नेपाली फिल्म ‘लोरी’ कार्यकारी निर्माताका रुपमा फेसन डिजाइनर प्रबल गुरुङ जोडिएका छन्। यस वर्षको कान्स फिल्म फेस्टिभलमा ग्रान्ड जुरी पुरस्कारसमेत जित्न सफल ‘लोरी’ अहिले ओस्कार अवार्डको ‘सट लाइभ एक्सन’ विधामा प्रतिस्पर्धा गरिरहेको छ।
यो फिल्मको निर्माता अनुप पौडेल हुन्। कार्यकारी निर्माताका रुपमा जोडिएका गुरुङले ओस्कार अभियान सञ्चालनमा फिल्मलाई मद्दत गर्ने पौडेलले बताए।
पौडेल भन्छन्, ‘उहाँजस्तो प्रतिष्ठित सेलिब्रिटीले नेपाली फिल्मलाई सघाउनु एकदमै खुसीको कुरा हो। उहाँको मद्दतले हामीलाई ओस्कारमा फाइदा पुग्ने आशा लिएका छौँ।’
गुरुङले पनि फिल्मसँग जोडिन पाउँदा खुसी लागेको बताएका छन्। भने, ‘यो एक अत्यन्तै शक्तिशाली आमा–छोरीको कथा हो, जुन नेपालको सांस्कृतिक मुद्दाहरूमा धेरै निर्भर छ।’
एक नेपाली गाउँमा सेट गरिएको, १४ मिनेटको यो फिल्म एक आमाको वरिपरि केन्द्रित छ। जसले आफ्नी १२ वर्षकी छोरीको विवाहप्रतिको हिच्किचाहटलाई लोरीमार्फत कम गर्ने प्रयास गरेकी छन्।
Shares
प्रतिक्रिया