कल्पना गर्नोस्, उमेरले ८० पुग्नुभयो। अर्धाङ्गिनीको साथ उहिल्यै छुटिसक्यो। कान्छी छोरीले दुर्घटनामा देह त्यागिन्। स्मरण गुम्ने ‘डिमेन्सिया’ रोगले गाँजेको छ। हेरचाह गरिरहेकी ‘डिभोर्सी’ छोरी पनि नयाँ पति च्यापेर पेरिस लाग्ने सूचना दिँदैछिन्। यस्तो बेला तपाईंको प्रतिक्रिया के हुन्थ्यो होला?
विभिन्न अवार्डद्वारा सम्मानित फ्रेन्च नाटकको फिल्मी रुपान्तरण ‘द फादर’ (२०२०) का केन्द्रीय पात्र एन्थोनी (एन्थोनी हप्किन्स)ले छोरी एन (ओलिभिया कोलम्यान) लाई दिएको जवाफ चाहिँ यस्तो छ– मुसाहरुले पनि डुब्न लागेको पानीजहाज छाड्न थाले।
बेलानकुबेला सुध हराउने मानसिक समस्यासँग जुधिरहेका ८० वर्षीय पिताको जवाफले छोरीलाई पर्ने चोटको लेखाजोखा त छँदैछ, तर धीर मुद्रामा एन्थोनीले काँचको पर्दामा फर्काएको जवाफले सोफाको काखमा पिँठ्यु टेकाएर एकटक दृश्यमा डुबिरहेको मेरो पनि छाती चसक्क बिझायो।
यदि मर्मस्पर्शी कथा र अभिनयसँगै मगजका नसा तन्कने प्रस्तुति हेर्न चाहनुहुन्छ भने द फादर तपाईंको रोजाइमा पर्न सक्छ।
वैभवशाली बेलायती राजका साक्षी एन्थोनी यति जीवन्त तरिकाले कथावाचन गर्छन् कि तपाईं उनीसँगै काँचको पर्दाभित्र छिरेर सँगसँगै अन्तरंग संवाद गर्न पुग्नुहुन्छ। उनको भोगाइ र बुझाइको भागेदारी गर्न तत्परता देखाउनुहुन्छ। काँचको पात्रसँग यो विघ्न भावनात्मक सम्बन्ध स्थापित गराउन कसरी सम्भव छ? यस्तो लाग्छ, लेखक तथा निर्देशक फ्लोरियन जेलर (नाटकका निर्देशक पनि उनै हुन्) लाई सम्मोहन कलामा महारत हासिल छ, जसले एकैचोटि लाखौँ दर्शकको मन जितिरिहेका छन्।
डिमेन्सियाले पीडित पात्र सपनामा छ, विपनामा छ या कल्पनामा छ, उसलाई त सुध हुँदैन। तर निर्देशकले त्यसलाई यति मिहिन तरिकाले दृश्यकथामा उतारेका छन् कि अनायासै मुखबाट निस्कन्छ– हैट! डिमेन्सिया पीडित वृद्ध पात्रको आँखाबाट हेरिएको कथा जति मर्मस्पर्शी छ, विषयको गम्भीरतालाई कथाले उस्तै बेजोडका साथ पक्रिएको छ।
हाम्रा फिल्ममेकरहरुले भनेको सुन्नुभएकै होला – ‘अन्तर्राष्ट्रिय स्तरमा नेपाली सिनेमालाई लैजान हाम्रोमा बजेट छैन। प्रविधि छैन।’
तर द फादर पनि निकै कम पात्र र लोकेसनमा खिचिएको सस्तो फिल्म हो। ६ मध्ये दुई बाबुछोरी मुख्य पात्र हुन्। उनीहरुलाई एकै लोकेसनमा कलात्मक किसिमले छायांकन गरिएको छ। एन्थोनीको दमदार अभिनयमा विविधता छ। पाश्र्वसंगीत त्यतिकै शक्तिशाली छ। यसको अर्को विशेषता के छ भने निर्देशक फ्लोरियन जेलरमा भरिएको नाट्यचेतका कारण होला द फादर हेर्दा हामी चलचित्र होइन, नाटक हेरिरहेका छौँ।
जति दृश्यकथा अघि बढ्छ, उति मन र मस्तिष्क सक्रिय हुन्छन्। डेढ घण्टासम्म तिनलाई निमेषभर विच्छेद हुन दिँदैन। फिल्म हेरिसकेपछि मेरो मन्थनको निष्कर्ष छ– मान्छेको मनोविज्ञानका नसानसा नकेलाई डेढ घण्टा आँखा चिम्म नगरी पात्रसँगै हाँस्ने, तिनको रुवाइसँगै रुनेगरी दर्शकलाई बाँध्नसक्ने सामथ्र्य निर्देशकको पक्कै हुने थिएन होला।
नर्सिङ होममा राखिएका एन्थोनीको डिमेन्सियाले सुध गुमेको अवस्थामा ढोकाभित्र छिरिरहेकी छोरी एनलाई नै सोध्छन् – कहाँ छिन् एन?
‘केयरगिभर’ राख्न नमानेका एन्थोनी आफूलाई नर्सिङ होममा नराखी घरमै हेरचाह गरेर छोरी बसोस् भन्ने चाहन्छन्। तर, एन्थोनीलाई छोरी एनले नर्सिङ होममै छाड्छिन् र पेरिस जान्छिन्। विरहमा रहेका एन्थोनीको मानसिक लय कहिले सप्रन्छ, कहिले बिग्रन्छ। यस्तो मानसिक उथलपुथलमा उनी जे गर्छन्, त्यसले उनीप्रति दया होइन, अगाध माया पलाउन थाल्दछ। वृद्धावस्थामा एकल पारिवारिक व्यवस्थाले निम्त्याउने विचलनप्रति कथाले घृणा पैदा गर्छ। यही हो एउटा दृश्यकथाको प्रभावकारिता। सिनेमाको लयसँगै लेखक र निर्देशकले कोरेको राजनीतिको ढाँचामा तपाईं पत्तै नपाई फस्दै जानुहुन्छ।
नर्सिङ होममा नितान्त एकांकी दैनिकी व्यतीत गरिरहेका एन्थोनी दृश्य कथाको अन्ततिर नर्ससँग सोध्छन्– ‘को हुँ म?’
नर्सको स्वाभाविक जवाफ हुन्छ– ‘तिमी एन्थोनी हौ।’
एकोहोरिएका एन्थोनी बोल्छन्– ‘इट्स नाइस नेम।’
नर्सको मुखबाट नाम सुन्नासाथ उनी अकस्मात फ्ल्यासब्याकमा पुग्छन्। गहिरोगरी घोत्लिन्छन्। उनको मुखारविन्दमा हर्षको बिस्तार बढ्दै जान्छ। एन्थोनी नाम आफ्नो आमाले राखिदिएको बताइरहेका उनी एक्कासि डाँको छाड्दै बच्चाजसरी रुन थाल्छन् र घर जाने जिद्दी गर्छन्।
एउटा कोठामा गुम्सिएको रोगी वृद्धको मानसिक पीडा आँसुबाट झरझर बहन्छ। नर्सको काखमा अनुहार घुसारेर एन्थोनी भन्दै जान्छन्, ‘कोही मलाई यो ठाउँबाट निकालोस्। मलाई आमा र घरको याद आयो। पात, हावा र वर्षातको याद आयो।’
मानौँ एन्थोनीसँगै गतिमाथि एकाएक ब्रेक लाग्न खोज्छ। समय स्तब्ध हुन्छ। उनी डाँको छाड्दै रुँदै जान्छन्, स्क्रिनमा नाम ‘डिस्प्ले’ हुन थाल्छन्, मेरा जोर नयन अझै त्यहाँबाट हटिरहेका छैनन्। चिसो हुन्छ। छाम्छु। मेरा आँखा पनि चिसा भइसकेका रहेछन्!
Shares
प्रतिक्रिया