ad ad

निर्वाचन विशेष


डडेल्धुरामा कांग्रेसको मत माग्ने शैली : आरजु थर्काउने, देउवा फकाउने

डडेल्धुरामा कांग्रेसको मत माग्ने शैली : आरजु थर्काउने, देउवा फकाउने

फाइल तस्बिर


गोकुल जोशी
बैशाख २७, २०७९ मंगलबार १७:३, कञ्चनपुर

क्रियाशील सदस्यता वितरणदेखि असन्तुष्ट रहेका पूर्वसभापति कर्ण मल्ल एमालेसँग तालमेल गरेर चुनावी मैदान उत्रिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसलाई विरासत जोगाउन सकस परेको छ।

आन्तरिक असन्तुष्टिले कांग्रेस अफ्ठ्यारोमा परेपछि माहोल सम्हाल्न प्रधानमन्त्रीसमेत रहेका देउवा अहिले डडेल्धुरामा आफैँ सक्रिय भएका छन्। उनी आफैं गृहजिल्ला पुगेर आमसभालाई सम्बोधन गरिरहेका छन्। र, उनको तारोमा कर्ण मल्ल देखिन्छन्।

स्थानीय तह चुनावको मौनअवधि सुरु हुनुपूर्व सोमबार र मंगलबार देउवाले गृहजिल्लामा तीन आमसभालाई सम्बोधन गरे। 

यसक्रममा उनले डडेल्धुराका मतदातालाई सुदूरपश्चिमको राजधानी डडेल्धुरा सार्नेसम्मको आश्वासन दिन भ्याए। कर्ण मल्लविरूद्ध उनले ‘झुट बोल्ने, फटाहा, कतैबाट परिचालित, केपी ओलीको चाकड’ लगायत शब्द प्रहार गरे।

यसअघि मल्लमाथि प्रधानमन्त्री देउवापत्नी डा. आरजु राणा पनि खनिएकी थिइन्। डडेल्धुरा पुगेकी आरजुले स्थानीय तहमा कांग्रेस नजिते केन्द्रबाट बजेट पठाउन नसकिने अभिव्यक्ति दिएकी थिइन्। 

‘जहाँ कांग्रेसको मेयर नै हुन्न, त्यहाँ हामी किन पैसा पठाउँछौँ?’ उनले भनेकी थिइन्, ‘यो कुरालाई ध्यान दिएर करुवा, सरुवा हरुवा पार्टीहरूलाई भोट नहाल्नुस्।’ 

उनको यो अभिव्यक्ति धम्कीपूर्ण भएको भन्दै चर्को आलोचना भएको थियो। तर देउवाले मंगलबार भने डडेल्धुरा मतदाता रिझाउन सुदूरपश्चिमको राजधानी डडेल्धुरा सार्ने आश्वासन दिए। 

‘कांग्रेसका सबै उम्मेदवारलाई जिताउनुस्, बिजुली पनि ल्याइन्छ, पश्चिम सेती सबै ल्याइन्छ, भोलि पूर्वाधार बनाएर राजधानी पनि ल्याएर छोड्ने छु,’ उनले भने।
डडेल्धुरामा संरचना नहुँदा राजधानी बनाउने भनेर दिएको बाचा पूरा गर्न नसकेको उनले बताए। 

‘यहाँ सभा हल थिएन, र डोटीमा पनि छैन। धनगढीमा सभा हल भएकाले अस्थायी भए पनि सभा सञ्चालन गर्ने भन्ने निर्णय भएको हो,’ उनले भने, ‘यदि डडेल्धुरामा पूर्वाधार भएको खण्डमा २÷३ वर्षमा पनि राजधानी सर्न सक्छ।’

भौतिक पूर्वाधार नहुँदा डडेल्धुरा सुदूरपश्चिम प्रदेशको राजधानी हुन नसकेको बताउँदै देउवाले राजधानी बनाउने बाचा पूरा नगरेको अभिव्यक्ति दिने कर्ण मल्लको नाम उल्लेख नगरी उनीमाथि कटाक्ष गरेका थिए।
‘यहाँ संरचना बनाऔँ, भोलि राजधानी सार्न सकिन्छ, पालमुनि सभाहल बन्छ ? यति त बुझ्नुपर्यो’ देउवाले भनेका थिए, ‘यस्ता झूटा बोल्नेसँग के भन्ने मैले ? यस्ता फटाहासँग के भन्ने मैले?’

डडेल्धुराका लागि आफूले ठूलो बजेट छुट्याउने उनले आश्वासन पनि दिएका थिए। यस्तै डडेल्धुरा सदरमुकाम बागबजारको सडक विस्तार, मेडिकल कलेज स्थापना, व्यवस्थित बसपार्क निर्माण, खानेपानी, स्वास्थ्य, शिक्षाका समस्या समाधान गर्ने पनि देउवाले प्रतिवद्धता जनाएका थिए।

यस्तै उनले बाटो बिराएर गएका नेता कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान पनि गरे।  ‘बाटो बिर्सिएर कोही जानुभएको छ, पार्टीमा फर्किनुहोस्, कांग्रेसको चिन्ह एउटै हो–रुख, करुवा, सरुवालाई केही चिन्दैन,’ उनले भने, ‘यहीँको मान्छे हो म झूटो बोलेर कहाँ जाउँला ?’

देशको विकास गर्ने पार्टी कांग्रेस मात्रै भएको र अरुले विकासको गफ मात्रै गर्ने गरेको उनले उल्लेख गरे। 

‘देशको विकास गर्ने पार्टी भनेको कांग्रेस मात्रै हो, अरुले विकास गफ गर्छन्, तर केही गर्दैनन्, महाकाली, पञ्चेश्वर ल्याएर छोड्छु’ उनले भने, ‘खै पश्चिम सेती भनेर झुट बोलेर हुन्छ। ख्याल ठट्टा हो यो ?’

पश्चिम सेतीका लागि भारतसँग कुरा भइरहेको बताउँदै देउवा छिट्टै सम्झौता हुने पनि देउवा बताए। ‘भर्खर मोदीजी लुम्बिनी आउँदै हुनुहुन्छ, त्यहीबेला यसै वर्ष सम्झौता गर्ने भनेका छौँ,’ उनले भने।

कांग्रेस हारेका कारण लागि आफूले भनेको गर्न नसकेको देउवाले बताएका थिए। 

‘मैले यहाँबाट जित्नासाथ मेरो सरकार गइहाल्यो नि, प्रधानमन्त्री भए, स्थानीय चुनाव पश्चात् हाम्रो पार्टी सबै ठाउँ चुनाव हार्‍यो तपाईलाई थाहा होला नि,’ उनले डडेल्धुरा सदरमुकामको सभालाई सम्बोधन गर्दै भनेका थिए,‘मेयर पनि जितेन, अर्को पार्टीको जित्यो। मेयरले कम्युनिष्टको उपभोक्ता समिति बनाउँछ, उसले खानेपानी दिएन, यसमा मेरो दोष हुन्छ ? मेयर जिताउनुस्, खानेपानी लगायत सबै कुरा लैजानुस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .