ad ad

कला


कस्तो छ हलमा प्रदर्शन भइरहेको ‘लाखे’?

कस्तो छ हलमा प्रदर्शन भइरहेको ‘लाखे’?

नेपालखबर
कात्तिक १९, २०७९ शनिबार १३:०, काठमाडौँ

शुक्रबारबाट फिल्म ‘लाखे’ प्रदर्शन भइरहेको छ। यसमा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, अर्पण थापा, सिस्टम भण्डारी, वर्षा राउतलगायतका कलाकारहरूले अभिनय गरेका छन्। 

छायाङ्कन र द्वन्द्वको पक्षबाट प्रशंसा बटुलिरहेको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन्। सिजन अर्यालले तयार पारेको कथा बदलाको भावमा छ। 

समीर महर्जन (सौगात) एक बैंकमा म्यानेजर हुँदा बैंकिङ कसुरमा फसाइन्छ। त्यसले उनका श्रीमती सीमा (वर्षा) र छोरी सिमरन (सिस्टम) सँग अलग बनाउँछ। जेलमा समीरको भेट रकी (आर्यन) र मेटल (अनुप) सँग हुन्छ। त्यहीँबाट बैंक लुटेर आफूलाई फसाइएको बदला लिने योजना समीरले बनाउँछन्। यी दुईसँगै उहाँले ह्याकर प्रिन्स (सुशील) र अप्पा (रोहित) सँग बैंक लुटेर त्यहाँको पैसा एक जङ्गलमा लगेर काठमा लुकाउँछन्। 

नेपाल प्रहरीले यो अपराधी समाउन नसकेपछि सीआईबीका मनोज भण्डारी (अर्पण) लाई केस आउँछ। जनक अग्रवाल (प्रशान्त) को बैंकबाट लुटेको पैसा अचानक राखिएको ठाउँबाट हराउँछ। साथै, अप्पा पनि गायब भएपछि समीरले बुनेको योजनामा विभिन्न कठिनाइ आउँछ। 

पैसा मनोजले लुकाए? उनी जनककै सहयोगी हो? वा समीरले नै नयाँ योजना बनाएका हुन्? लाखेसँग फिल्मको कथा कसरी जोडिएको छ? यी सब प्रश्नको जवाफ फिल्म हेर्दा नै पाइन्छ। 

विशेषतः फिल्मको क्लाइमेक्स चर्चा भएको छ। हिमाली सुन्दरताको क्लाइमेक्स मनोरञ्जक रहेको अभिनेता विनय श्रेष्ठले बताए।

‘फिल्म मेकिङमा निकै मेहनत गरिएको छ। सबै आआफ्ना भूमिकामा फिट छन्’, विशेष शोमा फिल्म हेर्न आएका अभिनेता श्रेष्ठले भने, ‘यो प्रकारको द्वन्द्व कमै नेपाली फिल्ममा देख्न पाइन्छ। किनकि हामीलाई बजेट र प्रविधिले सहयोग गर्दैन।’ 

फिल्म ‘लाखे’ का निर्देशक बस्नेतले आफू द्वन्द्व निर्देशकसमेत रहेकाले यसमा प्रयास गरेको बताए।

‘विदेशी फिल्मको एक्सनमा लोभिने दर्शकलाई नेपाली प्रविधिबाटै केही देखाउन खोजेको छु। उहाँहरूको आकर्षण बढेमा हामीले मेकिङ अझैँ खर्च गर्न सक्छौँ’, निर्देशक बस्नेतले भने। 

करिब रु तीन करोड लगानीमा फिल्ममा सुसन प्रजापतिको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन छ। फिल्म नेपालभरका हलमा कात्तिक १८ देखि प्रदर्शन भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .