ad ad

निर्वाचन विशेष


कञ्चनपुरः कांग्रेस छाडेर बनाइएको माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन पनि छिन्नभिन्न

कञ्चनपुरः कांग्रेस छाडेर बनाइएको माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन पनि छिन्नभिन्न

गोकुल जोशी
बैशाख २४, २०७९ शनिबार ९:४, महेन्द्रनगर

कञ्चनपुरमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन छिन्नभिन्न भएको छ। 

सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेससंग चुनावी तालमेल भाँडिएपछि छुट्टै मोर्चा बनाएका माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन पनि भाँडिएको हो। 

गठबन्धनमा आबद्ध जिल्ला तहका नेताहरुबीच भएको सहमति माओवादी केन्द्र र एकीकृत समाजवादीका तल्ला तहले कार्यान्वयन गरेका छैनन्।

सत्ता साझेदार दलहरुको वाम गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रले कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका, लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकामा प्रमुख पदमा उम्मेदवारी दिन पाएको थियो। 

यस्तै एकीकृत समाजवादीलाई वेदकोट नगरपालिका, भीमदत्त नगरपालिका, दोधाराचाँदनी नगरपालिका र पुनर्वास नगरपालिकाको प्रमुख पद भागमा परेको थियो। 

नेकपा एकीकृत समाजवादी कञ्चनपुरका एक नेताका अनुसार ९ स्थानीय तहमध्ये ६ स्थानीय तहमा तालमेल कार्यान्वयन भएको छ भने बाँकी ३ स्थानीय तहमा कार्यान्वयन भएको छैन।

बेलौरी नगरपालिकामा माओवादी र एकीकृत समाजवादीको गठबन्धन कार्यान्वयन हुन सकेको छैन। दुवै पार्टी छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा होमिएका छन्। 

माओवादीले अघिल्लो पल्ट जितेका पोतिलाल चौधरी र उपमेयरमा मञ्जु शाहलाई अगाडि सारेको छ। एकीकृत समाजवादीले बेलौरीको उपमेयर नन्दकुमार रानालाई उम्मेदवार बनाएको छ।

‘मेयर माओवादी र उपमेयर हाम्रो भागमा परेको थियो। माओवादीका साथीहरुले बदमासी गरे, उनीहरुले सहमतिविपरीत उपमेयरमा पनि उम्मेदवारी दिएकाले सहमति कार्यान्वयन हुन सकेन’, एकीकृत समाजवादीका एक नेताले नेपालखबरसँग भने, ‘हामीले भागमा आफ्नो परेको उपमेयरमा मात्रै उम्मेदवारी दिएका थियौँ।’

मेयर र उपमेयर एमालेले जितेको कृष्णपुर नगरपालिकामा पनि माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन कार्यान्वयन हुन सकेको छैन। यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी र एकीकृत समाजवादी एक्लाएक्लै चुनावी मैदानमा छन्।

नेकपा माओवादी केन्द्र कृष्णपुर नगर कमिटी सचिव जगदीश मल्लका अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादी नगरका प्रमुख–उपप्रमुख पदमा छुट्टाछुट्टै उम्मेदवारी दिएर प्रचारप्रसारमा सक्रिय भएका छन्।

कृष्णपुरमा नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरमा यसअघि हारेका जोगराज चौधरी र उपमेयरमा गीता मल्ल चुनावी मैदानमा छन्। समाजवादीबाट मेयरका उम्मेदवार सुरेन्द्र बम र उपमेयरमा मञ्जु नेपाली छन्।

यस्तै माओवादी र समाजवादीबीचको तालमेल दोधाराचाँदनी नगरपालिकामा कार्यान्वयन हुन सकेको छैन। माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनमा मेयर भाग परेको एकीकृत समाजवादीले उम्मेदवार उठाएन।

‘दोधाराचाँदनीमा हाम्रो उपस्थिति त्यति राम्रो थिएन, त्यसैले उम्मेदवार नउठाएको हो’, एकीकृत समाजवादीका ती नेताले भने। माओवादी केन्द्रले दोधाराचाँदनीको मेयरमा निरु कामी र उपमेयरमा भरत भट्टलाई उठाएको छ।

सदरमुकामको भीमदत्त नगरपालिकामा माओवादी र समाजवादीको तालमेल  छ। यहाँ मेयरमा समाजवादीका राजेन्द्र पाण्डेय र उपमेयरमा माओवादीका कृष्णदत्त जोशी (बोक्सर) उम्मेदवार छन्।

वाम गठबन्धनको सहमति कार्यान्वयन भएको वेदकोट नगरपालिकामा मेयरमा एकीकृत समाजवादीका रामचन्द्र रेग्मी र उपमेयरमा माओवादीकी हीरा जैसी चुनावी मैदानमा छन्। 

पुनर्वास नगरपालिकामा वाम गठबन्धनबाट मेयरमा समाजवादीका जीवनराज थापा नै दोहरिन चाहेका छन् भने उपमेयरमा माओवादीका धोके रानालाई अगाडि सारिएको छ। 

शुक्लाफाँटा नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीको वाम गठबन्धनले मेयरमा माओवादीका नवराज ऐर र उपमेयरमा समाजवादीका माधव पन्तको उम्मेदवारी छ।

बेलडाँडी र लालझाडी गाउँपालिकामा सहमतिअनुसार नै अध्यक्ष र उपाध्यक्ष दुवै पदमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार चुनावी मैदानमा छन्। बेलडाँडीको अध्यक्षमा माओवादी केन्द्रका ईश्वरीदत्त भट्ट र उपाध्यक्षमा यसअघि हारेकी कल्पना गिरी उम्मेदवार छन्। 

यस्तै लालझाडीमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट अध्यक्ष र उपाध्यक्षमा यसअघि जितेका मदनसेन बडायक र सत्यदेवी महरालाई चुनावी मैदानमा उतारिएको छ।

कञ्चनपुरमा सत्ता साझेदार गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमाले एक्लाएक्लै चुनावी मैदानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .