ad ad

कला


नेपालमा युरोपियन फिल्म फेस्टिबल, केकी भन्छिन् : सस्तोमा युरोप घुमेजस्तो

नेपालमा युरोपियन फिल्म फेस्टिबल, केकी भन्छिन् : सस्तोमा युरोप घुमेजस्तो

नेपालखबर
कात्तिक १०, २०७९ बिहिबार १६:४८, काठमाडौँ

अभिनेत्री केकी अधिकारीले युरोपियन फिल्म हेर्नु सस्तोमा युरोप घुम्नु सरह भएको बताएकी छिन्।

नेपाल युरोपियन फिल्म फेस्टिभलको सद्भावना दूत रहेकी केकीले फिल्म महोत्सव संसारका फिल्म मेकिङको कौशल जान्ने सुवर्ण अवसर भएको बताउँदै नेपाल युरोपियन फिल्म फेस्टिभलले दर्शक तथा फिल्मकर्मीलाई त्यो मौका उपलब्ध गराउने बताइन्।

उनले फिल्म हेरिरहँदा युरोपका ठाउँसँगै युरोपको कला संस्कृतिसँग पनि साक्षात्कार हुने अवसर पाइने भएकाले आफूले यसलाई विना पैसा वा सस्तोमा युरोप घुम्ने मौकाका रुपमा लिएको बताइन्।  

नेपाल युरोपियन फिल्म फेस्टिभलको ११ औँ संस्करण काठमाडौँमा आगामी साता सुरु हुनेछ। अनलाइन र भौतिक गरी मिश्रित माध्यमबाट सञ्चालन हुने फेस्टिभल यो पटक काठमाडौँ र सुर्खेत गरी दुई ठाउँमा सञ्चालन हुनेछ। 

केकीले आफू अभिनेत्रीसँगै फिल्म निर्माणमा पनि सक्रिय रहेकाले युरोपियन फिल्म फेस्टिभलमा देखाइने फिल्म हेर्न उत्साहित रहेको बताइन्।

‘म आफैँ पनि व्यावसायिकसँगै महोत्सव केन्द्रित फिल्म बनाइरहेकी छु। त्यसैले पनि यो महोत्सवलाई मैले उत्सुकतापूवर्क लिएकी छु। महोत्सवमा १३ वटा प्रतिष्ठित अवार्ड प्राप्त युरोपिनय फिल्महरु देखाइँदैछन्। म सुटिङ वा यसको तयारीबाट फुर्सद मिलाएर पनि सबै फिल्म हेर्ने योजनामा छु,’ उनले भनिन्।

केकीले केही दिनअघि मात्र ‘प्रसाद २’ साइन गरेकी छिन् जसको सुटिङ मंसिरको पहिलो साता हुँदैछ। 

केकीले नेपाल युरोपियन फिल्म फेस्टिभलमा युरोपियनसँगै नेपाली फिल्म पनि देखाइने भएकाले नेपाली फिल्म पनि युरोपियन दर्शकसम्म पुगिरहेको बताइन्।

‘महोत्सवमा नेपाली फिल्म पनि देखाइँदैछन् जुन युरोपका दर्शकले पनि हेर्नुहुँदैछ। यसले नेपाली कला संस्कृति त उता पुग्छ नै कालान्तरमा यसले सहकार्यको ढोका पनि खोल्न सक्छ’ केकीले भनिन्।

केकीले युरोपका फिल्म नेपालमा देखाए जस्तै नेपाली फिल्म पनि विश्वका विभिन्न देशमा देखाउन पहल गर्नुपर्ने आवश्यकता रहेको औँल्याइन्। 

उनले भनिन्, ‘व्यक्तिगत रुपमा फिल्मकर्मीले आआफ्नो हिसाबले विश्वका फिल्म महोत्सवमा फिल्ममार्फत देशको प्रतिनिधित्व गरिरहनु भएको छ। तर यसलाई संगठित रुपमा सरकारले पनि अगाडि बढाउन जरुरी छ। यसले नेपाली फिल्म र फिल्मकर्मीका लागि थप अवसरको ढोका खोल्न सक्छ।’

नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११ औँ संस्करण आउँदो कात्तिक ११ देखि १५ गतेसम्म हुनेछ। महोत्सवमा १३  युरोपेली र ३ नेपाली चलचित्र प्रर्दशन हुने आयोजकले जनाएको छ।   

फिल्म फेस्टिभलको यो संस्करण काठमाडौँसँगै पहिलोपल्ट सुर्खेतमा पनि हुँदैछ । सुर्खेतको मध्यपश्चिम विश्व विद्यालयमा चार दिन चल्ने फिल्म महोत्सवमा ५ युरोपियन र ३ नेपाली फिल्म प्रदर्शन हुनेछन्।

यसरी प्रदर्शन हुने ३ नेपाली फिल्ममा सुजित बिडारी लिखित तथा निर्देशित ‘ऐना झ्यालको पुतली’ पनि रहेको छ।

महोत्सव कात्तिक १९ गते सुरु भएर २२ गते सकिनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .