ad ad

निर्वाचन विशेष


सिमानाका पहरेदार कुतियाकबरबासी भन्छन् : जसले तटबन्ध बनाउँछ उसैलाई भोट

सिमानाका पहरेदार कुतियाकबरबासी भन्छन् : जसले तटबन्ध बनाउँछ उसैलाई भोट

गोकुल जोशी
बैशाख २५, २०७९ आइतबार २१:४७, महेन्द्रनगर

महाकाली पारीको भारतसँग जोडिएको सीमा नजिकको बस्ती कुतियाकबरमा चुनावको चहलपहल ह्वात्तै बढेको  छ। कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा दिनहुँ कोही न कोही नेता आउँछन्। 

उनीहरुलाई यहाँका स्थानीयसँग पुरानै आश्वासन सुनाएर मत माग्न भ्याइ नभ्याइ छ। मत माग्न आइरहेका नेताहरुका पुरानै आश्वासन सुनेर स्थानीय वाक्कदिक्क भइसकेका छन्।

‘चुनाव आयो भने मात्रै नेताहरु हामीलाई सम्झन्छन्। जितेर गएपछि फर्केर पनि हेर्दैनन्,’ स्थानीय बिनु सुनारले भनिन्, ‘हामी कुन हविगतमा बसेका  छौँ, उनीहरु सबै बिर्सिन्छन्।’

यो गाउँ महाकाली नदी र जोगबुढा नदीले घेरेर बनेको टापुमा छ। यो भारतसँग जोडिएको सीमावर्ती नेपाली गाउँ हो। यहाँ ४ सयभन्दा बढी व्यक्तिको बसोबास छ। जो सीमामा देश रक्षक बनेर बसेका छन्। हतियार, बर्दीबिना मातृभूमिको रक्षा गरिरहेका छन्। 

तर सीमाका पहरेदार कुतियाकबरवासीको समस्या समाधानमा जनप्रतिनिधिहरुले कुनै चासो नदेखाएको स्थानीयहरु बताउँछन्। कुतियाकबरवासी वर्षेनी महाकाली र जोगबुढा नदीमा आउने बाढीको चपेटामा पर्छन्। 

‘सबैभन्दा ठूलो समस्या महाकाली र जोगबुढा नदीको छ। नदीले जमीन कटान गरेर सकिसक्यो,’ स्थानीय खड्के बुढाले भने, ‘बाढी आएर ज्यान जोगाउन मुस्किल पर्छ।’

गत कार्तिकमा आएको बाढीले सबैभन्दा बढी प्रभावित बनेको थियो, कुतियाकबर। वि.सं. २०२८ सालमा राजा वीरेन्द्रले बसालेको यो बस्ती महाकाली नदी कटानले बगरमा परिणत हुँदै गएको छ। 
‘पहिला २०० बढी घरधुरी थिए। नदीले जमीन बगर बनेपछि स्थानीय यहाँबाट विस्थापित भएका छन्,’ बुढाले भने, ‘अहिले ४० परिवार मात्रै बस्छन्।’

सीमा जोगाएर बसेका कुतियाकबरका स्थानीयले मत माग्न पुग्ने नेताहरुलाई पक्की तटबन्ध बनाएर महाकाली नदीबाट आफूहरुलाई बचाउन आग्रह गर्ने गरेका छन्।

‘महाकाली उच्चो भइसक्यो, हामी होचो भूभागमा छौँ। तटबन्ध निर्माणका लागि सधै भन्ने गरेका छौँ,’ स्थानीय हरेन्द्र सुनारले भने, ‘नेताहरु चुनावका बेला गर्छौ त भन्छन् तर पछि गाउँमा फर्केर मुख पनि देखाउँदैनन्।’

गाउँमा बाढी आएको बेला बस्न मिल्ने ‘सेफ हाउस’ (मचान) बनाउनु पर्ने उनको माग छ। चुनावमा मात्रै सम्झिने नेताहरुले कुतियाकबरबासीलाई ‘भोट बैंक’ को रुपमा मात्रै प्रयोग गर्ने गरेको स्थानीयको बुझाइ छ। 

‘कार्तिकको बाढीले जग्गा जमीन, लत्ताकपडा, पशुचौपाय, खाद्यान्न सबै बगायो। खेतीयोग्य जमीनमा पुरै बालुवा भरिएर खेती लगाउन नसकिने भएको छ,’ स्थानीय ऐनबहादुर सुनारले भने, ‘यस्तै विपत्तिको बेलामा पनि सरकारले हाम्रो पीडा सुनेन। भोकभाकै बसिरहेको बेला केही संस्थाले खाना खुवाए।’

स्थानीयहरुलाई चुनावताका नेताहरुले कुतियाकबरलाई ‘विकासनगर’ बनाउँछौँ भनेर बाँडेको सपना अझै सम्झनामा छ।

‘कुतियाकबरलाई विकासनगर बनाउँछौँ भनेका थिए। विकास गर्नु त परको कुरा पाइला पनि टेकेनन्’ सुनारले भने, ‘मतदान त गर्नै पर्छ। जसले पक्की तटबन्ध निर्माण गरेर कुतियाकबरलाई जोगाउँछ भन्ने विश्वास लाग्छ उसैलाई मत दिन्छौँ।’

कुतियाकबरमा सीमा, सुकुम्बासी, स्वास्थ्य, शिक्षाको पनि निकै समस्या रहेको स्थानीय बताउँछन्।  

‘दशगजा स्पष्ट छैन। हामीहरु वर्षौदेखि लालपुर्जाविहिन छौँ,’ स्थानीय बिनु सुनारले भनिन्, ‘बाटोघाटो छैन, स्वास्थ्य संस्था, विद्यालय नहुँदा भारततिर जानु पर्छ।’

प्रमुख समस्याका रुपमा रहेको महाकाली र जोगबुढा नदीको कटान रोक्न पक्की तटबन्ध निर्माण गरेर कुतियाकबरबासीको मत लैजान स्थानीयले नेताहरुलाई भनेका छन्। 

‘बर्दीविनाका सिपाही भएर सीमाको रक्षा गरेर बसेका छौँ। टापुमा बसेका हामी कुन दिन बाढीको भेलसँगै बगेर जान्छौँ पत्तो छैन,’ बिनु सुनारले प्रश्न गर्दै भनिन्, ‘जितेर जाने प्रतिनिधिले हाम्रो पीडा किन सुन्दैनन्?’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .