नेपाली सिने उद्योगले ‘पशुपति प्रसाद’जस्तो सफल सिनेमा पाएको सात वर्ष पूरा भएको छ। यही अवसरमा फिल्म निर्माण टिमले फिल्मको दोस्रो सिक्वेल घोषणा गरेको छ। दीपेन्द्र के खनालले निर्देशन गर्ने फिल्मको दोस्रो सिक्वेल भने ‘भस्मे डन’ शीर्षकमा निर्माण हुने भएको छ। भस्मे डन पशुपति प्रसादको लोकप्रिय चरित्र हो।
फिल्मको सिक्वेल घोषणा गर्दै निकालिएको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘पशुपति प्रासादको सिक्वेल बन्दा तर्क संगत र अर्थपूर्ण तरिकाले बन्नुपर्छ भन्ने हाम्रो पनि चाहाना छ। र, हामीले त्यसरी नै मेहनेत गरेर यो फिल्म निर्माण गर्न लागेका हौँ।’
फिल्मको सफल प्रदर्शनको सात वर्षसम्म सिक्वेल निर्माण नहुँदा दर्शकले आफूलाई प्रश्न गरिरहेको निर्देशक खनालले बताएका छन्। दर्शकको त्यही प्रश्नलाई सम्बोधन गर्न सात वर्षअघि ‘पशुपति प्रसाद’ निर्माण भएको माघ १५ को अवसर पारेर सिक्वेल घोषणा गरेको खनालको भनाइ छ।
फिल्म निर्माणको घोषणासँगै प्रदर्शन मिति पनि तय गरिएको छ। यो फिल्म आगामी दसैंको फूलपातीको दिन रिलिज गरिने भएको छ।
टुकी आर्टस प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्म फागुनको दोस्रो साताबाट छायांकनमा जाने छ। फिल्ममा कृष्ण भारद्वाज र सुवास भुसालको संगीत रहने छ भने, दीर्घ खड्काको सम्पादन रहने छ।
फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रवीन्द्र सिंह बानियाँ, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाललगायत कलाकारले अभिनय गर्ने छन्।
Shares
प्रतिक्रिया