ad ad

निर्वाचन विशेष


कञ्चनपुरका ९ स्थानीय तहको नालीबेली: कांग्रेस, एमाले र माओवादीका तीन दाउ

कञ्चनपुरका ९ स्थानीय तहको नालीबेली: कांग्रेस, एमाले र माओवादीका तीन दाउ

गोकुल जोशी
बैशाख १९, २०७९ सोमबार ११:३७, महेन्द्रनगर

पहिलो संविधानसभा निर्वाचनका बेला कञ्चनपुरमा माओवादी केन्द्र बलियो देखिएको थियो। त्यसबेलाका ४ निर्वाचन क्षेत्रमध्ये माओवादीले ३ वटामा जितेको थियो। अहिले यहाँको राजनीतिक गणित धेरै फेरिइसकेको छ।

निर्वाचन क्षेत्र ४ मा वर्तमान प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा विजयी भएका थिए । तर, डडेल्धुरा र कञ्चनपुर–४ बाट देउवा विजयी भएपछि  उनले कञ्चनपुरको क्षेत्र नं ४ छोडे । उपनिर्वाचनमा माओवादीले जितेर ‘किल्ला’ बनायो।

माओवादीले ०७० मा सम्पन्न दोस्रो संविधानसभा चुनावमा ०६४ को दबदबा कायम राख्न सकेन । कञ्चनपुरका ४ वटै निर्वाचन क्षेत्रमा विजयी हुँदै नेपाली कांग्रेसले आफ्नो पकड जोगायो।

वि.सं. २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस फेरि एमाले र माओवादी गठबन्धनसामु निरीह बन्यो । त्यसबेला कांग्रेसले कञ्चनपुरमा तीनवटै निर्वाचन क्षेत्र गुमायो । क्षेत्र नम्बर १ माओवादीले र बाँकी दुईवटा नेकपा एमालेले जित्यो। 

त्यसअघि, ०७४ को स्थानीय तह निर्वाचनमा कञ्चनपुरमा एमाले सबैभन्दा ठूलो दल बनेको थियो । ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा एमालेले ५ वटामा प्रमुख र ७ वटामा उपप्रमुख जितेको थियो । माओवादी केन्द्रले दुई स्थानीय तहमा प्रमुख र एक स्थानीय तहमा उपप्रमुख जितेको थियो । कांग्रेसले दुई स्थानीय तहमा प्रमुख र एक स्थानीय तहमा उपप्रमुख जितेको थियो ।

एमालेलाई चुनौती

यसपटकको स्थानीय तह निर्वाचनमा कञ्चनपुरमा नेकपा एमालेलाई आफ्नो विरासत कायम राख्न चुनौती छ । एमालेको फुट र सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी दलले चुनावी तालमेल गरेसँगै ०७४ सालमा दबदबा राखेको एमालेलाई विरासत जोगाउन सकस पर्ने देखिएको छ ।

एमालेबाट विजयी केही जनप्रतिनिधि माधवकुमार नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादीमा पनि लागेका छन् ।

कञ्चनपुरमा सत्तागठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस र नेकपा एमाले एक्ला एक्लै तथा माओवादी केन्द्र र एकीकृत समाजवादी बामगठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

कुल ९ स्थानीय तहमध्ये ५ स्थानीय तह प्रमुख र ७ स्थानीय तह उपप्रमुख जितेको एमालेलेलाई आफ्नो विरासत जोगाउने चुनौती छ । दुई स्थानीय तह प्रमुख र एक स्थानीय तह उपप्रमुख जितेको कांग्रेस यसपटक आफ्नो शक्ति बढाएर पुरानै विरासत फर्काउने दाउमा छ ।

कांग्रेससँग भागबन्डामा सहमति नजुटेपछि छुट्टै गठबन्धन बनाएको सत्तासाझेदार माओवादी केन्द्र ०७४ को शक्ति कायम राख्दै आफ्नो पुरानो दबदबा फर्काउने रणनीतिमा छ ।

पहिलोपटक निर्वाचनमा सहभागी हुन लागेको एकीकृत समाजवादी पनि माओवादी केन्द्रसँग गठबन्धन गरेर शक्ति सुरक्षित गर्ने रणनीतिमा छ ।

भीमदत्त नगर

सदरमुकामको भीमदत्त नगरपालिकाको मेयरमा नेपाली कांग्रेस कञ्चनपुरका  सभापति समेत रहेका पदम बोगटी र उपमेयरमा निलम लेखक (जोशी) उम्मदेवार छन् ।

यस्तै माओवादी केन्द्र र एकीकृत समाजवादीको बाम गठबन्धनबाट मेयरमा समाजवादीका राजेन्द्र पाण्डेय र उपमेयरमा माओवादीका कृष्णदत्त जोशी (बोक्सर) उम्मेदवार छन् ।

नेकपा एमालेले मेयरमा महेशप्रसाद पन्त र उपमेयरमा भुवन कुँवर (केसी) उम्मेदवार बनाउँदा राप्रपाले भने गजेन्द्रबहादुर चन्दलाई मेयर र हेलन सिंह श्रेष्ठलाई उपमेयरको मैदानमा उतारेको छ ।

अन्य राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी परे पनि ०७४ को मत परिणामलाई नियाल्दा भीमदत्तमा यी उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा भीमदत्तको प्रमुख नेकपा एमाले र उपप्रमुख नेपाली कांग्रेसले जितेको थियो । नगर प्रमुखमा कांग्रेसका पदम बोगटीलाई १६६ मतले पराजित गर्दै एमालेका सुरेन्द्र बिष्ट (११ हजार ८३१ मत) विजयी भएका थिए ।

यसपटक पनि कांग्रेसले उनै बोगटी मेयरमा उठाएको छ । उपमेयरमा कांग्रेसकी सुशीला चन्द सिंह १२ हजार ७७५ मत सहित विजयी भएकी थिइन् । एमालेकी उम्मेदवार माया पन्तले ११ हजार ८३६ मत प्राप्त गरेकी थिइन् ।

माओवादीका मेयर पदका उम्मेदवार गोपाल रसाइलीले ४ हजार ५७९ र उपमेयरका उम्मेदवार नारुदेवी सिंहले ४ हजार ८३१ मत प्राप्त गरेका थिए ।

यस्तै, भीमदत्त नगरपालिकामा राप्रपाका मेयर पदका उम्मेदवार गजेन्द्रबहादुर चन्दले ४ हजार ३२८ मत प्राप्त गरेका थिए । उपमेयरका उम्मेदवार खञ्जरादेवी कुँवरले २ हजार २७७ मत प्राप्त गरेकी थिइन् ।

१९ वडा रहेको नगरपालिकामा एमालेले १० (वडा नं. ६, ८, ९, १०, १४, १५, १६, १७, १८, १९ ) वटा वडा जितेको थियो । तीमध्ये एमाले विभाजन हुँदा दुई वडाध्यक्ष नेकपा एकीकृत समाजवादीमा लागेका छन् ।

भीमदत्त नगरपालिकामा कांग्रेसले ७ वटा वडा (१, ३, ४, ५, ११, १२, १३) मा प्रमुख जितेको थियो । यस्तै, माओवादी केन्द्रले वडा नम्बर २ र ७ मा जितेको थियो ।

दोधाराचाँदनी

महाकालीपारिको दोधाराचाँदनी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रमुख प्रतिस्पर्धा हुने देखिन्छ ।

यहाँ ०७४ सालको चुनावमा नेपाली कांग्रेसले प्रमुख र एमालेले उपप्रमुख जितेको थियो । कांग्रेसले यसपालि गोपालदत्त भट्टलाई मेयर र अघिल्लो पल्ट हारेकी गंगा जोशी उपमेयरमा उठाएको छ ।

नेकपा एमालेले मेयरमा अघिल्लोपटक हारेका किशोर कुमार लिम्बु र उपमेयरमा खेमा चन्दलाई अगाडि सारेको छ । यस्तै माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनमा मेयर भाग परेको एकीकृत समाजवादीले उम्मेदवार उठाएन ।

‘दोधाराचाँदनीमा हाम्रो उपस्थिति त्यति राम्रो थिएन, त्यसैले उम्मेदवार नउठाएको हो ।’ समाजवादीका एक नेताले भने ।

माओवादीले दोधाराचाँदनीको मेयरमा निरु कामी र उपमेयरमा भरत भट्टलाई उठाएको छ ।

०७४ सालको चुनावमा दोधाराचाँदनी नगरपालिकाको प्रमुख (मेयर) मा कांग्रेसका वीरबहादुर सुनार ५ हजार १३४ मत सहित विजयी भएका थिए ।

एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका किशोरकुमार लिम्बुले ४ हजार ४१६ मत प्राप्त गरेका थिए । माओवादीका मेयर पदका उम्मेदवार इन्द्रबहादुर रावतले १ हजार ११० र राप्रपाका नन्दा खत्रीले १ हजार ११० मत प्राप्त गरेका थिए ।

उपप्रमुखमा नेकपा एमालेकी चिनी गिरी ५ हजार २७१ मतसहित विजयी भएकी थिइन् । यस्तै कांग्रेसकी गंगा जोशीले ४ हजार ३७१, माओवादी केन्द्रकी धनसरा नाथले १ हजार २६६ र राप्रपाका नरबहादुर पाण्डेयले १ हजार १२१ मत ल्याएका थिए ।

१० वटा वडा रहेको महाकाली नगरपालिकामा ५ वडा कांग्रेसले जितेको थियो । यस्तै, नेकपा एमालेले ४ वडा र नेकपा माओवादी केन्द्रले एक वडा जितेको थियो ।

बेदकोट

बेदकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अघिल्लो पटक हारेका भोजराज बोहरा र उपमेयरमा तुलसीदेवी जोशीलाई अघि सारेको छ । यस्तै एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनबाट मेयरमा रामचन्द्र रेग्मी र उपमेयरमा हिरा जैसीको उम्मेदवारी छ ।

उता नेकपा एमालेले यसअघि उपमेयरमा विजयी सुशीला सिंहलाई मेयर र पार्वती भट्ट (जोशी) लाई उपमेयरका लागि चुनावी मैदानमा उतारेको छ ।

०७४ को चुनावमा बेदकोट नगरपालिकामा नेकपा एमालेले मेयर, उपमेयरसहित ८ वडा जितेको थियो । बेदकोटको मेयरमा एमालेका उम्मेदवार अशोककुमार चन्द ६ हजार ४३४ मतसहित विजयी भएका थिए ।

मेयर चन्दसहित केही वडाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बेदकोटको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार भोजराज बोहराले ६ हजार ७४ मतमा ल्याएका थिए ।

माओवादी केन्द्रका मिनराज गिरीले ३ हजार १८६ र राप्रपाका धिरेन्द्र बहादुर डगौँराले ८७८ मत ल्याएका थिए ।

उपमेयरमा एमालेकी सुशीला सिंह ६ हजार ८३५ मतसहित निर्वाचित भएकी थिइन् । उनकी प्रतिस्पर्धी कांग्रेसकी तुलसी देवी जोशी ५ हजार ५१५ मत ल्याएकी थिइन् ।

यस्तै माओवादीकी उपमेयरकी उम्मेदवार शान्ती कुमारी शाही ३ हजार ३९१ र राप्रपाकी रम्भादेवी साउँदले ७४४ मत ल्याएकी थिइन् । १० वडा रहेका बेदकोटमा माओवादी र कांग्रेसले एक÷एक वडा जितेका थिए ।

पुनर्वास

पुनर्वास नगरपालिकामा एमालेले प्रमुख, उपप्रमुखसहित ५ वडा जितेको थियो । एमालेबाट मेयरका उम्मेदवार बनेका जीवनराज थापा ६ हजार ४० मतसहित विजयी भएका थिए । अहिले थापा एकीकृत समाजवादीमा छन् ।

उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका वीरबहादुर थापाले ५ हजार ५१४ मत पाएका थिए । उनी अहिले नेकपा एमालेमा छन् । नेपाली कांग्रेसका मेयरका उम्मेदवार तोयप्रसाद शर्माले ५ हजार ५१२ मत पाएका थिए ।

नेकपा एमालेकै शारदा शर्मा (विष्ट) ६ हजार ३६६ मतसहित उपप्रमुखमा विजयी भएकी थिइन् । उनकी प्रतिस्पर्धी कांग्रेसकी भुलिया कुमारी रानाले ५ हजार ३९१ मत प्राप्त गरेकी थिइन् ।

त्यस्तै, उपमेयरमा नेकपा माओवादी केन्द्रका सीता विकले ६ हजार ३५६ मत ल्याएकी थिइन् । ११ वडा रहेको पुनर्वासमा एमालेले ५, माओवादी केन्द्र ४ र नेपाली कांग्रेस २ वडामा विजयी भएका थिए ।

बाम गठबन्धनबाट मेयरमा जीवनराज थापा नै दोहरिन चाहेका छन् भने उपमेयरमा धोके रानालाई अगाडि सारिएको छ । यस्तै नेपाली कांग्रेंसले अघिल्लो पल्ट हारेका तोयप्रसाद शर्मालाई मेयर र भुलिया रानालाई फेरि उपमेयरका लागि मैदानमा उतारेको छ ।

नेकपा एमालेले मेयरमा पदम पुजारा र उपमेयरमा शुसिला खत्रीलाई उम्मेदवार बनाएको छ ।

शुक्लाफाँटा

शुक्लाफाँटा नगरपालिकामा नेपाली कांग्रेसले मेयर र नेकपा एमालेले उपमेयर जितेको स्थानीय तह हो । यहाँ मेयरमा नेपाली कांग्रेसका दिलबहादुर ऐरी ६ हजार ४३२ मतसहित विजयी भएका थिए ।

मेयरका प्रतिस्पर्धी एमालेका रणबहादुर महराले ५ हजार ४२९ र माओवादी केन्द्रका लोकबहादुर ऐरीले ३ हजार ९६९ मत ल्याएका थिए ।

उपमेयरमा एमालेकी तुलसी देवी हमाल ५ हजार २९३ मतसहित निर्वाचित भएका थिए । कांग्रेसकी धर्मा विष्टले उपमेयरमा ५ हजार २१० र माओवादीकी कमलादेपी ऐरीले ४ हजार १७२ मत ल्याएकी थिइन् ।

१२ वडा रहेको शुक्लाफाँटामा एमालेले ५, माओवादी केन्द्रले ४ र नेपाली कांग्रेसले ३ वडा जितेका थिए ।

नेपाली कांग्रेसले यसपटक चिन्तामणि भट्टलाई मेयर र कल्पना पन्तलाई उपमेयरमा अगाडि सार्दा नेकपा एमालेले पुरानै प्रतिस्पर्धी रणबहादुर महरालाई मेयरमा र मोनिका भट्टलाई उपमेयरमा उठाएको छ ।

यस्तै माओवादी केन्द्र र एकीकृत समाजवादीको बामगठबन्धनले मेयरमा नवराज ऐर र उपमेयरमा माधव पन्तको उम्मेदवारी छ ।

कृष्णपुर

मेयर र उपमेयर एमालेले जितेको कृष्णपुर नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन कार्यान्वयन हुन सकेको छैन । यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी र एकीकृत समाजवादी एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन् ।

कृष्णपुर नगरपालिकाको मेयरमा एमालेका कर्णबहादुर हमाल ६ हजार ७०६ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका हेमराज ओझा ५ हजार ७६०, माओवादीका जोगराज चौधरीले ५ हजार ७५४ र राप्रपाका सुरेन्द्र बहादुर बमले ८१६ मत ल्याएका थिए ।

त्यस पछि बम नेकपा एमालेसँग नजिक भए । अहिले उनी नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीमा आवद्ध छन् ।

सत्तासाझेदार दल माओवादी र एकीकृत समाजवादी पार्टीको गठबन्धनमा भएको भागबन्डामा सहमति कार्यान्वयन हुन सकेको छैन ।

नेकपा माओवादी केन्द्र कृष्णपुर नगर कमिटी सचिव जगदीश मल्लका अनुसार माओवादी र समाजवादीले नगरको प्रमुख उपप्रमुख पदमा छुट्टा छुट्टै उम्मेदवारी दिएर प्रचारप्रसारमा सक्रिय भएका छन् ।

कृष्णपुरमा नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरमा यसअघि हारेका जोगराज चौधरी र उपमेयरमा गीता मल्ल चुनावी मैदानमा छन् । समाजवादीबाट मेयरका उम्मेदवार यसअघि हारेका सुरेन्द्र बम र उपमेयरमा मञ्जु नेपाली छन् ।

उता सत्तागठबन्धनबाट बाहिरिएर एक्लै चुनावी मैदानमा उत्रिएको कांग्रेसबाट मेयरमा अघिल्लो पल्ट हारेका हेमराज ओझा र उपमेयरमा द्रोपती रानालाई अगाडि सारिएको छ । नेकपा एमालेले मेयरमा लोकेन्द्र प्रसाद पन्त र उपमेयरमा ०७४ सालमा विजयी रमिता रानालाई उम्मेदवार उठाएको छ ।

यहाँ ०७४ को चुनावमा एमालेकी उपमेयरकी उम्मेदवार राना ७ हजार १८ मत ल्याएर विजयी भएकी थिइन् । उनकी निकटतम् प्रतिस्पर्धी कांग्रेसकी भुवनेश्वरी जोशीले ५ हजार ९२८ मत पाएकी थिइन् । माओवादी केन्द्रकी सर्मिला बिष्टले ५ हजार ४०३ र राप्रपाकी उषादेवी थापाले १ हजार ३ मत ल्याएकी थिइन् ।

९ वटा वडा रहेको कृष्णपुरमा एमाले, कांग्रेस र माओवादीले ३÷३ वडा जितेको थिए ।

बेलौरी

बेलौरी नगरपालिका माओवादी केन्द्रले प्रमुख जितेको स्थानीय तह हो । माओवादी केन्द्रका पोतिलाल चौधरी ६ हजार ७६४ मत सहित मेयरमा विजयी भएका थिए ।

उनका प्रतिस्पर्धी एमालेका पल्लवराज भट्टले ६ हजार ४०७ र नेपाली कांग्रेसका हरेन्द्र सिंह बिष्टले ५ हजार ४१२  मत ल्याएका थिए । उपमेयरमा एमालेकी चित्र कुमारी चौधरी ६ हजार ७ सय ४८ मतसहित निर्वाचित भएकी थिइन् । उनकी प्रतिस्पर्धी माओवादी केन्द्रकी राधा देवी खरेल (कँडेल) ६ हजार १२१ र कांग्रेसकी खिना भण्डारीले ५ हजार ६२७ मत ल्याएकी थिइन् । १० वडा रहेको बेलौरीमा माओवादी र एमालेले ४÷४ वडा र नेपाली कांग्रेसले २ वडामा जित निकालेका थिए ।

बेलौरीमा पनि माओवादी र एकीकृत समाजवादीको गठबन्धन कार्यान्वयन हुन सकेको छैन । दुवै पार्टीले छुट्टा छुट्टै उम्मेदवारी दर्ता गराएका छन् । माओवादीले अघिल्लो पल्ट जितेका पोतिलाल चौधरी र उपमेयरमा मञ्जु शाहलाई अगाडि सारेको छ । एकीकृत समाजवादीले बेलौरीको उपमेयर नन्दकुमार रानालाई उम्मेदवार बनाएको छ ।

‘मेयर माओवादी र उपमेयर हाम्रो भागमा परेको थियो, माओवादीका साथीहरुले सहमति विपरीत उपमेयरमा पनि उम्मेदवारी दिएकाले सहमति कार्यान्वयन हुन सकेन,’ एकीकृत समाजवादीका एक नेताले भने, ‘हामीले भागमा आफ्नो परेको उपमेयरमा मात्रै उम्मेदवारी दिएका थियौँ ।’

कांग्रेसले ०७४ मा हारेका हरेन्द्र सिंह बिष्टलाई मेयर र खिना भण्डारीलाई उपमेयरमा प्रतिस्पर्धामा उतारेको छ । यस्तै नेकपा एमालेले भने मेयरमा कमला बोहरा र उपमेयरमा जोगुराम चौधरीलाई उम्मेदवार बनाएको छ ।

बेलडाँडी

बेलडाँडी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै नेकपा एमालेले जितेको थियो । एमालेका धनबहादुर क्षेत्री अध्यक्षमा ३ हजार २१५ मत र उपाध्यक्षमा कमलादेवी कार्की ३ हजार १३७ मत सहित निर्वाचित भएका थिए ।

कांग्रेसका चन्द्रबहादुर सिंहले अध्यक्षमा २ हजार ५९६ मत र उपाध्यक्षमा किसना देवी गिरीले २ हजार २७५ मत ल्याएकी थिइन् । अध्यक्षमा माओवादी केन्द्रका नन्दकिशोर सार्कीले ८३३ तथा उपाध्यक्षमा कल्पना गिरीले १ हजार १२४ मत ल्याएकी थिइन् ।

५ वटा वडा रहेको बेलडाँडीमा एमालेले ४ र कांग्रेसले एक वडामा नेतृत्व जितेका थिए ।

यसपटक नेकपा एमालेले बेलडाँडीको अध्यक्षमा अक्कलबहादुर बिष्ट, उपाध्यक्षमा फुलकुमारी राना, नेपाली कांग्रेसले अध्यक्षमा हरिषचन्द्र. राना र उपाध्यक्षमा शान्ती नाथ चुनावी मैदानमा छन् । यस्तै, माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट अध्यक्षमा ईश्वरीदत्त भट्ट र उपाध्यक्षमा यसअघि हारेकी कल्पना गिरी उम्मेदवार छन् ।

लालझाडी

लालझाडी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको अर्को स्थानीय तह हो । माओवादीका मदनसेन वडायक अध्यक्षमा २ हजार ८९६ मतसहित निर्वाचित भएका थिए । उनकी प्रतिस्पर्धी एमालेका निर्मला रानाले २ हजार ६२१ र कांग्रेसका धर्मसिंह बडायक २ हजार ८४ मत मत ल्याएका थिए ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सत्यदेवी महरा २ हजार ७५८ मत सहित निर्वाचित भएकी थिइन् । उनकी प्रतिस्पर्धी एमालेकी सुनिता देवी चौधरी २ हजार ४६९ र कांग्रेसकी राधा रानाले २ हजार १५२ मत ल्याएकी थिइन् ।

६ वडा रहेको लालझाडीमा माओवादी केन्द्र र कांग्रेसले ३÷३ वडा जितेको थिए । लालझाडीमा माओवादी र समाजवादीको गठबन्धनबाट अध्यक्ष र उपाध्यक्षमा यसअघि जितेका मदनसेन बडायक र सत्यदेवी महरालाई चुनावी मैदानमा उतारिएको छ ।

यस्तै नेकपा एमालेले लालझाडीको अध्यक्षमा अघिल्लो पल्ट हारेका निर्मल राना र उपाध्यक्षमा सपना चौधरी, कांग्रेसले अध्यक्षमा श्रीकृष्ण राना र  उपाध्यक्षमा राधा रानालाई उठाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .