नेपाली सिने उद्योगमा अभिनेता अनमोल केसीको छुट्टै स्टारडम छ। उनी सार्वजनिक कार्यक्रममा त्यति धेरै देखिँदैनन्। टिकटमा उनलाई भेटिँदैन। अन्य सामाजिक सञ्जालमा पनि कामका केही पोस्टर र भिडियो बाहेक त्यत्ति बाक्लो उपस्थिति देखिँदैन। सायद त्यसैले पनि फिल्ममा उनको बेग्लै चाम देखिन्छ।
उनै अभिनेता अनमोल केसीले अभिनय गरेका चलचित्र कहिले विदेशी त कहिले स्वदेशी ठूला ब्यानरका चलचित्रसँग जुधिरहेका हुन्छन्। आगामी बैशाख १ गतेबाट अनमोल अभिनित चलचित्र ‘ए मेरो हजुर ४’रिलिज हुँदैछ। अनमोललाई यसपटक अघिल्ला वर्षभन्दा धेरै दबाब छ। कारण यहि मितिमा साउथको महंगो बजेटमा बनेको प्रतीक्षित फिल्म ‘केजीएफ २’ पनि प्रदर्शनमा आउँदै छ। यसैले यसपटक अनमोलको स्टारडमको परिक्षा हुने छ।
यसअघि रिलिज भएको उनी ‘ए मेरो हजुर ३’ले ठूलो ब्यानरको चलचित्र ‘यात्रा’सँग जुध्नु परेको थियो। सलिनमान बनियाँ र मलिका महत अभिनित यो चलचित्रसँग जुध्दा अनमोलले बाजी मारेका थिए। बैशाखमा प्रदर्शनमा आउँने तयारीमा रहेको ‘ए मेरो हजुर ४’ र यात्रासँग जुधेको ‘ए मेरो हजुर ३’दुबै फिल्ममा अनमोलको साथमा अभिनेत्री सुहाना थापाले अभिनय गरेकी छिन्।
‘ए मेरो हजुर ३’ यात्रासँगै अन्य नेपाली तथा हिन्दी गरेर आधा दर्जन भन्दा धेरै फिल्मसँग जुधेको थियो। सबै फिल्मलाई पछि पार्दै अनमोलको उक्त फिल्मले साढे ८ करोड माथिको व्यापार गरेको थियो।
अनमोल अभिनित अर्को चलचित्र ‘क्याप्टेन’ले अर्को नेपाली चलचित्र ‘ब्रेकअप’को सामना गर्नु परेको थियो। हेमराज वीसी निर्देशित उक्त चलचित्रलाई पनि अनमोलको ‘क्याप्टेन’ले पनि पारेको थियो। तथापि अनमोल स्टार ‘क्याप्टेन’ले बक्स अफिसमा अपेक्षाकृत व्यापार भने गर्न सकेको थिएन।
अनमोल अभिनित अर्को चलचित्र ‘ड्रिम्स’ले नीता ढुंगाना र आमेष भण्डारी अभिनित तथा दिनेश डीसी निर्देशित चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’सँग जुध्नु पर्यो। यो समय निर्देशक दिनेश डिसीले अनमोलको स्टारडम माथिनै प्रश्न उठाएका थिए। तर, अनमोलको ‘ड्रिम्स’मा बक्स अफिसमा राम्रो कलेक्सन गर्दा दिनेशको फिल्म भने प्रचारमा प्रयोग भएका पोस्टरको खर्च पनि नउठाउँदै हलबाट बाहिरिएको थियो।
चलचित्र ‘कृ’ प्रदर्शन ताका अनमोलले अभिनेत्री श्वेता खड्का अभिनित चलचित्र ‘कान्छी’को सामना पर्ने अवस्था आएको थियो। श्रीकृष्ण श्रेष्ठको निधनपछि पहिलो पटक फिल्ममा देखिएकी श्वेताप्रतिको सिम्प्याथीका अगाडी अनमोलको स्टारडम छायाँमा पर्ने आँकलन गरिएको थियो। तर, श्वेताले आफ्नो फिल्म एक सातापछि सारेपछि भिडन्तको यो सम्भावना टर्यो। तर यहि मितिमा हिन्दी फिल्म ‘प्याडम्यान’ प्रदर्शन भयो। तथापि उनको फिल्मले राम्रो कमाइ गर्यो।
यसरी बारम्बार विभिन्न फिल्मसँग जुध्दै आएको अनमोलको फिल्म यसपटक साउथको ठूलो फिल्मसँग जुध्ने तयारीमा छ।
Shares
प्रतिक्रिया