ad ad

निर्वाचन विशेष


धनगढी उपमहानगरः प्रमुख प्रतिस्पर्धामा तीन उम्मेदवार

धनगढी उपमहानगरः प्रमुख प्रतिस्पर्धामा तीन उम्मेदवार

गोकुल जोशी
बैशाख १७, २०७९ शनिबार १२:०, काठमाडौँ

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको प्रमुख पदमा तीन स्वतन्त्रसहित १० जना र उपप्रमुखमा ७ जनाको उम्मेदवारी परेको छ।

प्रमुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, नेकपा (एमाले) बाट रणबहादुर चन्द, लोकतान्त्रिक समाजवादी पार्टीबाट वसन्तबहादुर विश्वकर्माको उम्मेदवारी परेको छ। 

त्यस्तै, सचेत नेपाली पार्टीबाट भारती थापा, नागरिक उन्मुक्ति पार्टीबाट निमकुमार चौधरी, जनता समाजवादी पार्टीबाट बविन्द्र ऐर, राष्ट्रिय जनमोर्चाबाट अञ्जना श्रेष्ठ तथा स्वतन्त्रबाट व्यवसायी गोपाल हमालको उम्मेदवारी परेको मुख्य निर्वाचन कार्यालय धनगढीले जनाएको छ।

यस्तै, उद्धवराज पन्त र मदनकृष्ण भट्ट (मुकुन्द) ले स्वतन्त्रबाट प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्। 

उपप्रमुखमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी नेता शान्ति अधिकारी, एमालेबाट कन्दकला राना, राप्रपाबाट दुर्गादत्त पन्त, नेपाल परिवार दलबाट विष्णुकुमारी विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीबाट सावित्रा चौधरी, विवेकशील साझा पार्टीबाट विमलाकुमारी पन्त र स्वतन्त्रमा नेपाली कांग्रेसका नेता प्रभाकर भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन्। 

पुरानै प्रतिस्पर्धी
संघीयता आएपछि दोस्रोपटक हुन लागेको स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरमा उम्मेदवारी धेरै परे पनि प्रमुखमा सत्तारुढ गठबन्धनका नृप वड र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। 

वि.सं. २०७४ सालमा झिनो मतान्तरले स्वतन्त्र उम्मेदवार हमाललाई हराउँदै कांग्रेसका वड प्रमुखमा विजयी भएका थिए। त्यसबेला कांग्रेसले उपप्रमुख सहित धनगढीका १९ वडामध्ये १२ वडा जितेको थियो।

एक कार्यकाल प्रमुख चलाएका वड पाँच वर्षमा गरेका काम जनतामा लगेर चुनावी मैदानमा उत्रिएका छन्। दोस्रो कार्यकाल पनि प्रमुखमा दोहरिन चाहेका वडलाई स्वतन्त्र उम्मेदवार हमाल चुनौती बन्ने देखिन्छ। 

अघिल्लो पटकको हारबाट पाठ सिक्दै यसपटक जित निकाल्ने रणनीतिका साथ हमाल चुनाव केन्द्रित कार्यक्रममा व्यस्त छन्।

फेरिएको समीकरण
यसपटक ०७४ सालको स्थानीय तहको निर्वाचनमा जस्तो राजनीतिक समीकरण भने छैन। अर्थात् बदलिएको छ। धनगढीमा सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन छ।

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार नै धनगढीमा कांग्रेसका तर्फबाट प्रमुख र माओवादी केन्द्रका तर्फबाट उपप्रमुखका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। गठबन्धन भएकाले गठबन्धनतर्फका उम्मेदवारले सहज जित हासिल गर्नेमा वड आशावादी छन्। 

‘प्रमुख उपप्रमुख मात्रै होइन हाम्रो वडामा पनि बहुमत आउँछ। वडा तहमा कांग्रेसको वर्चस्व छ। त्यसैले पनि हामीले नै महानगरको प्रमुखदेखि वडासम्म सबै स्थानीय तह जित्छौँ,’  प्रमुखका उम्मेदवार वडले भने, ‘अघिल्लो पल्ट हामीले १२ वडा जितेका थियौं। ५ वटा माओवादीले र २ वटा मात्रै एमालेले जितेको थियो। माओवादीले जितेका सबै, समाजवादी र हाम्रो आफ्नो गरेर यसपटक झन् ठूलो मतान्तर हुने पक्का छ।’

०७४ को चुनावमा कांग्रेसका उम्मेदवार वडलाई जित निकाल्न हम्मेहम्मे परेको थियो। प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हमालले कांग्रेसका वडलाई कडा टक्कर दिएका थिए। 

प्रमुखमा विजयी कांग्रेसका वडले १४ हजार ३ सय २४ मत ल्याएका थिए भने हमालले ११ हजार ५२७ मत पाएका थिए। हमालले नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत राजनीतिक दलबाट प्रमुखमा लडेका उम्मेदवारलाई उछिनेर लोकप्रिय मत पाएका थिए।

धनगढी उपमहानगरपालिकामा प्रमुख लडेका माओवादी केन्द्रका उम्मेदवार रामसमझ रानाले १० हजार २ सय ९ मत ल्याउँदा एमालेका उम्मेदवार दुर्गा जोशीले ९ हजार ९ सय ४६ मत ल्याएका थिए। 

यहाँ कांग्रेस, माओवादी केन्द्र र एमालेबाहेक अन्य दलको उपस्थिती भने कमजोर छ। नेकपा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी यसपालि पहिलोपटक चुनावमा सहभागी हुँदै छ।

आआफ्नै दाबी
यसपटक धनगढीमा सत्ता गठबन्धन, स्वतन्त्र उम्मेदवार हमाल र नेकपा एमालेका प्रमुखका उम्मेदवार रणबहादुर चन्दबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने विश्लेषण एकथरीको छ। यी तीनै पक्षले आफू जित्ने दाबी गरिरहेका छन्। 

‘राजनीतिमा स्वतन्त्र उम्मेदवार भएपछि भोट नै पाउँदैन भनेर मत खेर किन फाल्ने, जित्दैन भन्ने मानसिकता थियो। यसपालि धनगढीबासीले प्रतिस्पर्धा ककसका बीचमा हुन्छ भन्ने बुझेका छन्,’ प्रमुखका प्रतिस्पर्धी हमालले भने, ‘त्यसबेला पुग्न नसकेको ठाउँमा पनि यसपालि पुगेको छु। सकारात्मक सुझाव पाएकाले जित्ने विश्वास  छ।’

अघिल्लो पटक बदर मत र उपमहानगरपालिका बनाउँदा थपिएका उर्मा, फूलबारी र बेली गाउँपालिकाबाट मत नआएकाले हारेको उनी बताउँछन्।

उता अघिल्लो चुनावमा धनगढीमा तेस्रो शक्ति रहेको एमाले अहिले पहिलो बन्ने लक्ष्यसहित चुनावमा होमिएकाले यसपटक आफूहरु जित्ने प्रमुख पदका उम्मेदवार रणबहादुर चन्दको दाबी छ।

‘गठबन्धन निहित स्वार्थका लागि बनेका कारणले जनताको काम गर्न सकेको छैन, त्यसैले यसपटक हामीले जित्छौँ। गठबन्धनमा असन्तुष्टि छ। एकजुट छैन,’ उनले भने, ‘कांग्रेसले जनतामाझ गरेका बाचा पुरा गरेको छैन। कांग्रेस फेल भइसकेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .