एक समय कला क्षेत्रले आइडल मानेको पूर्वमिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाको दाम्पत्य सम्बन्ध अन्त्यको खबरले सामाजिक सञ्जाल रंगिएको छ। यो जोडीले ६ महिनाअघि नै सम्बन्ध विच्छेद गरे पनि जीपीले अंश मुद्दाको छिनोफानो नगरी विवाह गरेपछि उनीहरुको मनमुटाव सतहमा आयो। अहिले उनीहरु एकले अर्कालाई विभिन्न आक्षेप लगाएर थाक्दैनन्।
उषा र जीपीको सम्बन्ध किनारा लाग्नुअघि यस्तै ठूलो होहल्लासहित लोकगायिका बबिता बाँनिया ‘जेरी’ र शंकर क्षेत्रीको सम्बन्ध विच्छेद भएको थियो। यी दुई खबर सेलाउन नपाउँदै नेपाली सांगीतिक क्षेत्रको अर्को चर्चित जोडी अलग भएको चर्चा सुरु भएको छ।
गायक निशान भट्टराई र ऋचा न्यौपानेको सम्बन्ध अन्त्य भएको बताइन्छ।
केही समयअघि नै सम्बन्ध अन्त्य भएको बताइए पनि उनीहरुको आधिकारिक धारणा भने बाहिर आइसकेको छैन। तर उनीहरु अलग भइसकेको उनीहरु निकट स्रोत बताउँछ। यो जोडीले सामाजिक सञ्जालबाट पनि एकअर्काका तस्बिर हटाइसकेका छन्।
कोरोना महामारीको लकडाउनमै वैवाहिक बन्धनमा बाँधिएका ऋचा र निशानले एकअर्कालाई शक्तिका रुपमा परिभाषित गरेका थिए। एकअर्कालाई परेको कठिन घडीमा बल दिने बताइरहेका निशान–ऋचाले प्रेमपछि कानुनी विवाह गरेका थिए।
निशान नेपाल आइडलबाट चर्चामा आएका गायक हुन्। त्यसपछि उनले थुप्रै हिट गीत गाएका छन्। निशान र ऋचाको संवाद नेपाल आइडलकै बेला सामाजिक सञ्जालमार्फत सुरु भएको थियो।
त्यही संवाद र चिनजानलाई विवाहमा परिणत गरेको यो जोडीले सम्बन्ध सकिएको आधिकारिक जानकारी भने दिएको छैन।
Shares
प्रतिक्रिया