अंग्रेजी संवतको २७ सेप्टेम्बर अर्थात् विश्व पर्यटन दिवस। विश्व पर्यटन दिवसको अघिल्लो दिन पोखराले विभिन्न देशका राजदूत र नेपालस्थित विकास साझेदार नियोगका प्रमुखहरुलाई स्वागत गर्यो। पोखरा र समग्र नेपालको पर्यटनलाई ‘ब्रान्डिङ’ गर्न तथा कोभिडपछिको पुनरुत्थानको लागि उनीहरुको यात्रा फलदायी हुने विश्वास लिइयो।
संयोग, सेप्टेम्बर २६, चलचित्रका माध्यमबाट नेपाललाई भारतीय बजारमा ब्रान्डिङ गर्ने हिन्दी सिनेमाका सदावहार हिरो देव आनन्दको जन्मदिन थियो। पर्यटन प्रबद्र्धनको प्रयास भइरहँदा देव आनन्दले पोखरालाई लगाएको गुन भने कमैले सम्झे।
धेरैलाई थाहा छैन, हरे राम हरेक कृष्णको कथा देव आनन्दले काठमाडौँमा देखेका थिए भने लेखेको चाहिँ पोखरामा। फेवाताल किनारमा रहेको फिस्टेल लजमा बसेर देव आनन्दले ३ दिनमै स्क्रिप्टको खाका कोरेका थिए। फिस्टेल होटल अहिले जयन्ती मेमोरियल ट्रस्ट मातहत सञ्चालनमा छ। फिस्टेल लजका कार्यवाहक महाप्रबन्धक अनिल श्रेष्ठका अनुसार फिस्टेल पोखराको पर्यटन उद्योगको आरोह–अवरोहको कोशेढुंगामात्रै हैन, विशिष्ट अतिथिको सेवक पनि हो।
फिस्टेलले अहिले पनि ६१ वटा कोठामार्फत् पर्यटकलाई आतिथ्य प्रदान गरिरहेको छ भने कोभिडकै बेला पनि करिब ८० जनाभन्दा बढीलाई रोजगारी दिइरहेको छ। फिस्टेलमा देव आनन्द मात्र नभएर अमिताभ, श्रीदेवी, डेनीलगायतका भारतीय कलाकार बसेको पनि उनले स्मरण गरे।
हरे राम हरे कृष्ण सन् १९७१ मा रिलिज भयो। हिप्पीकालीन काठमाडौंको कथा भनिएको यो फिल्म हिट मात्रै भएन, नायिका जिनत अमानसँग उनको अफेयर नै चल्यो। भलै, उनको त्यो प्रेम टुसाउन नपाउँदै किन नमरेको होस्। सिनेमामा रहेको ‘दम मारो दम’ होस् वा ‘कान्छी रे कान्छी रे’ बोलको गीत, अहिले पनि उत्तिकै चर्चित छन्।
काठमाडौँका गल्ली र चोकहरुलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन यो सिनेमाले अतुलनीय योगदान दियो/दिँदैछ। त्यसो त सन् १९४६ मा ‘हम एक हैँ’बाट अभिनय यात्रा थालेका देव आनन्दले सन् १९७४ मा ‘इश्क इश्क इश्क’ सिनेमा बनाए। सो सिनेमाको सुटिङ पनि नेपालमै गरेका थिए। नेपालमा सुटिङ गरिएको ‘जोनी मेरा नाम’ले उनको ख्याति अझ उचाइमा पुर्यायो।
‘रोमान्सिङ विद लाइफ’ शीर्षकमा आत्मकथा लेखेका र त्यही पुस्तक प्रवद्र्धनको लागि सन् २००८ मा नेपाल आएका देव आनन्दको नेपालसँग जोडिएका किस्साहरु अनेकौँ छन्। उनी नेपालका तत्कालीन राजा महेन्द्र र रानी रत्नका प्रिय नायक थिए। कतिसम्म भने राजा महेन्द्रले युवराज वीरेन्द्रको विवाहमा देव आनन्दलाई विशिष्ट अतिथिको रुपमा काठमाडौं बोलाएका थिए।
देव आनन्दसँगको किस्सा त विनोद चौधरीको आत्मकथामा पनि पढ्न पाइन्छ। २०२५ सालमा खिचापोखरीमा खोलिएको अरुण इम्पोरियममा देव आनन्द सपिङका लागि आएको प्रसंगलाई विनोदले आत्मकथामा उल्लेख गरेका छन्।
नेपालमा सिनेमा सुटिङ, नेपालीसँगको आत्मीय सम्बन्धले मात्रै हैन, उनको अभिनयले पनि त्यो बेलाका धेरै युवाहरु देव आनन्दको फ्यान बनेका थिए। हरे राम हरे कृष्णको सुटिङ भक्तपुर, स्वयम्भू, न्यातपोल मन्दिर परिसर, काष्ठमण्डप सत्तल वरपर नै भएको थियो। सिनेमामा ती दृश्यहरु देख्न सकिन्छ। दम मारो दम गीतको सुटिङ काष्ठमण्डपमा भएको थियो।
रोमान्सिङ विद लाइफमा देव आनन्दले उल्लेख गरे अनुसार युवराज वीरेन्द्रको विवाहको निम्तो मान्न नेपाल आएका बेला उनलाई जर्मन डकुमेन्ट्री निर्माता क्रिस्टियन डोर्भरले भेट्न खोजेछन्। उनीहरु हिप्पीहरुको बाक्लो उपस्थिति हुने ‘द बेकरी क्याफे’ पुगेछन्।
लामो कपाल पालेका, सयपत्रीको माला लगाएका र गाँजा तानिरहेका युवा–युवतीहरु मस्त थिए। तीमध्ये कोही उपरखुट्टी लगाएर बसेका थिए भने केही ध्यान मुद्रामा आकासतिर फर्केका। तिनका केटी साथी बेपर्वाह मस्त! उनीहरुको स्कर्ट बेपर्वाह हावामा उडिरहेको थियो। त्यही भीडमा उनले भारतीय मूलकी एउटी युवती देखेछन्।
खुल्ला खालको कपडा पहिरिएकी तथा भुइँको घाँससँग खेलिरहेकी युवतीको मुखबाट ‘बब मेरा चस्मा’ भन्ने वाक्य सुनेपछि देव आनन्दलाई यी युवती भारतीय हुन् भन्ने पक्का भएछ। उनले ती युवतीकै जीवनीमा आधारित रहेर सिनेमा बनाउने सपना पालेछन्। अर्को साँझ सोल्टीको बारमा उनले युवतीलाई भेटेछन्।
सोल्टीको भेट प्रसंग उल्लेख गर्दै उनले लेखेका छन्–
‘अर्को दिन म सोल्टीको बारमा गएँ। रेस्टुरेन्टमा काम गर्ने वेटरले ती केटी देखाइदिए। उनी बारको एउटा कुनामा थिइन्। उनको पिठ्युँ मेरो अगाडि थियो। उनले कसैले आफूलाई भेट्न खोजेको चाल पाइन्। उनी पछाडि फर्किइन्, मलाई चिनिन् र उभिएर भनिन्, ‘हाइ, तपाईं मलाई भेट्न चाहनुहुन्छ?’
‘अवश्य पनि। काठमाडौंमा सबैभन्दा लोकप्रिय र आकर्षक व्यक्तित्वसँग भेट्न चाहन्छु।’
‘म तपाईंको ठूलो फ्यान हो र मेरी आमा पनि।’
‘उहाँ (आमा) कहाँ हुनुहुन्छ?’
‘मोन्टरियल, क्यानाडा।’
‘अनि तिमी ?’
‘काठमाडौंमा बिदा मनाउँदै। बिदाको लागि सुन्दर ठाउँ’ (हाँसोसहित)।
‘तिम्रो नाम?’
‘ज्यानिस।’
‘ज्यानिस?’
‘खास जसवीर तर रोजेको ज्यानिस’ (हाँसो)।
जसवीर नाम गरेकी ती युवती क्यानडाबाट नेपाल आएकी रहिछन्। ज्यानिस नामले बोलाइने उनका माता–पिताको डिभोर्स भएको रहेछ। उनी क्यानडाको मन्टरियलमा बस्ने पनि उनकै मुखबाट थाहा भयो। नेपालमा उनको नेपाली प्रेमी थिए।
‘अनि तिम्रा बा?’
‘उनले आमालाई छाडे र अहिले उनी अन्तै बस्छन्, पञ्जाबको कुनै ठाउँमा।’
देव आनन्दलाई कथा फुर्यो। बिहेको सप्ताहव्यापी कार्यक्रमपछि देव आनन्द बिदाइ भेटको लागि दरबार गए।
उनले राजा महेन्द्रलाई भने, ‘यदि महाराजले मलाई अनुमति दिनुहुन्छ भने... मसँग एउटा कथा छ र त्यो नेपालमा मात्रै हुन्छ।’
राजा सुन्ने मुडमा थिए।
‘एउटा सिनेमा जसले युवा तथा विन्दास घटनाको प्रतिनिधित्व गर्छ...’
‘यसको मतलब हिप्पी?’
‘हो सरकार। यो सिनेमाको गतिलो सोच हो, म यो यहाँ बनाउन चाहन्छु।’
‘अगाडि बढ, तिम्रो स्क्रिप्ट तयार छ?’
‘म पहिले तपाईंको स्वीकृति चाहन्छु।’
‘यो तिम्रो सोच हो, मेरो स्वीकृति किन?’
‘स्क्रिप्ट तयार भएपछि छायाङ्कनको लागि स्वीकृति। स्क्रिप्ट सबै यहाँ भित्र छ (दिमागमा औँलाले छुँदै) सरकारबाट प्राप्त प्रोत्साहनले यो कागजमा छिट्टै आउँछ।’
‘के तिमी पोखरा गएका छौ?’
‘मैले सुनेको छु।’
‘के तिमी तिम्रो भ्रमण र बसाइ लम्ब्याउन चाहन्छौ? त्यो ठाउँ धेरै शान्त छ।’
‘म त्यस्तो मन पराउँछु।’
‘त्यहाँ मेरो भाइ राजकुमार बसुन्धराको असाध्यै स्टाइलिस फिस्टेल नामक होटल छ। हिउँले ढाकिएको अन्नपूर्ण हिमालको अघिल्तिर। त्यो तिम्रो लेखाइको लागि प्रेरणादायी हुनसक्छ।’
देव आनन्दले ३ दिनमा स्क्रिप्ट सकाए। मुम्बई पुगेर आफ्ना सहकर्मीसँग हिप्पीबारे फिल्म बनाउने घोषणा गरे।
र, यो पनि!
देव आनन्दलाई जसवीर अर्थात् ज्यानिसको चरित्र खेल्ने हिरोइन खोज्नै मुस्किल!
उनले भनेका छन्,‘त्यो बेलाका कुनै पनि हिरोइन मेरो बहिनीको रोलमा खेल्न चाहँदैनथे सबै मेरो अपोजिट रोल खोज्थे।’
देव आनन्दले भारतीय अनुहार भएकी तर व्यवहार पश्चिमाजस्तो देखाउने नयाँ हिरोइन लिने विचार गरे। सनकी, बेपर्वाह र संसार के छ र? भन्ने खालको अनि चुरोट खान र ‘खुल्ला वस्त्र’ निर्धक्क लगाउने ज्यानिस चाहिएको थियो।
त्यस्तैमा अमरजीत नामक साथीले आयोजना गरेको एउटा पार्टीमा देव आनन्दले जिनतलाई भेटे। महाराष्ट्रको क्याथोलिक स्कूल पढेकी र भर्खरै मिस एसिया बनेकी जिनत पार्टीमा सहभागी थिइन्। ठ्याक्कै ज्यानिसजस्तै क्याजुअल ड्रेसमा उस्तै हाउभाउ।
देव आनन्दका अनुसार कसिलो प्यान्ट र ठूलो बकल भएको बेल्ट लगाएकी जिनतको बेल्टमै सानो पर्स थियो। पर्समा के छ भन्ने खुल्दुली मेट्न नपाउँदै जिनतले त्यहाँबाट महंगो चुरोट निकालिन् र सल्काइन्। देव आनन्द हेरेको हेर्यै भए। जिनतले देव आनन्दतर्फ चुरोट बढाइन्। चुरोट सल्काउँदा जिनत देव आनन्दलाई नै नियाल्दै थिइन्।
अडिसनको बेला स्टुडियोमा उनी देव आनन्दले भने अनुसार मुस्कुराइन्, कराइन्। स्टुडियोबाट निस्कँदा ठूलो र आकर्षक चस्मा लगाएकी जिनत देव आनन्दकै कारमा थिइन्।
‘मलाई तिम्रो चस्मा मन पर्यो।’
जिनतले तत्काल चस्मा फुकालिन् र देव आनन्दको गोजीमा राखिदिँदै भनिन्, ‘मेरोतर्फबाट उपहार।’
‘तर, यो तिमीलाई सुहाएको छ।’
‘त्यसैले त।’
जीवनपर्यन्त देव आनन्दले त्यो चस्मा दराजको कुनामा राखिरहे रे।
(देव आनन्दको आत्मकथा तथा एजेन्सीको सहयोगमा)
Shares
प्रतिक्रिया