यसअघिका निर्वाचनका बेला कलाकारलाई तामझामसाथ आफ्नो पार्टीमा भित्र्याउन दलहरुको तँछाडमछाड नै चल्थ्यो।
चुनावी सरगर्मीमा कलाकारलाई भित्र्याउने राजनीतिक दलहरुले उनीहरुलाई टिकट दिने आश्वासन दिन्थे।
टिकटको आशासहित पार्टी प्रवेश गरेका कलाकार चुनावी प्रचारमा दिलोज्यान दिएर लाग्थे। अन्ततः पार्टीले कलाकारलाई राष्ट्रका गहना भनेर अन्तिममा निराश बनाउँथे।
कलाकारहरु दलको चुनावी प्रचार गर्ने हतियार मात्रै हुन्थे। पार्टीले उनीहरूलाई उम्मेदवार बनाउने आश्वासन त दिन्थ्यो, तर अन्त्यमा भोट माग्न खटाउँथ्यो।
विगतमा यसरी जिल ख्वाइएका कलाकारको सूची लामै छ। यो सूचीमा सदावहार अभिनेत्रीको परिचय बनाएकी करिश्मा मानन्धरदेखि अभिनेता भुवन केसी, रेखा थापा, कोमल वोली पर्छन्।
दोस्रो संविधान सभाको चुनावमा नेता बन्न जोडतोडले लागेका भुवनलाई नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनावमा उठाउने आश देखायो।
टिकट पाउने आशामा जता संगठन कमजोर छ, त्यतैबाट भए पनि उठ्छु भन्दै पार्टीमा अनुनय गरे। अन्ततः एमालेले भुवनलाई लोप्पा ख्वाउँदै त्यसक्षेत्रमा विदुर मैनालीलाई उठाइदियो।
त्यसपछि कुँडिएका केसी हरेक निर्वाचनताका चर्चामा आउँछन्। अन्य पार्टी प्रवेशको चर्चाबीच गत असोजमा कांग्रेस प्रवेश गरेका केसीले चलचित्र विकास बोर्डको अध्यक्ष पड्काए। त्यसयता उनी बोर्डमै छन्।
रेडियो नेपालको जागिरै छोडेर राप्रपा प्रवेश गरेकी कोमल वलीले टिकटकै लागि तामझामसाथ नेकपा एमाले प्रवेश गरिन्।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट टिकट दिने आश्वासन पाएकी उनले त्यसताका पार्टीले आफ्नो आत्मसम्मानमा चोट दिएको भन्दै बिलौना गरिन्।
उनले त्यसताका स्वतन्त्र उम्मेदवारी दर्ता गराएर पनि फिर्ता लिइन्। यसरी तामझामसाथ कलाकारलाई पार्टी भित्र्याउने दलको प्रवृत्ति यो निर्वाचनसम्म आइपुग्दा निक्कै पातलो देखियो।
पार्टीको शरणमा पुगेका धेरै कलाकारलाई दलले सिफारिस पनि गरे। सिफारिस भएकामध्ये कतिले टिकट पनि पाएका छन्। तर, चुनावका बेला कलाकारलाई पार्टी भित्र्याउने, आश्वासन दिने, सिफारिसमा परेर पनि टिकट नदिने परम्परा बन्द भने भएको छैन।
एमाले अध्यक्ष केपी ओलीले निर्वाचनताका कलाकार भित्र्याउने परम्परालाई यसपटक पनि निरन्तरता दिए।
ठूलो तामझामसहित पार्टी प्रवेश गराएका ओलीले स्थानिय निर्वाचनमै करिश्मालाई ललितपुरको गोदावरी नगरपालिकामा मेयरमा उठाउने चर्चा भएको थियो।
तर, उठाएनन्। आगामी मंसिरमा हुने आसन्न निर्वाचनमा भने मैदानमा देखिने करिश्माको तयारी थियो। यसपटक पनि करिश्मालाई पार्टीले पत्याएन।
पर्टीले टिकट नदिएपछि करिश्माले सामाजिक सञ्जालमा आगो ओकल्न थालेकी छिन्। गत चैत ८ गते आश्वासनसहित प्रवेश गरेकी करिश्माले आफूलाई एमालेले अन्याय गरेको बताउन थालेकी छन्।
आगामी मंसिरमा हुने निर्वाचनमा पार्टीले समानुपातिक र प्रत्यक्ष दुवैमा टिकट नदिएपछि उनको रोनाधोना सुरु भएको छ।
स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा एमाले प्रवेश गरेकी करिश्माले आगामी मंसिर४ मा हुने संसदीय निर्वाचनमा टिकटको आश्वासन पाएको चर्चा थियो।
आफू प्रत्यक्षतर्फ लड्न सक्षम हुँदाहुँदै पनि पार्टीले समानुपातिकमासमेत नराखेको भन्दै उनले गुनासो गरेकी छिन्।
उनले आफ्नो घरको लागि नभएर कला क्षेत्रको उत्थान र महिलाको हितका लागि राजनीतिमा आएको बताइन्। तर पार्टीले आफूलाई नबुझेको बताएकी छिन्।
पार्टी अध्यक्ष र पार्टीका नेताले बुझेर टिकट देलान् भन्ने आशले आफूले घरदैलोमा नधाएको बताएकी करिश्माले पार्टीभित्रै संघर्ष गर्ने बताएकी छिन्।
२०७३ सालमै डा. बाबुराम भट्टराईले तत्कालीन एकीकृत माओवादी छाडेर खोलेको ‘नयाँ शक्ति’बाट राजनीतिक यात्रा गर्न खोजेकी करिश्माले त्यहाँ आफ्नो छवि बनाउन सकिनन्।
‘नयाँ शक्ति’ छाडेको तीन वर्षपछि एमाले अध्यक्ष ओलीको हातबाट टिका र खादा लगाएर एमाले प्रवेश गरेकी करिश्माले त्यसपछि आफ्नो नाम नै सूर्यकुमारी राखिन्।
टिकट पाउने आश्वासनसहित पार्टी प्रवेश गरेर चुनावी प्रचारमा लागेकी करिश्मा अन्ततः जिल्लिएकी छिन्।
टिकटको आश्वासन पाएर जिल्ल पर्ने कलाकार करिश्मा मात्रै होइनन्। हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ पनि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नेमा ढुक्क थिए।
उनी सर्लाही ४ को ‘क’बाट प्रदेश सभा समानुपातिकतर्फ सिफारिसमा परेका थिए। सामाजिक सञ्जाल फेसबुक मार्फत जोगिन्दरले यो खुशी आफ्ना फ्यानसँग बाडेका थिए।
लामो समयदेखि कांग्रेसनिकट सांस्कृतिक संघमा आबद्ध रहेर काम गरेका उनले अन्तत उम्मेदवारी दर्ता गर्न पाएनन्।
यसअघिको चुनावमा पनि उम्मेदवार बन्ने प्रयत्न गरेका रिजालले अन्तिमम समयमा आएर टिकट पाएनन्।
यस पटक चुनावी मैदानमा देखिने सपना सहित सामाजिक सञ्जालमा खुशी पोखेका रिजाल अन्तमा जिल्लिएका छन्।
पार्टीले टिकट नदिए पनि रिजाल भने मौन देखिएका छन्। उनले कुनै प्रतिकृया दिएका छैनन्। चुनावी प्रचार छोडेर पारिवारिक तस्बिर सार्वजनिक गरिरहेका छन्।
कांग्रेसकै तर्फबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि सिफारिसमा परेका लोक गायक विमलराज क्षेत्री पनि मौन छन्।
कांग्रेस पर्वतले उनको नाम सिफारिस गरेको थियो। तर अन्त्यमा पार्टीले पत्याएन। बिमलले टिकट नपाएकोमा असन्तुष्टि देखाएका छैनन्। उनी सञ्जालमा टिकट पाएकाहरुलाई शुभकामना बाँड्दै सांगीतिक कार्यमा फर्किएका छन्।
पुराना अभिनेता गणेश उप्रेतीलाई माओवादी केन्द्रले चुनावी मैदानमा पठाउने आश्वासन दिएको थियो। लामो समयदेखि अमेरिका बस्दै आएका उप्रेती मोरङ २ बाट सिफारिस भएको थिए।
उनले पनि टिकट पाएनन्। निर्वाचनका लागि सिफारिसमा पर्दा पनि सञ्जालमा मौन देखिएका उप्रेती टिकट नपाए पनि बोलेका छैनन्।
चलचित्र ‘कालो पोथी’ निर्देशक मीनबहादुर भाम कांग्रेसतर्फबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा सिफारिस भएका थिए।
मुगुको छायाँनाथ–रारा नगरपालिका– ४ का भामलाई कांग्रेसले पिछडिएको क्षेत्र र खस–आर्यतर्फको क्षेत्रबाट सिफारिस गरेको थियो।
हरेक पटक चुनाव नजिँकिदा कलाकारले पार्टी प्रवेश गर्ने, उनीहरुलाई टिकट दिने आश्वासनसहित प्रचारमा लगाउने र साथ छोड्ने प्रचलन पुरानै हो।
कलाकारलाई ‘देशका गहना’ हुन् भनिन्छ। हरेक चुनावताका कलाकार पार्टीका गहनाकै रुपमा प्रयोग हुँदै आएका छन्। प्रयोग पछि भूमिका नदिने पार्टी र अवसर नपाएपछि पार्टी बदल्ने कलाकारको पनि पुरानै प्रवृत्ति हो।
निर्वाचनको मुखैमा एमाले प्रवेश गरेर ‘लालसलाम’ भन्दै मुठी उठाएकी करिश्मा हुन् वा पार्टीको आश्वासन पाएर पनि टिकट नपाएका अन्य कलाकार अर्को चुनावसम्म उही पार्टीमा देखिन्छन् वा अरु पार्टीको रंगमा देखिने टुंगो छैन।
Shares
प्रतिक्रिया