आर्यन सिग्देल अभिनित नयाँ फिल्म ‘डिसेम्बर फल्स’ पुस १५ देखि देशभर प्रदर्शन गर्ने तयारी छ। लामो समयको अन्तरालपछि फिल्ममा देखिने आर्यन यो फिल्मबाट निकै उत्साही छन्। फिल्मले आफ्नो पुरानो क्रेज फर्काउनेमा आर्यन आशावादी छन्।
आर्यनजस्तै ‘डिसेम्बर फल्स’बाट निर्माता पनि उत्तिकै आशावादी देखिन्छन्। फिल्मका निर्माता रामप्रसाद रिमालले ९ करोड कलेक्सनको दाबी गरेका छन्। यसअघि ‘धुवाँ यो नशा’, ‘कसम’लगायत फिल्म निर्माण गरेका रामप्रसाद पनि लामो समयको अन्तरालपछि फिल्ममा फर्किएका हुन्।
यसअघि फिल्ममा गरेको लगानी डुबाएका रामप्रसाद यो फिल्मबाट आफूलाई दर्शकले माया गर्ने बताउँछन्। फिल्म चल्नेमा दुविधा नरहेको दाबी गर्दै यसपटक आफ्नो फिल्मले ९ करोड ३ लाख ३३ हजारभन्दा धेरै पैसा कमाउने आँकडा उनले निकालेका छन्।
उनी भन्छन्, ‘यो पैसा नेपालको हल, डिजिटल राइट्स, ओभरसिज राइट्स सबै जोडेर पनि हुनसक्छ। तर, मलाई हलबाट नै फिल्मले यो आँकडा ग्रस गर्नेमा विश्वास छ।’
फिल्मको कथावस्तु, मेकिङ, प्रस्तुति सबै कुराले आफ्नो फिल्म अब्बल रहेको उनको दाबी छ।
फिल्ममा आर्यनका साथमा उपासनासिंह ठकुरी शीर्ष भूमिकामा देखिनेछिन्। फिल्म प्रवीण झाले निर्देशन गरेका हुन्।
Shares
प्रतिक्रिया