स्थानीय निर्वाचन– २०७९ को मत गणना जारी रहँदा सम्पूर्ण देशको ध्यान काठमाडौं महानगरले खिचेको छ। काठमाडौंमा पनि सबैको ध्यान तान्ने एकै व्यक्ति हुन् बालेन शाह। काठमाडौं महानगरको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका शाहले मतगणनाको दोस्रो दिन पनि फराकिलो मतअन्तर सहित आफ्नो अग्रता कायम राखेका छन्। उनले पाएको मतले राजनीतिक दलभन्दा बाहिर पनि विचार हुन्छ भन्ने कुरालाई स्थापित गरिरहेको छ।
बालेनले अहिलेसम्म पाएका मतलाई लिएर उनले अंकमा हारिहाले पनि मानसिक र नैतिक रुपमा जितिसकेको भन्न थालिएको छ। उनले ल्याएको मतले राजनीतिक दल तथा दलका नेताले नैतिक रुपमा हारिसकेका छन्।
सिंगो देशको मतगणना जारी रहँदा सम्पूर्ण नागरिकले बालेनको प्रत्येक अपडेटमा चासो र आपसमा चर्चा तथा अबको मतमा बालेनको अग्रता बिग्रेला कि भनेर देखिएको चिन्ताले बालेनको पक्ष मात्रै होइन दल र नेताप्रतिको वितृष्णा पनि हो। बालेनले पाएको यो मत र समर्थनले काठमाडौँले नयाँ नेतृत्व चाहेको प्रमाणित गरेको छ।
काठमाडौंले नयाँ नेतृत्वको संकेत अघिल्लो स्थानीय निर्वाचनमै देखाएका थिए। अघिल्लो निर्वाचनमा अहिले बालेन्द्र शाहको जस्तै चर्चा थियो रञ्जु दर्शना र किशोर थापाको। उनीहरू क्रमशः विवेकशील नेपाली दल र साझा पार्टीमार्फत चुनावमा उठेका थिए। वैकल्पिक शक्ति खोजिरहेका आम युवाले उनीहरुले नै जितुन भन्ने चाहनासहित समर्थन गरेका थिए। तत्कालीन समयमा राजनीतिमा नयाँ अनुहार रञ्जु दर्शनाले २३ हजार मत प्राप्त गरेकी थिइन्। किशोर थापाले १८ हजार मत प्राप्त गरेका थिए।
रञ्जु र किशोर विजयी भएनन्। तर उनीहरुले पाएको उक्त मत राजनीतिमा वैकल्पिक शक्ति र नयाँ अनुहार खोजिरहेका युवाको आशाको मत थियो। यी दुवैले जनताले दिएको विश्वासको मतको कदर गर्न सकेनन्। निर्वाचनपछि उनीहरुले नेतृत्व गरेको दलमा एकता र विभाजनको चक्र चल्यो। अन्ततः यी दुवै राजनीतिबाट पलायन जस्तै भए। रञ्जु र किशोरको पलायनले उनीहरुलाई आशा र विश्वासका साथ मत दिने मतदाताको अवमूल्यन गर्यो। रञ्जु र किशोरहरुले आफूले पाएको मतको कदर गरेर राजनीतिलाई निरन्तरता नदिँदा परम्परागत दल र शक्तिहरु नै हाबी भए। उनीहरुको शैलीले महानगरबासी दिक्क भएको संकेत यो निर्वाचनमा बालेनको मतले पुनः देखाएको छ।
काठमाडौं महानगरको दोस्रो दिनको मतपरिणामलाई हेर्दा र्यापयाप गीत गाएर काठमाडौंका गल्लीहरुमा आफ्नो भविष्य खोजिहिँड्ने बालेनलाई संघीय राजधानी सहरले नेतृत्व स्वीकार गर्ने संकेत देखाएको छ। स्वतन्त्र रुपमा पहिलो पटक राजनीतिमा देखिएका बालेनले लामो समय राजनीतिक विरासत बोकेका शक्तिलाई कडा चुनौती दिइरहेका छन्। तर महानगरको ठूलो परिणामको मत संख्या भएका मतपेटिका खुल्नै बाँकी छन्। बालेनले अझै पनि जित्छन् नै भनेर ढुक्क हुने अवस्था भने छैन। धेरै मतगणना बाँकी नै रहेकाले अझै पनि महानगरको मतपरिणाम बालेन अनुकूल नहुन सक्छ। हार र जित दुवैको सम्भावना बाँकी नै रहेका बेला उनका समर्थकमा चिन्ता चुलिएको छ, ‘बालेनले पनि हारेको खण्डमा रञ्जु र किशोरहरुले गरेको गल्ती दोहोर्याउने त होइनन्?’ महानगरले मेरका रुपमा नजिताएको खण्डमा बालेन राजनीतिबाट पलायन भए भने उनले पनि विश्वासको मतको अवमूल्यन गर्ने छन्।
आफ्नो लामो वैचारिक र राजनीतिक धारणा छोडेर परिवर्तनको अपेक्षा राखेका जनमतको कदर गर्ने हो भने बालेनले हारे पनि राजनीतिलाई निरन्तरता दिनु पर्ने हुन्छ। बालेनका अगाडि एकातिर जितेको खण्डमा पनि आफूले अघि सारेका ऐजेन्डा र सपनालाई सार्थकता दिने ठूलो चुनौती छ। अर्कोतिर निर्वाचन हार्दैमा उम्मेदवारको कर्तव्य समाप्त हुँदैन भनेर प्रमाणित गर्नु पर्ने चुनौती पनि उत्तिकै छ।
Shares
प्रतिक्रिया