मीले उत्तराखण्डको हरेक गाउँमा गएर उनीहरूलाई अभिनय र कलाको ट्रिक्स सिकाउन थालिन्।
उनले अभिनय सिकाएका धेरै बच्चाहरु आज नाटक स्कुलमा संलग्न छन्।
लक्ष्मी भन्छिन्, ‘उनीहरुको सबै खर्च प्रज्ञा एक्टिङ स्कुलले बेहोर्छ। उनीहरु हामीसँगै बस्छन्। हामीसँग नाटक, लघु चलचित्रमा काम गर्छन्। आगामी दिनहरूमा पनि यस्ता केही नाटक र चलचित्रहरू मार्फत ‘रिभर्स माइग्रेसन (पहाडमा फर्किएँ) भन्ने बलियो सन्देश दिन चाहन्छु, जसले गर्दा जनताले सधैं आफ्नो जरासँग जोडिन र आफ्नो संस्कृतिको सम्मान गर्न सकुन्।’
Shares
प्रतिक्रिया