नेकपा एमालेले दसौँ महाधिवेशनका क्रममा कलाकारहरूबीच 'समृद्ध नेपाल, सुखी नेपाली' कला प्रतिस्पर्धा गराएको छ।
दसौँ महाधिवेशनको बन्दसत्रस्थल सौराहाको सेभेनस्टार होटल परिसरमा ललितकलाका विद्यार्थी र अन्यबीच उक्त प्रतिस्पर्धा गराइएको हो।
उक्त प्रतिस्पर्धामा सहभागी ५२ जनाले सेभेनस्टार होटलस्थित बन्दसत्र हलमा जाने बाटोको पर्खालमा विभिन्न सन्देश दिने पेन्टिङ गरेका हुन्।
एमालेले उक्त प्रतिस्पर्धामा प्रथम हुनेलाई १० हजार रुपैयाँ पुरस्कार दिने भएको छ। त्यहाँ कक्षा ९ मा अध्ययनरत विद्यार्थी समर्पण खनाल पनि प्रतिस्पर्धामा छन्।
उनीहरुले शिक्षा, सुरक्षा, रोजगार र स्वास्थ्यको राम्रो प्रबन्ध भएमा 'समृद्ध नेपाल, सुखी नेपाली' हुने सन्देशसहित पेन्टिङ गरिरहेका छन्।
प्रतिस्पर्धीमध्ये कसैले रेल बनाएका छन् भने कसैले शान्तिको कुरा गरेका छन्। केहीले केबल कारको पेन्टिङ पनि बनाएका छन्।
प्रतिस्पर्धामा सहभागी ११ कक्षामा अध्ययनरत हिमाल श्रेष्ठले शिक्षा, सुरक्षा, रोजगार र स्वास्थ्य भएमा देश अघि बढ्ने बताए। उनले त्यही थिममा पेन्टिङ गरिरहेका छन्।
त्यसैगरी १२ कक्षाका सुगम पण्डितले विकास भएर मात्रै नहुने बताउँदै देशमा शान्ति पनि चाहिने बताए।
त्यस्तै ललितकला क्याम्पस काठमाडौंको बीए प्रथम वर्षमा अध्ययनरत सबिना रिजालले देश विकासका लागि आधारभूत पूर्वाधारहरु आवश्यक पर्ने बताइन्।
Shares
प्रतिक्रिया