मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लागिसकेको छ। केही दल भागबन्डा मिलाउँदैछन् त केही गाउँ पसिसकेका छन्।
यस पटक चुनावी मैदानमा होमिनेमा यस पटक पुराना अनुहार मात्रै छैनन्। सामाजिक क्षेत्रमा राम्रो पहिचान बनाएका व्यक्तिदेखि फिल्ममा सफल सेलिब्रिटी छन्।
रेखा थापा
पछिल्लो समय संसद पुग्ने योजनासहित कलाकारहरु धमाधम उम्मेदवारी घोषणा गर्दैछन्। यस पटक अभिनेत्री रेखा थापा सबैभन्दा पहिले चुनावी मैदानमा होमिएकी छन्।
मोरङ क्षेत्र नम्बर ३ बाट उठ्ने गरी उनले चुनावी अभियान थालिसकेकी छन्। उनी अहिले मोरङमा घर दैलो अभियानमा जुटिसकेकी छन्।
नेपाली फिल्म उद्योगमा हिरोको उपमा पाएकी थापाको चुनावी प्रचारका क्रेज राम्रै देखिएको छ। रेखाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधिसभा सदस्यमा लड्ने तयारीमा छिन्।
राप्रपा महाधिवेशनमा महामन्त्रीमा पराजित थापा पछिल्लो समय पार्टीगत राजनीतिमा सक्रिय छिन्।
उनलाई राप्रपाले थापाको मोरङ–३ बाट प्रतिनिधि सभातर्फ प्रत्यक्ष उम्मेदवारका रुपमा सिफारिस गरेको छ।
यो क्षेत्रमा नेपाली कांग्रेसबाट व्यवसायी सुनिल शर्माको नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएको छ।
त्यसैगरी, एमालेबाट पोलिटब्युरो सदस्य भानुभक्त ढकाल पनि यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा उठ्ने तयारीमा छन्।
कोमल वली
गायिका तथा सञ्चारकर्मी कोमल वली दाङ–३ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा उठ्ने तयारीमा छिन्।
एमालेमा केही वर्षदेखि सक्रिय वली अहिले दाङ पुगेर चुनावी प्रचार गरिरहेकी छन्। २०७४ को चुनावमा समानुपातिक उम्मेदवार बनेकी वली राष्ट्रिय सभा सदस्य भइसकेकी छिन्।
रोज राणा
नेपाली फिल्मका निर्माता तथा अभिनेता रोज राणा प्युठानबाट प्रदेशसभा सदस्यका लागि चुनाव लड्ने तयारीमा छन्।
नेपाली कांग्रेसको राजनीतिमा सक्रिय राणा कांग्रेसका क्षेत्रीय सभापति समेत हुन्। उनको नाम पहिलो नम्बरमा राखेर क्षेत्रीय कार्यसमितिले उम्मेदवारका रुपमा सिफारिस गरेको हो।
तीर्थ थापा
फिल्म निर्देशक तीर्थ थापा लमजुङबाट उम्मेदवार बन्ने तयारीमा छन्। कांग्रेसनिकट थापा नेपाल सांस्कृतिक संघका केन्द्रीय सभापति हुन्।
कांग्रेसले लमजुङबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारको रूपमा थापाको नाम सिफारिस गरेको हो। चुनावी मैदानमा रहेका थापाले कांग्रेसको चुनावी प्रचारका लागि सांगीतिक सामाग्री तयार पारिरहेका छन्।
अरु पनि
सांस्कृतिक संघमा आवद्ध कांग्रेसनिकट कलाकारमा लोकगायक विमलराज क्षेत्री, हास्य कलाकार शिवहरि नेपाल ‘बैरागी’, कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ उम्मेदवारीका लागि सिफारिसमा परेका छन्।
गायक विमलराज क्षेत्री पर्वतबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने तयारीमा छन्।
नेपाली कांग्रेस पर्वतले उनको नाम सिफारिस गरिसकेको छ। संघमै आवद्ध शिवहरि नेपाल ‘बैरागी’ सिन्धुपाल्चोकबाट प्रदेश सभाका लागि समानुपातिक उम्मेदवार सिफारिस भएका छन्।
हाँस्य कलाकार शिवशंकर रिजाल सर्लाहीबाट प्रदेशसभामा समानुपातिक तर्फको उम्मेदवार सिफारिस भएका छन्।
कलाकारितासँगै राजनीतिक रुपमा सक्रिय रहदै आएका रिजाल मौका र समय मिल्दा, देश र माटोले माग्दा कलाकार पनि देश चलाउन सक्षम छन् भन्ने प्रमाणित गर्न पनि आफू चुनावी मैदानमा होमिएको बताउँछन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पप गायक सञ्जय श्रेष्ठलाई काठमाडौंको क्षेत्र नम्बर ६ बाट चुनावी मैदानमा उठाउने तयारी गरेको छ।
पहिले नै प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका श्रेष्ठ अहिले चुनावी प्रचारमा छन्।
यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा नेपालको तर्फबाट उम्मेदवारी दिएका श्रेष्ठले पराजय भोग्नु परेको थियो।
पुराना अभिनेता गणेश उप्रेतीलाई पनि माओवादी केन्द्रले चुनावी मैदानमा पठाउने तयारी गरेको छ।
उनको नाम मोरङ २ बाट सिफारिस भएको छ। लामो समयदेखि अमेरिका बस्दै आएका उप्रेती अहिले कलाकारितामा सक्रिय छैनन्।
फिल्मका सफल निर्देशक मीनबहादुर भाम कांग्रेसका तर्फबाट चुनावी मैदानमा छन्। उनको नाम मुगुको छायाँनाथ रारा नगरपालिका–४ बाट प्रतिनिधिसभामा समानुपातिकतर्फ सिफारिसमा परेको हो। उनी पिछडिएको क्षेत्र र खस आर्यतर्फको क्षेत्रको प्रतिनिधित्व गर्दै चुनाव लड्ने तयारीमा छन्।
यता ‘दुई नम्बरी’ फिल्मका निर्माता किरण नेपाली नुवाकोटबाट चुनाव लड्ने तयारीमा छन्। उनको नाम नुवाकोट क्षेत्र नम्बर २ मा समानुपातिक उम्मेदवारका लागि नेपाली कांग्रेसले सिफारिस गरेको हो।
गायिका शितल शर्मा बाग्लुङ २ बाट चुनाव लड्ने तयारीमा छिन्। उनी कांग्रेसबाट समानुपातिक उम्मेदवारमा सिफारिस भएकी हुन्।
स्वतन्त्रबाट पनि
स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा देखिएका कलाकारको सूची पनि लामै छ। स्वतन्त्र रुपमा सबैभन्दा धेरै चर्चामा आएका निर्देशक हुन् निर्देशक तथा समीक्षक मनोज पण्डित।
उनी काभ्रेपलाञ्चोक–२ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन्। स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका पण्डितले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन अगाडि नै संसदीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
यो क्षेत्र एमाले नेता गोकुल बाँस्कोटाको पकड क्षेत्र हो। बाँस्कोटाको पकड क्षेत्र भएकै कारण आफू यही क्षेत्रबाट चुनावी मैदानमा आएको पण्डितले बताउँदै आएका छन्। उनको सबैभन्दा ठूलो उद्देश्य नै बाँस्कोटालाई हराउनु हो।
यता, हाँस्य कलाकार मधुसुदन पाठक उर्फ सिते बा काठमाडौंबाट चुनाव लड्ने दौडमा छन्। त्यस्तै ‘सक्किगोनि’का मुख्य कलाकार कुमार कट्टेल ‘जिग्री’ पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन झापा जाने भएका छन्।
टेलिश्रृखंला ‘सक्किगोनि’का चर्चित कलाकार पाठक काठमाडौं–५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्।
उनले स्वतन्त्र उम्मेदवार अभियानका तर्फबाट उम्मेदवार बन्न लागेका हुन्। कट्टेल झापा ५ कै मतदाता हुन्। देश विकासका लागि केही गर्ने हुटहुटीका कारण चुनावमा उठ्न लागेको कट्टेल बताउँछन्।
Shares
प्रतिक्रिया